शनिबार, आश्विन १७ गते २०८३

१५–सेप्टेम्बरको मर्म र सारलाई सही अर्थमा सम्मान गरौ

भाद्र २९, २०७८ मंगलबार
१५–सेप्टेम्बरको मर्म र सारलाई सही अर्थमा सम्मान गरौ

  नेपालको कम्युनिष्ट आन्दोलन र यसको सम्बाहक नेपाल कम्युनिष्ट पार्टी विश्व कम्युनिष्ट आन्दोलनकै अभिन्न अङ्ग हो । कम्युनिष्ट आन्दोलन बर्गाीय शोषण र सामाजिक उत्पीडन लगायत  मानव जातिमाथि हुने सबै प्रकारका शोषण,बिषमता र  बिभेदहरुको अन्त्य गर्न शोषित उत्पीडित जनतालाई जगाउने, उठाउने आन्दोलित तुल्याउने र निर्णायक आमूल सामाजिक  परिबर्तनको माध्यमबाट वर्गबिहीन, शोषणबिहीन समुन्नत, सुसँस्कृत एवं सभ्य समाज निर्माण गर्ने उदेश्यकासाथ बिश्वभरी नै चलिरहेको छ । यसरी समुन्नत समाज स्थापनाको लागि मानव समाजले प्रकृति, वर्ग आधारित समाज र उत्पादनका सबै क्षेत्रमा गरेका संघर्षहरुबाट आर्जित ज्ञान र अनुभवको आधारमा बिकसित दर्शन एव बिचारधाराकों जगमा यो आन्दोलन अघि बढदै र चल्दै आएकोछ । यस क्रममा धेरै सफलता र असफलताका अनुभवहरु पनि सँगालेको छ ।

   मानब जीवन र जगतको गम्भीर र बिशद अध्यनबाट मार्क्स र एंगेल्सद्वारा प्रतिपादित द्वन्दात्मक ऐतिहासिक भौतिकवादी बैज्ञानिक सिद्धान्त नै आजको सबैभन्दा उन्नत बैज्ञानिक बिचार हो भन्ने कुरा आजसम्मका सबै बिकसित तथ्यहरुले पुष्टि गरेका छन् र अहिले पनि गरिरहेका छन् । मार्क्सवादी लेनिनवादी बिचारधाराकोरुपमा बैज्ञानिक समाजवादका यी सिद्धान्तहरु यसरी नै बिकसित भएका हुन् । १८४८ मा सर्बप्रथम प्रकाशित कम्युनिष्ट घोषणपत्र १८७१ मा खडा गरिएको पेरिस कम्युन, रुसमा १९१७ सम्पन्न महान अक्टोबर समाजवादी क्रान्ति, चीनको १९४९ को नयाँ जनवादी क्रान्ति,  भियतनाम, उत्तरकोरिया, लायोस ,कम्बोडिया, क्यूबा लगायत पूर्वी यूरोपका बिभिन्न देशहरुमा भएका कम्युनिष्ट क्रान्तिहरुले मार्क्सवाद, लेनिनवाद र माओत्सेतुङ्ग बिचारधाराको बेैज्ञानिक र यथार्थ बस्तुगत आधारको पुष्टि गरेका हुन्  । यसै बैचारिक जगमा नै १५ सेप्टेम्बर १९४९मा  नेपाल कम्युनिष्ट पार्टीको जन्म भएको हो । यद्यपि पार्टी स्थापना भएकाे तीन दशक पछि गएर अधारहीन र अर्थहीन किसिमले जन्म दिनकाे षडयन्त्रमूलक बिबाद सिर्जना गरियाे र नेपाल कम्युनिष्ट पार्टीबारे अनाबश्यक र अबाञ्छित भ्रम छरयाे । अहिले पनि त्याे भ्रमकाे शिकार नेपालकाे कम्युनिष्ट अान्दाेलन भइरहेकै छ ।

