काठमाडौं । एक पत्रकार सम्मेलन गर्दै दलितले गैरदलित युवतीसँग प्रेम विवाह गरेका कारण सात वर्षअघि मारिएका काभ्रे पाँचखालका अजित मिजारको न्यायका लागि बिभिन्न दलित संघ संगठनहरुले संयुक्तरुपमा पहिलो चरणका आन्दोलनका कार्यक्रम हिजो घोषणा गरेका छन् ।
त्यसरी संयुक्त आन्दोलनको घोषणा गर्नेमा एकीकृत दलित मुक्ति मोर्चा नेपाल, व्यवस्था उन्मुलन मोर्चा नेपाल, नेपाल राष्ट्रिय दलित केन्द्र र संयुक्त दलित अधिकार मञ्च नेपाल समेत चार दलित संगनहरुले अजितको न्यायको लागि भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउनेदेखि बिभिन्न आन्दोलन गर्ने कार्यक्रम घोषणा गरेका छन् ।
उनीहरुले एक संयुक्त प्रेस वक्तव्य सार्वजनिक गर्दै यही माघ १५ गते अन्तरक्रिया कार्यक्रम गर्ने, माघ २० देखि २५ गतेभित्र प्रधानमन्त्रीलाई ज्ञापनपत्र वुझाउने र माघ ३० गते प्रदर्शन गर्दै दोस्रो चरणका आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने बताएका छन् ।
पत्रकार सम्मेलनमा जात व्यवस्था उन्मुलन मोर्चा नेपालकी अध्यक्ष शान्ति गजमेरले न्यायको लागि कानुनी राज्यमा आन्दोलनमै उत्रिनुपर्ने बाध्यता भएको बताएकी थिइन् । योजनाबद्ध रुपमा मारेर झुण्ड्याइएको यथेष्ठ प्रमाण हुँदाहुँदै पीडकलाई उन्मुक्ति दिइएको उनको आरोप रहेको छ ।
अर्को संगठन – नेपाल राष्ट्रिय दलित केन्द्रका अध्यक्ष उपेन्द्र छुटुन्जेलले दलितलाई न्याय दिलाउन कहिलेसम्म सडकमा आउनुपर्ने हो भन्ने प्रश्न गर्दै नेपालको कुल जनसंख्यामध्ये १३ प्रतिशत जनसंख्या भएको दलित समूदायलाई उपेक्षा गरिदै आएको बताए ।
सात बर्ष अघि २०७३ असार २५ गते अजित र पाँचखालकै ज्याम्दीकी कल्पना पराजुलीबिच प्रेम विवाह भएको र त्यसको चार दिनपछि असार २९ गते धादिङमा पुर्याएर अजितलाई केटी पक्षका मानिसहरुले हत्या गरेको पीडित पक्षको भनाई छ । अजितको शव अहिले पनि त्रिवि शिक्षण अस्पतालमा राखिएको बताइएको छ ।
पत्रकार सम्मेलनमा उनीहरुले अजित र कल्पनाबिचको प्रेम सम्बन्ध, प्रेम विवाह, परिवारको दबाबबाट अलग्याइएको घटना र त्यससँग जोडिएका कयौं प्रमाणहरुले अजितको हत्या भएको छर्लंगै हुँदाहुँदै जिल्ला अदालत धादिङले आत्महत्या गरेको भन्दै प्रतिवादीलाई सफाइ दिएको र उच्च अदालतले पनि जिल्लाकै फैसला सदर गरेको भन्दै उनीहरुले आपत्ति जनाउदै न्याय नपाएको गुनासो पोखे ।