आइतबार, आश्विन १८ गते २०८३

बैज्ञानिक क्लाउडिया बनिन् मेक्सिकाेकाे पहिलाे महिला राष्ट्रपति

जेठ २१, २०८१ सोमबार
बैज्ञानिक क्लाउडिया बनिन् मेक्सिकाेकाे पहिलाे महिला राष्ट्रपति

काठमाडौं । मेक्सिकोमा भएकाे निर्बाचनमा बिजय हासिल गरेर एक उर्जा वैज्ञानिक पहिलो महिला राष्ट्रपति बनेकी छन् । राष्ट्रपतिको दौडको अग्रपंक्तिमा रहेकी क्लाउडिया शेनबाउम ऐतिहासिक जित हासिल गर्दै मेक्सिकोको पहिलो महिला राष्ट्रपति बन्न सफल भएकी हुन् ।  

उनी मेक्सिको सिटीकी ६१ वर्षीय पूर्व मेयर हुन् । उनले हिजाे आइतवारको चुनावमा ५८ देखि ६० प्रतिशत मत हासिल गर्दै र आफ्नो मुख्य प्रतिद्वन्द्वी, व्यवसायी महिला छोचिल्ज गाल्भेजलाई पछि पार्दै मेक्सिकोको नयाँ राष्ट्रपति निर्वाचित भएकी छन् ।  

यद्यपि शेनबाउमको मोरेना पार्टीले पहिले नै विजय भईसकेको दाबी गरिसकेको छ । तर गाल्भेजले आफ्ना समर्थकहरूलाई आधिकारिक नतिजाहरू पर्खन आग्रह गरेकी छन् ।  

याे चुनावमा मतदाताहरु, मेक्सिकोको कांग्रेसका सबै सदस्यहरू र आठ राज्यका गभर्नरहरू, साथै मेक्सिको सिटीको सरकारको प्रमुख पनि चुनावी अभियानका बेलामा हिंस्रक हमलाहरूबाट प्रभावित भएका थिए।

निर्वाचनका क्रममा सरकारले मेक्सिकोमा २० भन्दा बढी स्थानीय उम्मेदवारको हत्या भएको जनाएको छ भने नीजि सर्वेक्षणहरूले कुल ३७ जनाको मत्यु भएको दाबी गरिरहेका छन्।

पूर्व उर्जा वैज्ञानिक क्लाउडिया शेनबाउमले  सन् २०१८ देखि २०२३ सम्म मेक्सिको सिटीको मेयरको रुपमा काम गरेकी थिइन् । उनी वर्तमान राष्ट्रपतिको राजनीतिक समर्थक हुन् । उनले जितपछि प्रतिक्रिया जनाउँदै मतदाताहरुको मत खेर जान नदिने बताएकी छन् ।