शनिबार, आश्विन १७ गते २०८३

प्रसंग १५ सेप्टेम्बरकाे : स्मरण कमरेड पुष्पलालकाे

आश्विन १, २०७८ शुक्रबार
प्रसंग १५ सेप्टेम्बरकाे : स्मरण कमरेड पुष्पलालकाे
Ishwarrija.jpg
- ईश्वर रिजाल 
१५ सेप्टेम्बर, १९४९ । प्रारम्भिक विभाजनअगिसम्म नेकपाको निर्विवाद "स्थापना दिवस" ! यसैदिन, नेकपाको कार्यक्रमिक गन्तव्यको रूपमा " घोषणापत्र" र त्यसैलाई कार्यान्वयन गर्नका लागि "प्रथम कार्यकारिणी समिति"-को निर्माण भएको देखिन्छ, जसका "संस्थापक महासचिव" थिए, क. पुष्पलाल, जसलाई त्यो पार्टीकै "जन्मदाता" भनिएमा अत्युक्ति नपर्ला !
क. पुष्पलाललाई सम्झिँदा उहाँसँग बितेका यी क्षणहरूको सम्झना आयो :
(१). एकपल्ट दरभङ्गामा उहाँसित भेट हुँदा, उहाँले  बताउनुभयो :- " भाकपा(मार्क्सवादी)-का प्रमुख नेताहरूले, भेट्न चाहेकाले भेटेँ, डेढघण्टासम्म तिनीहरूका बकबक सुनेँ, र तिनीहरूका चिया-बिस्कुटको सत्कार पनि छाडिदिएर फर्किएँ, समयाभावको बहाना गरेर !"
भारतीय कम्युनिस्टमै पनि, उहाँसित अलि सद्भाव जताए जस्तो गर्ने, र त्यो बेला उहाँलाई तिनीहरूले भनेका कुरा समेत राम्रै लागेकोले उहाँको धृष्टताप्रति हामीले चित्त नबुझाएजस्तो गर्दा उहाँले भन्नुभयो:- " रुस, चीन, भियतनाम जस्ता देशहरू कहिलेकहिले एक-आपासमा द्वन्दरत रहनुको पछाडि, कुन कारकतत्त्वले काम गरेको होला ? मेरो देशको वस्तुस्थितिप्रति म ज्यादा जानकार छु कि मार्क्सवादीका नेताहरू ? … हेर्नुहोस्, कोही परमहितैषै नै किन नहोस्, यदि अनवान्टेड(अनैच्छिक) सल्लाह थोपर्नखोज्छ भने, त्यसबाट हमेशै सतर्क रहनुपर्छ भन्ने अटल मान्यता मेरो छ ।"
(२). वि.सम्. २०३४, दशैँको लगत्तैपछि, वनारसको दशपुत्र गल्लीमा, एकजोर सुटको कपडा देखाउँदै उहाँले भन्नुभयो :- "तपाईँहरूकी माइलीभाउजू(सहाना प्रधान) आएकी थिइन्, उनैले ल्याइदिएकी ! सिलाएर लागाउने औकात मेरो छैन ! … त्यासै त, कमुनिस्ट भएर सुटटाइ भिर्ने भन्दै पार्टी छाडेरै हिँड्न थालिरहेका छन्, साथीहरू !"
हाम्रो प्रतिक्रिया रह्यो: - " जे गर्छ, पार्टीले गर्छ ! … लोग्नेस्वास्नी वा बाबुछोरा नै किन नहुन्, पार्टीमा दाखिला नगरिएका र पार्टीद्वारै निर्णय नगरिएका कुनैपनि वस्तु पूर्णकालीन पार्टी-सदश्यका लागि अग्राह्य हुन्छन् भन्ने शिक्षा कसको ?"
त्यो बेला, उहाँको चम्किलो अनुहार र सजल आँखा हेर्न लायकै देखिन्थे ।
(३). त्यसै हप्ता, बाटोमा माग्दै हिँडेको माग्नेतिर दृष्टि दिँदै उहाँले गम्भीरतापूर्वकै अर्थ्याउनु भएको थियो: - " कम्युनिस्टहरूको स्तर माग्नेहरूको भन्दा पनि "निम्नकोटि"-को हुन्छ ।… माग्नेहरू जोकोहीसित पनि माग्न पाउँछन्, र तिनीहरूप्रति उत्तरदायी पनि हुनुपर्दैन । तर, हाम्रो निर्धारित सीमा छ, र तिनीहरूप्रति पूर्णत: जिम्मेवार हुनु नै हाम्रो प्रमुख कर्तव्य हुन्छ" ।
त्यसको पछिल्लो साल उहाँको देहावसान भयो ।
तिनैताक, एकजना "टाटा", जो "टाटा ग्रूप अफ् इन्डस्ट्रिज्"-का तत्कालीन "म्यानेजिङ् डिरेक्टर" समेत थिए,- ले एउटा अन्तर्वार्तामा "आफूहरू र कन्युनिस्टहरू बीचको भिन्नता"-लाई यसरी अर्थ्याएका मैले पढेको थिएँ: - " गर्नुसम्मै परिश्रम गरेर अधिकाधिक उपलब्धि हासिल गर्नु हाम्रो " कर्तव्य" हो भने, बिना श्रमै हाम्रा उपलब्धिलाई हत्याउनु र उपभोग गर्नु कम्युनिस्टहरूको "अधिकार" !
तिनैताक, नेपालमा जनमत सङ्ग्रहको घोषणा भएर अलि खुकुलो वातावरण बन्न थालेदेखि नै कम्युनिस्ट लागायत सबै राजनीतिकर्मीका उच्च, मध्यम र लघु ध्वनि यत्रतत्र गुञ्जिन सुरु गरिहाले :- "जोगी हुनका लागि हामीहरू राजनीतिमा लागेका हैनौँ । … आफ्नो लगानीको " शोधभर्ना" किन नखोज्ने, हँ ?"
र, यतिखेर त , यसो पनि भन्न थालिरहेझैँ प्रतीत हुन्छ : - " हामी नै सर्वशक्तिमान, सर्वाधिकारसम्पन्न, सर्वश्रेष्ठ र सर्वज्ञाता हुनाले, हामीसित विमति राख्नहरू जे-जति छन्, ती सबै अपराधी हुन्, जसप्रति हामी अझै कठोर बन्दै जानुपर्छ"
अस्तु !
साभार : आकाशबिन्दूको मुहारपुस्तिका