आजका प्रगतिशील बुद्धिजीवीको कर्तब्य
(यो कमरेड पुष्पलालले २०३० कार्तिकमा नेपाली जनबादी क्रान्तिकारी साँस्कृतिक संघको प्रथम सम्मेलनलाई गर्नु भएको सम्बोधनको अंश हो । जुन सम्मेलनमा उहाँका दार्शनिक बिचारहरु प्रस्तुत भएका छन्)
क.पुष्पलालले गुरुङ्ग नामबाट लेख्नु भएको र पहिले प्रकाशित भैसकेको यो लेख दार्शनिक प्रकृतिको भएको र आजको सन्दर्भमा पनि अत्यन्तै उपयोगी हुने ठानेर पुनः प्रकाशित गरिएको छ ।(– सम्पादक)
आजका प्रगतिशील बुद्धिजीवीहरुको कर्तब्य बिषयमा केही भन्नुभन्दा पहिले बुद्धिको परम्परागत परिभाषाभित्र सुक्ष्मरुपले जुन बर्गीय छाप लुकेको छ त्यसलाई पत्ता लगाउनु आवश्यक छ । खेत खलिहानमा तयार भएका अन्न, कलकारखानमा पैदा गरिएका बस्तुको पैदायसको स्वभाव सामाजिक हुन्छ, तर पैदा भइसकेपछि तिनमा ब्यक्तिगत स्वामित्व कायम हुन्छ । ठीक यही कुरा बुद्धिमा पनि कायम हुन्छ । बुद्धिको उत्पत्ति र बिकास पनि मानिसको सामाजिक श्रमको दौरानमा नै भएको हो । तर शासक बर्गले यसरी उत्पन्न भएको बुद्धिलाई पनि आफ्नै स्वार्थको निमित्त प्रयोग गर्दै आएको छ । जसरी शोषक बर्गले आफ्नो स्वार्थ रक्षमा निम्ति बन्दूकधारी सैनिक, राजनीतिज्ञ, अर्थशास्त्रज्ञ आदि पैदा गरे, उसैगरी बुद्धिजीवी अर्थात साहित्यकार, कलाकार आदि पनि पैदा गरे । यस बर्गयुक्त समाजमा ब्यबहारबाट पैदा भएको बुद्धिमाथि पर्दा हाल्नको निम्ति बुद्धिलाई अलौकिक शक्तिको देन हो भन्ने गलत प्रचार गराइएको छ ।
उनीहरु मानबीय देहलाई जड र जीव दुइ भागमा बिभक्त गर्दछन् । जड अर्थात शरीरलाई नश्वर, जीव अर्थात आत्मालाई अजर र अमरको रुपमा पेश गर्दछन् ।जीव नामक तत्वबाट ब्रह्माण्डको सृष्टि भएको भन्दछन् । त्यही बिश्व आत्मा हाम्रा मानब शरीरमा जीवात्माकोरुपमा प्रबेश गर्दछ भन्दछन् ।अतः आत्मा अजर अमर हो भनी सिद्ध गर्ने कुचेष्टा गर्दछन् । यस सिद्धान्तलाई आध्यात्मबादी सिद्धान्त भनिन्छ । यस अनुसार ज्ञान गुण तथा बुद्धिको उत्पत्ति र बुद्धि समाजभन्दा पर तपोभूमिमा बसी मायाजालबाट मुक्त भै एकाग्र चित्तकासाथ आत्माले ध्यान गर्दछ उत्तिनै मात्रामा हाम्रो बुद्धि बढ्दछ भन्ने हुन आउँदछ । एकाग्र चित्तमा अभ्यस्त भएमा सम र त्रिकालदर्शी समेत हुन सक्दछौ भन्ने यसले झूटा दाबी गर्दछ । स्पष्ट छ कि यस अनुसार बुद्धिको उत्पत्ति र बिकास सामाजिक कार्यको दौरानमा भएको हो भन्ने सत्य कुरामा पर्दा हाली, त्यसको उद्गम थलो एकाग्र चित्तमा पु¥याउँदछ । अतः यसले यो वास्तबिक जगत असत्य र काल्पनिक परलोकलाई सत्य हो भन्ने भ्रम दिन्छ ।
