त्यतिबेला भारतीय कम्युनिष्ट पार्टीको अधिबेशन चल्दै थियो । कलकत्ता डलहुजीको बिशाल परेड मैदानमा चारैतिरबाट लालझण्डा बोकेको मानब महासागर नै उर्लिएको थियो । हामीलाई त्यो भिड छिचोलेर मञ्चमा पुग्न धेरै कठिन थियो । स्वयं सेवकहरुले सहयोग गरेर मञ्चमा पुग्न मद्दत गरेर सहज बनाइदिए । अधिबेशन उद्घाटनको कार्यक्रम शुरु भयो । सहाना प्रधानलाई पनि शुभकामना राख्न समय दिएको थियो । उहाले छोटो एक पेजको शभ कामना मन्तब्य लेखेर लग्नु भएको थियो । त्यो बिशाल समारोहमा जानु अघि त्यस दिनै बिहान कलकत्ता बालीगञ्जमा भारतीय कम्युनिष्ट पाटीका पुराना चर्चित नेता तथा ‘साम्राज्यबादका उदय और अस्त’का लेखक अयोध्या सिंह (भाइसाहेब)को निबास बालीगञ्जमा हामी पुगेका थियौं । उहाले त्यतिबेला ‘देखो सहाना कमरेड जनतन्त्रकी लडाई बहुत कठिन लडाई होती है, धैर्य, राजनीतिक बिबेक और सहासके साथ इस आन्दोलनी भट्टीमें अपने आपको होमना होता है’ भनेर ऊर्जा र उत्साह काे पनि जगाइदिनु भएको थियो । डलहुजी परेड मैदानमा सहानले शुभ कामना दिइ सके पछि भीडले कमरेड सहान लाल सलामा नेपाल—भारत जन मैत्री अमर रहें भनेर नरा लगाउँदा सहाना कमरेडको मन पुलकित भएको भाव अनुहारमा झल्किन्थ्यो । त्यत्रो ठूला मानब महासागरका बीच सहान प्रधानले पहिलो र शायद अन्तिम पटक बोल्ने मञ्च पाएको होला भन्ने मलाई लाग्दछ ।
मञ्चमा प्रमुख भारतीय कम्युनिष्ट पार्टी(मार्क्सबादी)का महासचिव क्रान्तिकारी बिद्वान लेखक ईएमएस नम्बुदिरीपाद, हरकिसन सिंह सुरजीत, ज्योतिबसु, आनन्द पाठक, दाबा लामा लगायत बिदेशी कम्युनिष्ट पार्टीहरुका अतिथि बक्ताहरु धेरैले बोलेका थिए । त्यस दिन बेलुकको खाना संयोगबस ईएमएस नम्बुदिरीपादसँगै एउटैे टेबुलमा बसेर खाने संयोग मिल्यो । अत्यन्तै समर्पित क्रान्तिकारी नेता ईएमसको सादा र सरल जीवन थियो । उहाँले नेपालको राजनीतिक स्थितिबारेका संक्षिप्त कुराकानी गर्नु भयो । सहानाले पनि संयुक्त जन आन्दोलनको स्थिति बिकसित हुँदै गएको र स्थिति आशाप्रद दिशातर्फ अगाडि बढ्रदै गएको बताउनु भयो । यो १९८४।८५ तिरको कुरा थियो ।
नभन्दै १९९० मा नेपालमा संयुक्त आन्दोलन सफल भयो र २०४६ सालको परिबर्तन आयो । त्यस परिबर्तनपछि नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता तथा मार्गदर्शक कमरेड पुष्पलालको १२औ स्मृतिको अवसरमा भारतीय कम्युनिष्ट क्रान्तिकारीहरु पनि निम्त्याइएका थिए । त्यसमा ज्योतिबसु, अयोध्या सिंह,, चन्द्रबली सिंह, चतुरानन मिश्र र सीतारा येचुरीहरु आएर कमरेड पुष्पललाको संयुक्त जन आन्दोलनको नीति र नेपालको परिबर्तनका बारेमा महत्वपूर्ण राजनैतिक तथा सैद्धान्तिक बिचारहरु राखेका थिए । २०३५ सालदेखि २०४६ सालको बीचमा सहान प्रधानको राजनीतिक ब्यक्तित्व यसरी बिकास हुँदै आएको थियो । यद्यपि नेपालमा प्रतिबन्ध भए पछि नेपाल कम्युनिष्ट पार्टीको कुनै औपचारिक सम्वन्ध त्यतिबेलासम्म भारतीय कम्युनिष्ट पार्टीहरुसँग थिएन । त्यो २०४६ सालको परिबर्तन पछि त्यो बिकसित भएको थियो । बर्ग संघर्षकाे कुरा तिलाञ्जली दिएर एमालेकाे बहुदलीय जनबादी बाटाे लागे पछि भने सहानाकाे राजनीतिक ब्यक्तित्व उर्ध्वगामी हुन सकेन ।