दूध उत्पादक किसानहरूले आगामी सातादेखि चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेका छन् । आज पत्रकार सम्मेलन गर्दै किसानहरूले आफ्ना १६ बुँदे माग पुरा गराउन आगामी आइतबारदेखि आन्दोलन गर्ने घोषणा गरेका हुन् ।
दुग्ध विकास संस्थान लगायत निजी डेरी उद्योगहरुले दुधको करिब ६ अर्ब बक्यौता रकम भुक्तानी नगरेको भन्दै किसानहरूले सो दिनदेखि आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेका छन् । किसानहरूले फागुन १३ गतेदेखि १७ गतेसम्म निरन्तर आन्दोलन गर्ने र त्यसपछि पनि माग पुरा नभएसम्म राजमार्गहरूमा चक्काजामदेखि धर्ना तथा विरोध प्रदर्शन गर्ने बताएका छन् । उक्त आन्दोलन नेपाल किसान महासंघ तथा राष्ट्रिय किसान सञ्जाल र अखिल नेपाल किसान महासंघको पहलमा हुन लागेको हो । किसानहरूले फागुन १३ गते राजनीतिक दलका शीर्ष नेताहरूसमक्ष मागपत्र प्रस्तुत गरी संसदीय दलका प्रमुख सचेतकहरूलाई मागहरू बारे जानकारी गराउँदै छन् ।
त्यस्तै, फागुन १४ गते मागहरूका बारेमा संघीय संसद कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिसँग छलफल गर्ने कार्यक्रम रहेको छ । साथै, फागुन १४ र १५ गते ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालयमा बिहान १० देखि १२ बजेसम्म नारा जुलुशसहित धर्ना दिने र ज्ञापनपत्र बुझाउने बताइएको छ । त्यसैगरी, फागुन १६ गते दुग्ध किसानका मागहरू प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरुलाई बुझाउने र फागुन १७ गते बिहान १० बजेदेखि १२ बजेसम्म मुख्य राजमार्गहरुमा शान्तिपूर्ण रुपमा चक्काजाम गराउने किसानहरूले बताएका छन् । फागुन २१ गतेदेखि भने माग पूरा नभएसम्म माइतीघर मण्डलामा धर्ना तथा विरोध प्रदर्शन निरन्तर जारी राख्ने किसानहरूको बताएका छन् ।
नेपालपत्र संवाददाता