यस गलत भ्रमको अन्तर्गत मानब देहलाई जसरी जड र जीवमा बिभक्त गरिन्छ उसरी नै मानब समाजलाई पनि गलत किसिमले श्रमजीवी र बुद्धिजीवी दुइ भागमा बिभक्त गरिन्छ । श्रमजीव जड शरी र बुद्धिजीवी आत्मा ! अतः सामाजिक बिकासका निम्ति सोच बिचार तथा परिकल्पना गर्ने काम श्रमजीवीको नभै बुद्धिजीवीको हो भन्ने गलत दाबी आध्यात्मबादीको हुन्छ । वास्तवमा अनुभवसिद्ध ज्ञान तथा बिज्ञान अनुसार भन्ने हो भने शरीरभन्दा पर जीव तथा आत्माको कुनै अलग अस्तित्व छैन । त्यसैगरी सामाजिक श्रमभन्दा पर सामाजिक बुद्धिको पनि कुनै अस्तित्व छैन । सामाजिक बुद्धि न त पृथ्वीबाट उब्जन्छ न त आकाशाट नै झर्दछ । आफ्नो गाँसबासको ब्यवस्था गर्ने सामाजिक कृयाकलापको दौरानमा मानबको मस्तिष्कमा बुद्धि अथवा ज्ञानको जन्म हुन्छ र मानबले प्राकृतिक शक्तिलाई बशिभूत गर्नका निम्ति त्यस भित्रको अधिशासित नियम बुझ्नु पर्दछ । कुनै पनि बस्तु या घटना चाहे त्यो प्राकृतिक जगतको होस्, चाहे सामाजिक क्षेत्रको होस् कुनै एउटा निश्चित नियम अनुसार घटिरहेको हुन्छ । यस निश्चि नियमलाई अधिशासित नियम भनिन्छ । यही अधिशासित नियमको ज्ञान नै बुद्धि हो । सामाजिक ब्यवहारबाट नै यस्ता अधिशासित नियमको बोध मानबलाई हुँदै जान्छ । यस प्रकारको सोच्ने पद्धतिलाई र्भातकबादी पद्धति भनिन्छ । यस अनुसार परलोक असत्य र भ्रमजाल हो । केवल बस्तु जगत मात्र सत्य हो भन्ने हुन आउँदछ । यो कुरा बिज्ञान र अनुभव सिद्ध हो ।
आदर्शबादी सोचाई अनुसार यो सम्पूर्ण ब्रह्माण्डको सृष्टिकर्ता परमात्मा तथा परमेश्वर भएको हुँदा यस ब्रह्माण्डको अधिशासित नियम मानब बुद्धिगम्य नभै आत्मागम्य हुन्छ, भौतिकबादी सोचाई अनुसार सम्पूर्ण ब्रह्माण्डको सृष्टि बिभिन्न अणु र परमाणुहरुको संयोग र बियोगबाट भएको हो र स्वयं जीवको सृष्टि पनि त्यसै नियम अनुसार भएको हुँदा प्रत्येक बस्तु र घटनामा अधिशासित नियम मानब बुद्धिगम्य हुन्छ । मानब समाजको बिकासको इतिहास यसै कुराको साक्षी छ । आगोलाई बशिभूत गर्ने मानबको प्रथम कार्यदेखि आज चन्द्रलोकसम्ममा टेकी फर्कने कार्यमा मानबले बुद्धिको जुन बिकास गरेको छ सो एकाग्र चिन्तनद्वारा प्राप्त नभै सामाजिक जीवनबाट नै प्राप्त भएको छ। अतः मानबले आफ्नो सामाजिक जीवनको दौरानमा एक पछि अर्को गरी प्राकृतिक शक्तिमाथि बिजय प्राप्त गर्दछ, समाजमा बिकास ल्याउँदछ र आफुमा पनि परिबर्तन ल्याउँदछ । यो सबै सामाजिक श्रमको नै फल हो । उत्पत्ति, बिकास र परिबर्तनको कारण परलोक नभै यही लोक नै हुन्छ ।
