शनिबार, आश्विन १७ गते २०८३

  दृढ निश्चयले हुन सक्छ जय

आश्विन ५, २०७८ मंगलबार
  दृढ निश्चयले हुन सक्छ जय

dridhanischaya.jpg
-इन्द्रनारायण सुबेदी
    (छन्द - तोटक)


सब कायरता मनबाट झिकी
पहरासँग जुध्न डटेर टिकी
हुनु पर्दछ सक्षम जित्न भय
दृढ निश्चयले हुन सक्छ जय।१।
अभियान छिचोल्न हजार थरी
बल बुद्धि विवेक प्रयोग गरी 
अभिलक्ष्य समर्पित हुन्छ तय
दृढ निश्चयले हुन सक्छ जय।२।
पथका सब कण्टक फाल्न पनि
अघि बढ्न र पाउ उचाल्न पनि 
अनिवार्य छ हिम्मतको उदय
दृढ निश्चयले हुन सक्छ जय।३।
नपसी जलभित्र तरिन्न नदी
हुन सक्दछ जोखिम त्योअवधि 
छ अठोट भने रहँदैन भय
दृढ निश्चयले हुन सक्छ जय।४।
शुभ कर्म विशेष प्रवीण हुन 
गिरिराज चढेर अकास छुन
बलियो छ सँगै रहने समय
दृढ निश्चयले हुन सक्छ जय।५।                          
पुरुषार्थ हुँदैन अचेष्ट बसी
कटिबद्ध बनेर घुँडा नधसी
हुनु पर्दछ जीवन कर्ममय
दृढ निश्चयले हुन सक्छ जय।६।
नहिँडेपछि पुग्न सकिन्न कतै
हुनुपर्छ प्रयत्न ठुलो बहुतै
पथबाट उखेल्न सबै अनय
दृढ निश्चयले हुन सक्छ जय।७।                                
छ विचित्र भयङ्कर शक्ति ठुलो 
सब बन्धन पार्न छिटै खुकुलो
जब उठ्छ मनुष्य बनी अभय
दृढ निश्चयले हुन सक्छ जय।८।
मिहिनेतसँगै छ उपाय पनि
जति साधक खट्दछ लीन बनी
उति मिल्छ सबै सुर ताल लय
दृढ निश्चयले हुन सक्छ जय।९।
हर सम्भव साधन सृष्टि गरौँ
रणमा पनि अर्जुन दृष्टि गरौँ
अपराजित हुन्न कुनै प्रलय
दृढ निश्चयले हुन सक्छ जय।१०।
=====================
 समस्या साभर:-प्रतिभा निकुञ्ज