बुधबार, भाद्र ३ गते २०८३

दास र मालिक

भाद्र ३१, २०७८ बिहीबार
दास र मालिक
das.jpg
इन्द्रनारायण सुबेदी
 
आफ्नै मालिकको गुलाम बनिने बानी परेकाहरू
त्यो दासत्व सहेर यो मुलुकमा ज्यूँदै मरेकाहरू
उठ्दैनन् मति फेरिँदैन तिनको आजन्म नेपालमा
मर्दा मालिक मर्दछन् बरु सँगै पर्खी त्यसै कालमा।१।
 
लुच्चो चोर दुराग्रही किन नहोस् देख्छन् अझै ईश्वर
गर्छन् कीर्तन भक्तिसाथ र सधैँ पर्छन् उसैको भर
चढ्छन् मालिक काँधमाथि तिनका खुस्काइएका हर
गर्छन् स्वागत साहुको कुकुरझैँ हल्लाउँदै पुच्छर।२।
 
बारम्बार कुटाइ खान्छ उसकै साक्षी बनेको किन
त्यो अन्याय सहेर बस्दछ अझै लाछी बनेको किन
खै आवाज खुलेर मालिकहरू दर्बारमा भाँडिदा
खै विद्रोह लगाम लाउन कुनै बाटो यहाँ छाडिँदा।३।
 
फुट्छन् मालिक माथि दास तलका झन् बन्दछन् पागल
यै हो दूषित दीर्घ रोग घरको दुर्गन्ध बग्ने ढल
नेपाली इतिहास भन्दछ यही सञ्जालले भन्दछ
यो दुर्गन्धित गर्तभित्र यिनको दुर्भेद्य सम्बन्ध छ।४।
 
आआफ्ना कति झुन्ड छन् रहरका छन् ओत लाग्ने दल
त्यो कन्टेनरबाट दास सजिलै गर्दैन उठ्नै बल
यै हो मूल चरित्र अक्षम हुने हाम्रो पछौटेपन
यस्तै खेल तमासमा रुमलियो हाम्रो सबै जीवन।५।