यस परिबर्तनमा महत्वपूर्ण भूमिका बुद्धिजीवीहरुको हुन्छ । यस बर्गयुक्त समाजमा कुनै पनि बुद्धिजीवीको अस्तित्व बर्गीय स्थितिभन्दा पर र माथि उठेको हुदैन । समाजमा देखा परेका बुद्धिजीवीले समाजको कुनै न कुनै बर्गको प्रतिनिधित्व गरेकै हुन्छ । दृष्टान्तको निम्ति हामी ‘हरिश्चन्द्रको कथा‘ र ‘पच्चास रुपियाको तमसुक’लाई लिन सक्तछौं । हरिश्चन्द्रको नाटक हेर्ने दर्शकहरुले ‘सत्यबादी’ हरिचन्द्रको जीवनलाई आफ्नो आदर्श मान्दछन् । यसमा राजा आफ्नो बचन पूरा गर्न आफ्नो राज्य दान दिएर दान प्रतिष्ठाका निम्ति स्वास्नी र छोरालाई बेची आफु मशान घाटमा बस्न पुग्दछन् । अन्तमा इश्वर खुशी हुन्छन् र उनको सारा श्रीसम्पत्ति सबै फिर्ता गरिदिन्छन् । यसबाट सर्ब साधारण किसान जनतामा यो मनोभावना पर्दछ कि हरिश्चन्द्र जस्ता राजाले पुरोहितलाई दान दएको आफ्नो बचन पूरा गर्नको निम्ति दःुख कष्ट उठाए भने हामीले गुरु पुरोहितलाई अर्थात् गाउँका फटाहालाई दिएको बचन पूरा गर्नको निम्ति गोर्खा पल्टमा भरना भएर हुन्छ वा बिदेशमा नोकरी गरेर हुन्छ या जे गरेर भएता पनि पूरा गर्नै पर्दछ । यसले गर्दा आम किसान जनतामा आफुमाथि भइरहेको शोषणको बिरुद्ध संघर्ष गर्ने भावना सिर्जना हुनुको सट्टा उनीहरु परलोक सुधार्ने कुरामा पुगी यस लोकको शासनलाई स्वाभाविक अर्थात् दैबी देनको रुपमा लिन्छन् । स्पष्ट छ, हरिश्चन्द्रको नाटकले देशको सामन्ती साहूकारको स्वार्थको रक्षा गर्दछ । तर ‘पच्चास रुपियाँको तमसुकले’ले ठीक उल्टो सामन्ती स्वार्थको साटो किसानको स्वार्थको प्रतिनिधित्व गर्दछ र किसान जनतामा आफ्नो हक र हितको निम्ति संघर्ष गर्ने प्रेरणा दिदछ । यस कुरालाई सामन्ती सरकारले राम्रोसँग बुझेको हुँदा ‘हरिचन्द्र’को नाटक खेल्नमा कुनै पनि प्रतिबन्ध गर्दैन बल्कि उत्साहित गर्दछ । तर ‘पच्चास रुपियाँको तमसुक’ खेल्नमा नाना किसिमका अडङ्गा हालेको कुरा सबैमा स्पष्ट नै छ । यी दुबै नाटकका लेखक बुद्धिजीवी हुन् । ‘हरिश्चन्द्र’का लेखक सामन्ती स्वार्थका प्रतिनिधि भए भने ‘पच्चास रुपियाँको तमसुक’का लेखक श्रमजीवी किसान जनताका प्रतिनिधि भए । कुनै पनि बुद्धिजीवीको अस्तित्व यस बर्गयुक्त समाजमा बर्गभन्दा पर हुँदैन भन्ने कुरा यसबाट सबैमा छर्लंग नै हुनुपर्दछ।

