
चन्द्रमणि गाैतम
डाग ह्यामरस्क्योल्ड (१९०५–१९६१) राष्ट्रसंघका द्वितीय महासचिव, स्वेडेनी अर्थशास्त्री तथा कुटनीतिज्ञ थिए । उनी राष्ट्रसंघको महासचिव हुने सबभन्दा कान्छो उमेरका (पद बहाली लिँदा ४७ वर्ष) थिए । उनको एक कार्यकाल पूरा भएर अर्को कार्यकाल पूरा नहुँदै (मार्च १९५३–१९६१) अफ्रिकी मुलुक कंगोको संकट (द्वन्द्व) मा राष्ट्रसंघको तर्फबाट युद्धविराम गराउने प्रयासका लागि जाँदा आजको जाम्बियामा हवाई दुर्घटनामा परेर ५६ वर्षको उमेरमा १५ जना यात्रुसहित परलोक भए ।
कतिपय प्रमाणबाट पत्ता लागेको छ, उनी चढेको प्लेन गोला हानेर खसालिएको थियो । कसैले भन्छन्, उहाँ चढेको विमानमा शोम्भेका भाडाका विमानहरूले बम वर्षाएका थिए । अमेरिकी गुप्तचर सीआईएले उनको हत्या गर्ने साजिश रचेको भन्ने आधारहरू छन् । उनी कंगोको स्वतन्त्रताका पक्षपाती पनि थिए, जसलाई त्यहाँका अनेकौँ विद्रोहीलाई रुचिकर थिएन।
उनको निधनले राष्ट्र संघको महासचिवको उत्तराधिकारी छान्ने संकट निस्कियो । उत्तराधिकारी छान्नुपर्ने कुरामा राष्ट्र संघको ध्यान पुग्न सकेको देखिएन । महासचिवको अधुरो कार्यकालमा उत्तराधिकारी निर्वाचित गर्ने राष्ट्र संघको नियममा थिएन ।
वर्षौ बितिसके पनि राष्ट्र संघ महासचिवको हवाई दुर्घटनामा मृत्युको अनुसन्धान छाडिएको छैन । २०१५ मा तत्कालीन महासचिव बान की मुनले विज्ञहरूको एक स्वतन्त्र अनुसन्धान समुह बनाए । वि.स. २०१८ साल असोज ३ गते भएको यो घटनाको छानबीनका लागि राष्ट्रसंघको आयोगमा एशियाबाट नेपालका तत्कालिन राष्ट्रसंघ प्रतिनिधि हृषिकेश शाह सदस्य चयन भएका थिए ।
उनी मरणोपरान्त नोबेल पुरस्कार पाउने ४ जनामध्ये एक थिए । उनलाई आजसम्मका सर्बाधिक प्रभावशाली र सफल महासचिवका रुपमा मानिन्छ । उनको निधनको सन्दर्भमा तत्कालीन अमेरिकी राष्ट्रपति जोहन एफ. केनेडीले भनेका थिए :
“उनको दाँजोमा म त एकदमै सानो मान्छे देखिन्छु । उनी हाम्रो शताब्दीका सबभन्दा महान राजनेता थिए ।” उनले १९५९ मा लेखेको इच्छापत्रमा आफ्नो सम्पूर्ण सम्पत्ती स्वेडेनको राष्ट्रिय पुस्तकालयलाई दिनु भन्ने थियो। उनको इच्छापत्र कार्यान्वयन भयो ।
साभार - चन्द्रमणि गाैतमजीकाे मुहारपुस्तिका