
मधु श्रेष्ठ
विदेशी भूमिको जाँतोमा
पसिनाको घान लगाएर
नेपालमा रेमिटान्सको ओइरो
त्यही रेमिट्यान्सले किनेको
चिल्ला सरकारी गाडीहरुको
सडकमा लर्काे
गाडी भित्र सवार
नयाँ नेपालका निर्माता ।
देख्दैनन् कोही
दैनिकी विमान स्थलको
राता बाकसको आगमन
त्यसभित्रका निर्जीव युवा र खरानी ।
पटक पटक लेखिए संंविधान
जारि गरिन्छ संविधान दिवस भनेर
सम्मानित हुन्छन् ब्वाँसा र स्यालहरु
पीडितहरुको मुटुमा रोपिएको संगिन बनेर ।
आखिर कहिलेसम्म ?
थुप्रि रहछन् फोहोरका डुङ्गुरहरु
समाजमा दुर्गन्ध फैलाएर
निमोठी रहन्छन् तिनले
हरियाली छर्न आतुर
अंकुराएका पालुवाहरु ।