सात सालमा राणाशाहीको अन्त्यपछि पुरानपन्थी बुद्धिजीवीवहरुको दबदबा नेपाली समाजबाट सदाको निम्ति अस्त भयो । मध्ययुगीन सामन्ती सामाजिक मूल्यहरुको अगाडि आज प्रश्नबाचक चिन्ह खडा छ । समाजको प्रत्येक क्षेत्रमा परम्परागत सामाजिक मूल्यको अबहेलना भएको देखिन्छ । राजनीतिक क्षेत्रमा दैबी शक्तिको साटो बैधानिक राजतन्त्र,गणतन्त्र तथा समाजबादको कुरा उठ्न थालेको छ । दार्शनिक क्षेत्रमा आध्यात्मबादको साटो भौतिकबाद र माक्सबादी लेनिनबादी दर्शनको जोड बढ्न थालेको छ । साँस्कृतिक क्षेत्रमा परलोक, अन्धबिश्वासको साटो यो लोक,तर्क र बिज्ञानमा जोड पर्न थालेको छ । आर्थिक क्षेत्रमा इलाकीय कृषि आर्थिक ब्यबस्थाको साटो राष्ट्रिय स्वतन्त्र आर्थिक ब्यबस्थाको आवश्यकताको बोध, सामाजिक क्षेत्रमा जातिभेद, जातीय असमानता र स्त्री पुरुषको असमानताको साटो समानताको सिद्धान्तले जोड पक्डेको छ । यसको मतलब हो आज हाम्रो नेपाली जनता सामन्ती बन्धनबाट मुक्त हुन चाहन्छन् । अतः नेपालका प्रगतिशील बुद्धिजीवीहरुले आज नेपाली जनतालाई यस सामन्ती बन्धनबाट मुक्त हुने कुरामा पहलकदमी लिनुपरेको छ ।
तर हजारौ बर्षदेखि देशको आर्थिक,राजनीतिक,सामाजिक तथा दार्शनिक क्षेत्रमा हैकम चलाएर आएको सामन्ती बर्गले यस परिस्थितिलाई चुपचाप सहेर बसेका छैनन् । आजको युगमा आफ्नो सामन्ती स्वार्थको रक्षाको निम्ति देशको सामन्ती बर्गले एउटा नयाँ उपाय सोचेको छ । त्यो हो परम्परा र आधुनिकताका बीच समन्वय । यसै अन्तर्गत देशको सामन्ती स्वार्थ र अन्तर्राष्ट्रिय प्रतिकृयाबाद तथा साम्राज्यबादको स्वार्थ पनि डोरी बाटिएझैं एक अर्कोमा बाटिएका छन् । यो सबै हुँदै छ आधुनिकताको नाममा ।
आधुनिकताको नामा आज नेपालमा अश्लिल सँस्कृत र सभ्यताको प्रचार प्रसार गराइदैछ र बिदेशको अन्धा अनुकरण गरिदैछ । त्यसले गर्दा राणाशाहीको अन्त्यपछि बर्षेनी सयौंको संख्यामा बिशेषज्ञ र हजारौंको संख्यामा जुन डिग्री प्राप्त बुद्धिजीवीहरु तयार हुँदैछन्, उनीहरुको मस्तिष्कलाई नै बिकृत गर्ने बातावरण तयार गरिएको छ । आज हाम्रो देशको राजधानी नेपाली साहित्य तथा सँस्कृतिको प्रचार प्रसार केन्द्र नभै पश्चिमी पथभ्रष्ट साहित्य तथा सँस्कृतिको एजेण्टकोरुपमा देखा पर्न आएको छ । आज परम्परागत देशीय सामन्ती स्वार्थ र अन्तर्राष्ट्रिय ह्रासोनमुखी साम्राज्यबादी स्वार्थ एक अर्कोमा बाटिएर एक बर्णशंकर सँस्कृतिको