शुक्रबार, कार्तिक ७ गते २०८३

श्रमिक होइन त्यो बुझ ईश्वर ।


बैशाख १९, २०८१ बुधबार
श्रमिक होइन त्यो बुझ ईश्वर ।


           ( द्रुतविलम्बित)
---------------------------------------------------------
मुलुकमा व्यवसाय चलाउन 
जमिनभित्र अनाज फलाउन
जब दिमाग र हात चलाउँछन् 
कठिन विघ्न समस्त गलाउँछन् ।१।

अफिसभित्र कतै कि त खेतमा 
श्रमिक हुन्छ जहाँ मिहिनेतमा
अथक त्यो श्रमको पसिनाभरि
फसल लाग्छ अमोल सुनैसरि ।२।

खनिज तेल झिकी तह लाउन
अकल रेल जहाज चलाउन 
अडिग भै जब साहस गर्दछन् 
अचलमा पनि जीवन भर्दछन् ।३।

भवन बन्छ कहाँ र विनाश्रम
न त सकिन्छ चलाउन उद्यम

 
श्रमिक हातविना र कलाविना
मधुर गीत सुनिन्न गलाविना ।४।

युग परिष्कृत छन् इतिहासमा 
श्रमिकको पसिना छ विकासमा

श्रम कला जब हुन्छ सुपूजित

मुलुक सभ्य गनिन्छ सुनिश्चित ।५।

जब मनुष्य रहन्छ विनागति
तब हुँदैन कुनै पनि उन्नति 
कर दिमाग र पाउ चलू्न् सब
सफल पार्न सधैँ श्रम उत्सव ।६।

हृदयबाट झिकी भ्रमको कस
अटुट झार्दछ जो श्रमको रस
रहिरहन्छ पवित्र निरन्तर 
श्रमिक होइन त्यो बुझ ईश्वर ।७।
-------------------------------------------------------------
       श्रमिक दिवस  २०८१ वैशाख १९ इलाम