
-इन्द्रनारायण सबेदी
लेखी स्वयं मेट्छ विधानमारा
आफूखुसी गर्न दफा र धारा।१।
निल्थ्यो मिले औसर सम्विधान
पर्खी तिखार्दै छ कठोर दाह्रा।२।
छन् दासझैँ मालिकका गुलाम
ज्यूँदै मरे तुल्य र कर्महारा।३।
यै हो प्रजातन्त्र कि लोकतन्त्र
अर्कै छ बोक्ने र दिने सहारा।४।
के नापियो खै गणतन्त्रबाट
झारिन्छ भन्थ्यौ तल जून तारा।५।
खै जन्मिएको पुरुषार्थ यौटा
यो देशको तिर्न भनेर भारा।६।