जन्मस्थल नै आजका शिक्षित समुदाय र घरानियाँ भनिएकाहरुको तीर्थस्थल भएको छ । यस बर्णशंकर सँस्कृतिको जन्म राजधानीको ‘सोल्टी’ नामक होटेलमा भएको छ र यही बर्णशंकर सँस्कृतिको प्रचार प्रसार सुस्तरी देशको कुनाकाप्चासम्म पुग्न थालेको छ । यो देशको भबिष्यमा आइपरेको ठूलो खतराको सूचक हो यसबाटा देशलाई बचाउने संकल्प आजका प्रगतिशील बुद्धिजीवीहरुले गर्नु परेको छ ।
यसको निम्ति आज हाम्रो नेपालको सन्दर्भमा आधुनिकताको अर्थ के हो ? त्यसको स्पष्ट समझदारी हुनु आवश्यक छ । हाम्रो समाज आज सामन्ती, अर्ध सामन्ती तथा अर्ध औपनिवेशिक ऐतिहासिक स्थितिमा छ । यस स्थितिले गर्दा नेपाली समाजले सक्दो उत्पादनको साधनको बिकासको सही रुपमा उपयोग गर्न सकेको छैन । नेपाली सामन्ती, अर्ध सामन्ती तथा अर्धऔपनिवेशिक अबस्था समाप्त गर्नु नै नेपालको आजको सन्दर्भमा आधुनिकता हो । अतः आधुनिकताको नाममा २—४ वटा सोल्टी जस्ता होटेल खोल्नु, केही बाटोघाटो खन्नु,केही कलकारखानाको निर्माण गर्नु आदि हिजो नभएका कुराहरुको शुरुवात गर्नु नै आधुनिकता होइन । आधुनिकताको वास्तबिक अर्थ नै यो एकाकार भएर बाटिएको यो सामन्ती तथा साम्राज्यबादी शोषणको स्थितिलाई अन्त्य गर्नु नै अजको ऐतिहासिक आवश्यकता हो । यस परिभाषा अन्तर्गत आधुनिकताको अन्त्य कहिल्यै पनि हुँदैन । नित्य प्रगतिको प्रबर्तक हुनु नै आधुनिकताको पक्ष पोषण गर्नु हो ।
अब प्रश्न आउँछ – नेपालल आधुनिकताको युगमा कसरी प्रबेश गर्ने ? हाम्रो देशमा हजारौं बर्षदेखि मोही र तलसिङको सामन्ती सम्बन्ध कायम भएर आएको छ ।यो तलसिङ समुदाय नै देशको सामन्ती बर्ग हो । आजको युगमा अन्तर्राष्ट्रिय पूँजीवाद, साम्राज्यबाद र प्रतिकृयाबादको समर्थन र सहयोग बिना हाम्रो देशको सामन्ती बर्ग बाँच्न सक्दैन । अतः देशको सामन्ती बर्गले अन्तर्राष्ट्रिय प्रतिकृयावाद र पूँजीवादलाई निम्त्याएको छ । यसले गर्दा देशमा परम्परागत मध्ययुगीन सामन्ती आर्थिक ब्यवस्थाको साथसाथै पूजीवादी र औपनिवेशिक आर्थिक ब्यवस्थाको पनि शुत्रपात हुन थालेको छ । अतः अन्तार्राष्ट्रिय पूँजीवाद र प्रतिकृयावादको मूख्य सामाजिक आधार नै देशीय सामन्तबाद र सम्झौतापरस्त पूँजीवाद हो । यही सामन्ती तथा सम्झौतापरस्त पूँजीवादी बर्ग नै देशको सम्पूर्ण अवनतिको निम्ति जिम्मेवार छ । अतः यस बर्गलाई समाप्त गर्नाले एकातिर देशका उत्पादनका साधानहरुको बिकास गर्ने अपार मौका आउदछ भने अर्कोतिर