  नेपालकाे यस्ताे स्थिति भए पनि आज मार्क्स एङ्गेल्सद्वारा कम्युनिष्ट घोषणा पत्र जारी गरेको एक यस एकहत्तर बर्ष पुग्न लागेको छ । महान अक्टोबर क्रान्तिले स्थापित गरेको सोभियत समाजवाद बिघठन भएको छ । पूर्वी यूरोपमा प्रतिक्रान्ति भएको छ  । यद्यपि  बिगत एक सय सत्तरी बर्षयता बिश्वमा  भौतिक र चेतनाको क्षेत्रमा अपूर्व  परिवर्तन आएकोछ र खाशगरी बिज्ञान र प्रबिधिको क्षेत्रमा ठूलो परिवर्तन आएको छ । बिश्वमा आएका यी सबै परिवर्तनहरुको गहिरो, गम्भीर र गहन अध्ययनका आधारमा सुक्ष्म बिश्लेषण गरेर मात्र कम्युनिष्ट आन्दोलनले आजको परिवर्तनको संबाहक आन्दोलन बन्न र सही अर्थमा शोषित पीडित जनताको प्रतिनिधित्व गर्न सक्दछ । माक्र्सवादी लेनिनबादी बिचारबाट निर्देशित कम्युनिष्ट आन्दोलन र पार्टी यसका नेता तथा कार्यकर्ताहरु मानव जातिले प्राप्त गरेका आजसम्मका सबै क्षेत्रका उन्नत ज्ञान र अनुभबहरुबाट दीक्षित हुनै पर्दछ । बस्तुगत तथ्यहरुका आधारमा सत्य पत्ता लगाउनु र वस्तुगत बिश्लेषण अर्थात ‘ठोस राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको ठोस बिश्लेषणद्वारा क्रान्तिको सही मार्ग  पत्ता लगाउन मार्क्सवादको गम्भीर र सही अध्ययन र ज्ञान बेगर संभब हुदेैन  । 

  अतः यस आधारमा आज कम्युनिष्ट आन्दोलनमा आएका दक्षिणपन्थी र उग्रबामपन्थी  बिचलन, बिकृति र बिसंगतिलाई चिर्नु पहिलो आवश्यकता हुन आएको छ । यो आन्दोलन आज नराम्रोसँग दक्षिणपन्थी संशोधनवादको शिकार मात्र भएको छैन, संसदवाद, उपभोक्तावाद र भ्रष्टिकरणको दलदलमा पनि अत्यन्तै नराम्रोसँग फसेको छ । नेपाली कम्युनिष्ट आन्दोलनलाई यसका आधारभूत मान्यताकासाथ मार्क्सवादी–लेनिनवादीकरण नगरी यो आन्दोलन र यसको सम्बाहक पार्टी क्रान्तिकारी बन्न सक्तैन । आज  पार्टीका नेता तथा कार्यकर्तामा  मार्क्सवाद–लेनिनवादले अगाडि सारेको क्रान्तिकारी दार्शनिक पक्षहरुबारे बहस शून्यप्राय छ । जसले गर्दा सैद्धान्तिक चेतना अहिले अत्यन्त न्यून छ । हाम्रो सन्दर्भमा पार्टीलाई मार्क्सवादी लेनिनवादीकरण गर्नु भनेको सचेततापूर्वक र दृढताकासाथ मार्क्सवाद–लेनिनवाद–माओविचारधाराको मार्गदर्शनमा बर्गीय  एवं देशभक्तिपूर्ण आन्दोलनको जगमा पार्टीलाई उठाउनु हो । शाेषित पीडित जनतामा अाधारित,बर्ग  सचेत  कार्यकर्तामा संगठित भएकाे एक अनुशासनबद्ध पार्टीमा रुपान्तरण गर्नु हो ।   सारमा वर्ग संघर्षका माध्यमबाट जनताको ब्यापक हितमा समर्पित, सचेत, संघर्षशील एवं उच्च नैकिताले सुसज्जित एउटा अनुशासित एवं लडाकू शक्ति निर्माण गर्नु र त्यस प्रकारको बिश्वास गर्नयोग्य शक्ति निर्माणको मूल बाटोमा अविचल निष्ठा र समर्पणकासाथ लाग्नु हो । 

  अतः यसको निम्ति मार्क्सवादी लेनिनवादी रचनाहरुको अध्ययनमा निरन्तर जोड दिदै र त्यस अनुसार बद्लिदाे बिश्व बुझ्दै अघि बढ्न सके मात्र अवसरवादको चरित्रबारे राम्रो ज्ञान प्राप्त गर्न कार्यकर्ता तथा जन साधारणलाई कुरा बुझाउन सकिन्छ । आज आम कार्यकर्ताहरु अलमलमा छन् । के हो संशोधनवाद, दक्षिणपन्थी र उग्रवामपन्थी अवसरवाद अनिक्रा न्तिकारी धारा बुझ्नै सकिरहेका छैनन् । जसले गर्दा दक्षिणपन्थी अवसरवादले गाँजेको छ र यो आन्दोलनमा अत्यन्तै ठूलो भ्रम सिर्जना गर्न सफल भइरहेको छ ।यिनै कुराहरुलाई ध्यानमा राखेर यी बिकृति बिसंगतिका बिरुद्ध नेपालको कम्युनिष्ट आन्दोलनको आवश्यकता, आधार र औचित्यका बारेमा ज्ञान, अनुभव र शिक्षा ग्रहण गर्न नेपाल पार्टी स्थापना दिवस १५ सेप्टम्बरले प्रेरणा दिन्छ । बिश्व र हाम्राे देशकाे पनि बद्लिदाे  सन्दर्भमा यसको मर्म र सारलाई आत्मसात गरौंं र यसबाट प्रेरणा लिदै अघि बढाैं !