शनिबार, कार्तिक ८ गते २०८३

यो देश उठ्ने दिन फिर्नुपर्छ


माघ २०, २०८० शनिबार
यो देश उठ्ने दिन फिर्नुपर्छ
इन्द्रवज्रा
=====================
कस्तो अनौठो गणतन्त्र आयो
स्वाधीनता नैतिकता गुमायो
धेरै जनाले शिरपेच लाए
कप्ल्याक्क यो देश मिलेर खाए ।
 
यौटा हटाएर अनेक राजा
आई बनाए गणतन्त्र साझा
उद्योगधन्दा व्यवसाय छैन
श्रीपेचधारी खलको छ चैन ।
 
छैनन् युवा देश छ शून्य आज
देखिन्छ वृद्धाश्रमको समाज
जम्मै गुमाए पनि सर्म लाज
गर्दैछ एक्लै गणतन्त्र राज ।
 
देख्दैन आफ्ना जनता मरेको
खुम्ची सिमाना नजिकै सरेको
यो देशको सम्प्रभुता छ सस्तो
व्यापार गर्ने गणतन्त्र कस्तो ।
 
जन्ती मलामी अब पाइँदैन
यो देशलाई पनि चाहिँदैन ।
पाए भयो केवल राज्यसत्ता
मारेर कैयौँ निमुखा निहत्था ।
 
इन्साफमा छैन विवेक चासो
बल्छी बनाई गणतन्त्र पासो
थापेर खाने गणतन्त्र यस्तो
बोकेर हिँड्ने गठजोड कस्तो ।
 
देख्दैन आँखा न त सुन्छ कान
चिन्दैन के सम्प्रभुता समान
हो नाउँको यो गणतन्त्र खाली
बोकेर हिँड्ने भतिजा र साली ।
 
जोगी पसी ती दरबारभित्र
बिर्सी हिजोका घटना चरित्र
सिध्याउँदैछन् अब देशलाई
उन्मादको राज यहाँ चलाई ।
 
झन्डा युवाले अब बोक्नुपर्छ
यस्तो वितण्डा सब रोक्नुपर्छ
ती छद्मभेषी तल गिर्नुपर्छ
यो देश उठ्ने दिन फिर्नुपर्छ।
=====================