राष्ट्रभित्र बिदेशी साम्राज्यबाद तथा प्रतिकृयाबादको गुमस्ता बर्ग नै खतम हुनेछ । अतः मोही र तलसिङ बर्गमा आधारित नेपालको कृषि आर्थिक ब्यवस्थालाई सदाको निम्ति अन्त्य गरी किसानलाई जमिनको मालिक बनाउनु नै आजको सन्दर्भमा नेपालको ऐतिहासिक आवश्यकता हो । यसै गर्नाले नै हाम्रो समाजको उत्पादन क्षमतामा हजारौं बर्षदेखि जुन गतिरोध र ह्रास आएको छ सो स्थिति खतम हुनेछ र सामाजिक उत्पादन क्षमतामा बृद्धि हुनेछ ।आधुनिकताको नाममा यदि यो भन्दा अर्को कुनै बाटो अपनाइन्छ भने त्यो बुढी आईमाईको श्रृंगार अथवा जीर्ण कपडाको रफ्फु भराई जस्तो मात्र हुनेछ । जस्तो कि आज भइरहेको छ ।
युगको परिबर्तनमा हर युगका बुद्धिजीवीहरुले पुरानो युगको बिरुद्ध र नयाँ युगका निम्ति जनमत तयार गर्न सबभन्दा अग्रगन्य भूमिका खेलेका हुन्छन् । यसै कारणले गर्दा होला बुद्धिजीवी नै शासक बर्गका सबभन्दा पहिलो कोपा भाजन हुन्छन् ।आजका हाम्रा बुद्धिजीवीहरुले देशमा भइरहेको सामन्ती साम्राज्यावादी साँठगाँठको बिरुद्ध र मोही र तलसिङको सम्बन्धलाई चुडाल्ने उदेश्यले प्रेरित भएको कृषि क्रान्तिको पक्षमा जनमत तयार गर्ने कुरामा अग्रगन्य भूमिका खेल्नु परेको छ । शासक बर्गको मानपत्र होइन कोपभाजन हुनुपरेको छ । देशको राजनीतिक, दार्शनिक,आर्थिक, साँस्कृतिक तथा ऐतिहासक क्षेत्रमा आफ्नो देशको राष्ट्रिय परम्पराको सन्दर्भमा ऐतिहासिक सिंहावलोकन गरी जनपक्षीय कुराहरु प्रतिपादन गनुृ परेको छ । समाजको बिभिन्न क्षेत्रमा हाम्रा बुद्धिजीवीहरुले प्राप्त गरेका सैद्धान्तिक ज्ञानको प्रयोग आफ्नै देशको ऐतिहासिक सन्दर्भमा लागु गर्न पोख्त हुनु परेको छ । यसको निम्ति आफ्नै देशका बिभिन्न क्षेत्रमा देखापर्दै आएका अधिशासित नियमहरुको खोजबिन गरी यथार्थरुपमा जन समक्ष पेश गर्नु अति आवश्यक छ । शासक बर्गले पेश गरी टोपलेका देश बिकासका कार्यक्रमका बिकल्पकोरुपमा जनवादी कार्यक्रम पेश गर्न सक्नु पर्दछ । यसै कुरामा आजका प्रगतिशील बुद्धिजीवीहरुले आ–आफ्नो क्षेत्रबाट आ–आफ्नो दक्षता सावित गर्नु परेको छ । आजका हाम्रा बुद्धिजीवीरु केही यस्ता छन् जो अन्तर्राष्ट्रको खूब जानकारी राख्दछन् तर राष्ट्रिय समस्यामा बिशेष केही जानकारी हुँदैन ।यसमा उनीहरु आफ्नो गौरब पनि ठान्दछन् ! यो कुरा गलत हो । हाम्रा बुद्धिजीवीहरुले बिदेशको गुणगान दर्शाउँदैमा नेपालको प्रगति हुँदैन । अतः आफ्नै समस्या बुझ्नका निम्ति कम्मर कस्नु परेको छ । आफ्नो राष्ट्रिय समस्या नबुझी हामीले देशको जन आन्दोलनलाई पनि उठाउन सक्ने छैनौ ।
