आइतबार, आश्विन १८ गते २०८३

इण्डाेनेशियमा अपाओद्वारा नेपाल नेत्रज्योति संघका महासचिव चन्द सम्मानित


फाल्गुण १२, २०८० शनिबार
इण्डाेनेशियमा अपाओद्वारा नेपाल नेत्रज्योति संघका महासचिव चन्द सम्मानित
नेपाल नेत्रज्योति संघका महासचिव चन्दलाई अन्तराष्ट्रिय अवार्ड
 
नेपाल नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्दलाई एशिया–प्यासिफिक एकेडेमी अफ अफ्थाल्मोलोजीले यस बर्ष Outstanding Service in Prevention of Blindness Awards बाट सम्मानित गरेको छ ।
 
फेब्रुअरी २२ देखि २५ सम्म इन्डोनेशियाको बालीमा जारी आँखा रोग विशेषज्ञहरुको वार्षिक सम्मेलन कार्यक्रममा चन्दलाई सम्मानित गरिएको हो । नेपालमा अन्धोपन निवारणमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै अपाओले चन्दलाई सम्मान गरेको हो ।
 
यो अवार्ड बार्षिक रुपमा एसिया–प्रशान्त क्षेत्रमा अन्धोपन रोक्न महत्वपूर्ण योगदान गर्ने व्यक्तिहरुलाई प्रदान गर्ने गरिन्छ । नेपालमा आँखा उपचार सेवाको विस्तार र अन्धोपन निवारणमा लामो समयदेखि सक्रिय रहनुभएका चन्दले संघको गुल्मी शाखाको सभापति रहँदा गुल्मी जिल्लालाई मोतिबिन्दु रहित जिल्ला घोषणा गराउने अभियानको सुरुवात गर्नुभएको थियो । संघको सचिव तथा महासचिव पदमा रहि नेपालमा आँखा स्वास्थ्य सेवाको विस्तार र अन्धोपन निवारणमा महत्वपुर्ण भुमिका निर्वाह गर्नुभएको छ ।
1.jpg
 
सन् १९६० मा स्थापना भएदेखि एसिया–प्यासिफिक एकेडेमी अफ अफ्थाल्मोलोजी (APAO) ले अन्धोपन कम गर्नको लागि यस क्षेत्रमा शिक्षा, आँखा सेवा र अनुसन्धानमार्फत नेतृत्व गर्दै आएको छ । अन्धोपन विरुद्ध लड्न एसिया–प्रशान्त क्षेत्रका आँखा विशेषज्ञ तथा आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने संगठनहरूबीच घनिष्ट सम्बन्ध विकास गर्ने प्रमुख उद्देश्यका साथ काम गदै आईरहेको छ ।
 
वि.स २०३५ सालमा नेपालमा आँखा उपचार सेवाको विकास र विस्तारको लक्ष्य सहित एक गैर नाफामुलक संस्थाका रुपमा स्थापना भएको नेपाल नेत्रज्योति संघ अन्तरगत हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५४ आँखा उपचार केन्द्र तथा ४४ जिल्ला शाखाहरु संचालनमा छन् । संघ अन्तरगतका आँखा अस्पताल, आँखा उपचार केन्द्र मार्फत बार्षिक ३० लाख बढि बिरामीको आँखा जाँच हुने गर्दछ ।
 
स्थापना देखि सन् २०२२ सम्ममा संघको नेटवर्क मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल ४ करोड २ लाख ८६ हजार ५ जना आँखाका बिरामीहरुलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ४८ लाख ६७ हजार ७७४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।