आइतबार, आश्विन १८ गते २०८३

भ्रष्टाचारका बिरूद्ध राष्ट्रिय क्रान्तिकारी मोर्चाद्वारा अन्तरक्रिया


पौष २९, २०८० आइतबार
भ्रष्टाचारका बिरूद्ध राष्ट्रिय क्रान्तिकारी मोर्चाद्वारा अन्तरक्रिया

 घोराही,दाङ । राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपाल लुम्बिनी प्रदेश समितिको आयोजनामा  हिजाे “भ्रष्टाचारः कारण र निवारण” विषयक अन्तरक्रिया कार्यक्रम दाङ घोराहीको सर्वोदय पुस्तकालयमा सम्पन्न भयो ।

यस कार्यक्रमकाे अध्यक्षता रास्ट्रिय क्रान्तिकारी मोर्चाका प्रदेश सदस्य मेघराज भट्टराईले गरेका थिए भने  कार्यक्रममा मोर्चाका लुम्बिनी प्रदेश संयोजक प्रमोद धितालले आधारपत्र प्रस्तुत गरेका थिए।

आधारपत्र प्रस्तुत गर्दै संयोजक धितालले भ्रष्टाचार आर्थिक लेनदेन या अपचलनको विषयमात्र नभएकाे र यसका धेरै आयामहरु भएको उल्लेख गर्दै  नेपालमा भ्रष्टाचारको इतिहास लामो रहेको र त्यसले आज नयाँ–नयाँ रुपहरु धारण गर्दै तलसम्म विकेन्द्रित भएको पनि बताए। उनले थप भने –“भ्रष्टाचारको प्रश्न केबल मानिसमा भएको लोभ, लालच र नियतको मात्र प्रश्न होइन, यसको सम्बन्ध निजी सम्पत्ति र नाफामूलक व्यवस्थासँग छ, सामाजिक संरचनासँग छ । जसले मानिसलाई उपभोक्तवादी बनाउँछ र जसरी पनि सम्पन्न बन्ने दिशामा धकेल्दछ ।”

saryakram.jpg

त्यस आधारपत्रमाथि टिप्पणी गर्दै ने.क.पा.(मशाल)का केन्द्रय सदस्य शशिधर भण्डारीले बाह्य संघर्षका लडाईंहरुमा कम्युष्टिहरुले जितेको तर आन्तरिक लडार्ईंहरुमा हारेकाले भ्रष्टाचारविरोधी आन्दोलनको अगुवाई आफैबाट गर्नुपर्ने औल्याए। आज आफूलाई कम्युिनष्ट भन्ने तर कर्मकाण्ड गर्ने, गहनाले शरीर ढाक्ने, निजी सम्पत्ति आर्जनमा चुर्लुम्म डुबेर लाग्ने प्रवृत्ति बढेर गएको कुरातर्फ इङ्गित गर्दै यो प्रवृत्ति पनि ठूलो भ्रष्टाचार भएको उल्लेख गरे । आज देश नै लाहुरे उत्पादन गर्ने कारखानामा परिणत भएकोले यस्तो राज्यले भ्रष्टाचारविरुद्धको अगुवाई गर्न नसक्ने कुरा पनि उनले प्रष्ट पारे।

ने.क.पा.(माओवादी केन्द्र)का जिल्ला सचिव विश्वराज आचार्यले भ्रष्टाचारको स्रोत हामीले अंगालेको दृष्टिकोणमा हुने भएकाले सबैभन्दा पहिला दृष्टिकोण ठीक बनाउनुपर्ने बताए । उनले अगाडि थपे–“यो देशमा पसिना बगाएर खेती गर्नेहरु डुबिरहेछन्, पैसा लगानी गरेर ब्यापार गर्नेहरु मोटाइरहेका छन् । अनि उनीहरु नै भ्रष्टाचारविरोधी चर्का कुराहरु गर्दैछन् ।” समाजमा वर्गहरु रहँदासम्म पार्टीभित्र पनि वर्गहरु हुने भएकाले त्यहाँ पनि संघर्ष चलाउनुपर्ने आवश्यकता औल्याए।

वामपंथी नेता अमर डाँगीले अहिलेसम्म देशमा राजनीतिक आन्दोलनहरु धेरै चलेको तर सामाजिक–साँस्कृतिक आन्दोलनहरु चल्न नसेकेकैले पनि आजको स्थिति आएको बताउँदै अगाडि धारणा राख्दै भने–“अब सामाजिक–साँस्कृतिक आन्दोलनलाई अगाडि बढाउनुपर्छ ।”

त्यसरी नै ने.क.पा.(मशाल)का जिल्ला सचिव राम बहादुर जि.एम.ले पनिि भ्रष्टाचारको विषयमा सैद्धान्तिक बहससँगै हाम्रो वरिपरि भइरहेका भ्रष्टाचारहरुको अध्ययन र तिनका विरुद्धमा आन्दोलनलाई संगठित गर्नुपर्ने बताए ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, दाङका सहसंयोजक अमर खड्काले भ्रष्टाचार शब्द सबैले उच्चारण गर्ने र बुझ्ने शब्द भएतापनि यसको अन्तर्य निकै गहिरो भएको र राजनीतिक दलहरुको पनि सही दृष्टिकोण नहुनु र राज्य पनि भ्रष्ट हुनु नै भ्रष्टाचार मौलाउनुको कारण भएको उल्लेख गरे ।

कार्यक्रममा ने.क.पा.(एकीकृत समाजवादी)का प्रतिनिधि गुरुप्रसाद महरा, पुर्ब नगर प्रमुख तथा बामपंथी नेता शंकर डांगी, सर्वोदय पुस्तकालयका अध्यक्ष सुशील गौतम, नागरिक समाजका पूर्व अध्यक्ष चन्द्रराज पन्त, वामपंथी बुद्धिजीवी अरुण शर्मा, प्राणमञ्च मासिकका प्रधान सम्पादक पदम पोख्रेल लगायतका वक्ताहरुले पनि आ–आफ्ना टिप्पणी र प्रतिक्रियाहरु राखेका थिए ।

कार्यक्रमको सहजीकरण राष्ट्रिय क्रान्तिकारी मोर्चा लुम्बिनी प्रदेश  सदस्य अमृत विश्वकर्माले गरेका थिए ।