आज हाम्रा बुद्धिजीवीहरुले हामी कुन राष्ट्रिय युगमा छौं भन्ने कुरालाई मात्र बुझेर पुग्दैन, आज हामी कुन अन्तर्राष्ट्रिय युगमा छौं भन्ने कुरालाई पनि बुझ्न अति आवश्यक छ । आज हामी अन्तराष्ट्रियरुपमा पूँजीबादबाट समाजबादको संक्रमणको युगमा छौं । आज बिश्व पैमानामा नै पूँजीवाद र समाजबाद एक अर्कालाई मास्ने आर्थिक, राजनीतिक,सामाजिक, साँस्कृतिक तथा दार्शनिक आदि सम्पूर्ण क्षेत्रमा संघर्ष गरिरहेका छन् । यस संघर्षमा पूँजीवादको उत्तरोत्तर ह्रास देखिदै आएको छ भने समाजबादी शक्तिको बिजय हर क्षेत्रमा झन पछि झन चम्किलो हुँदै आएको छ । आज बिश्व समाजबादी शक्ति निर्णायक भूमिका खेल्ने शक्तिकोरुपमा बिकसित हुँदै आएको छ । हाम्रो संघर्ष देशीय सामन्तबाद तथा सम्झौतापरस्त पूँजीवादको साथै अन्तर्राष्ट्रिय साम्राज्यबाद तथा प्रतिकृयावाद बिरुद्ध पनि भएको हुँदा अन्तर्राष्ट्रिय समाजबादको एक अभिन्न अंग हो । अतः आजका हाम्रा बुद्धिजीवीहरुले अन्तर्राष्ट्रिय समाजबादको पक्षमा प्रचार प्रसार गर्नु पर्दछ ।
यहाँनेर हाम्रा देशका बुद्धिजीवीहरुले एक मर्मको कुरा बुझ्न अति आवश्यक छ । हाम्रो देशमा एक तप्का बुद्धिजीवीहरु यस्तो देखापर्न आएको छ, जो राष्ट्रियरुपमा सामन्तबादको साथ दिन्छ तर अन्तर्राष्ट्रिय क्षेत्रमा भने साम्राज्यबादको बिरोध गरिटोपल्दछ । आजका प्रगतिशील बुद्धिजीवीहरुको कत्र्तबय यो होइन । आजका प्रगतिशील बुद्धिजीवीहरुको कसौटी राष्ट्रिय अन्तर्राष्ट्रिय दुबै क्षेत्रमा उनीहरुले अपनाएको सही नीति हो । यसले स्पष्ट गर्दछ कि हाम्रो देशको सामन्तबाद बिरोधी नयाँ जनवादी क्रान्ति अन्तर्राष्ट्रिय जनबादी क्रान्तिको एक अभिन्न अंग हो ।
आजका प्रगतिशील बुद्धिजीवीहरुले यो कुरा स्पष्टरुपमा बुझ्नुपरेको छ कि बुद्धिजीवी बर्गको निम्ति बुद्धिजीवी होइन,बल्की श्रमजीवी बर्गको स्वार्थको निम्ति नै बुद्धिजीवीको आवश्यकता छ । बुद्धि श्रमको सन्तान भएको हुँदा श्रमको निम्ति नै बुद्धिका उपयोग हुनु पर्दछ । यसै धारा प्रबाहलाई अगाडि बढाउँदै गएमा श्रमजीवी र बुद्धिजीवी बीचमा जो भेद हजारौं बर्षदेखि देखापरेको छ त्यसलाई मेटाउन सकिनेछ । अनि यो समाजमा प्रत्येक ब्यक्ति श्रमजीवी हुनाको साथसाथै बुद्धिजीवी पनि हुनेछ ।
ंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंं
......