शनिबार, आश्विन १७ गते २०८३

नेपालले आणविक अस्त्र निषेध सन्धि अनुमोदन नगरेकोमा शान्तिवादीहरुद्वारा रोष व्यक्त

आश्विन ५, २०७८ मंगलबार
नेपालले आणविक अस्त्र निषेध सन्धि अनुमोदन नगरेकोमा शान्तिवादीहरुद्वारा रोष व्यक्त


आणविक अस्त्रको विकास, परिक्षण, उत्पादन/निर्माण, भण्डारण आदीलाई निषेध गरेको आणविक हतियार निषेध सन्धिलाई नेपालले २० सेप्टेम्बर २०१७ मै हस्ताक्षर गरेपनि अझैसम्म अनुमोदन नगरेकोमा शान्तिवादीहरुले रोष व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय शान्ति दिवस २१ सेप्टेम्बरका अवसरमा मानव अधिकार तथा शान्ति समाजद्वारा आणविक अस्त्ररहित विश्वका लागि आणविक अस्त्र निषेध सन्धि शिघ्र अनुमोदनको मागसहित काठमाण्डौको माइतिघर मण्डलामा २०७८ असोज ५ गते मंगलबार प्रदर्शन गरिएको थियो ।  प्रदर्शनमा शान्तिवादीहरुले यो सन्धि अनुमोदनमा नेपाल सरकारले देखाएको अनिच्छा आश्चार्यजनक एवं दुर्भाग्यपूर्ण भएको वताएका थिए । प्रदर्शनमा विश्व शान्ति र मानव सभ्यताका लागि आणविक अस्त्र सबैभन्दा ठुलो खतरा भएको भन्दै आणविक अस्त्रधारी राष्ट्रहरु अमेरिका, रुस, चीन, ब्रिटेन, फ्रान्स, भारत, पाकिस्तान, इजरायल र उत्तर कोरियालाई आणविक अस्त्र निषेध सन्धि तत्काल अनुमोदन गर्न आग्रह गरिएको थियो ।
प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सल्लाहकारद्वय होमकान्त चौलागाई र उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, केन्द्रीय सचिवद्वय नम्रता खरेल र रामप्रसाद जोशी, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्यहरु चन्द्रमणी बञ्जारा, किरण ढकाल, दुर्गा राना, उमा गौतम, पूर्व सचिव बलबहादुर गाहा मगरसहित दर्जनौ शान्तिवादीहरुको सहभागिता थियो ।

peace day pic 1.jpg
यसैगरी शान्ति दिवसको अवसरमा असोज ५ गते आणविक अस्त्र निषेध सन्धि अनुमोदनको माग गर्दै शान्ति समाजका चितवन, रुपन्देही, नवलपुर, महोत्तरी, बाँके, तेह्रथुम, अर्घाखाँची लगायत दर्जन बढी शाखाहरुले प्रदर्शन गरेका छन् ।
गत वर्ष अन्तराष्ट्रिय मानव अधिकार दिवसका दिन २०७७ मंसिर २५ गते आणविक अस्त्र निषेध सन्धि अनुमोदनको मागसहित शान्ति समाजले काठमाण्डौ÷ललितपुरस्थित अमेरिका, रुस, चिन, ब्रिटेन, फ्रान्स, भारत, पाकिस्तान, इजरायल र उत्तर कोरियाका राजदुतावास अगाडि एकसाथ प्रदर्शन गरेको थियो भने सोही दिन शान्ति समाजले ३२ जिल्लामा प्रदर्शन गरेको थियो । यसैगरी नेपालले यो सन्धिलाई शिघ्र अनुमोदन गर्न शान्ति समाजको प्रतिनिधिमण्डलले गत भदौमा प्रधानमन्त्री शेरबहादुर देउवा र ३ जना मन्त्रिहरु, सभामुख, राष्ट्रिय सभा अध्यक्षको ध्यानाकर्षण गराउँदै छलफल गरेको थियो ।
सन् १९८१ मा संयुक्त राष्ट्रसंघ महासभा शुरु भएको दिन पारेर राष्ट्रसंघद्वारा प्रस्ताव पारित गरी राष्ट्रसंघ महासभा शुरु हुने सेप्टेम्बर महिनाको तेस्रो मंगलबारका दिन शान्ति दिवस मनाउने निर्णय अनुरुप सन् १९८२ को सेप्टेम्बरमा पहिलो शान्ति दिवस मनाइएको थियो । सन् २००२ मा भएको संयुक्त राष्ट्रसंघ महासभाले सेप्टेम्बर २१ लाई स्थाइ रुपमा अन्तर्राष्ट्रिय शान्ति दिवस घोषणा गरेको कुरा मानब अधिकार तथा शान्ति समाजका तर्फबाट कार्यक्रम अधिकृत सरिता पाैडेलले जनाएकी छन्  ।