शनिबार, आश्विन १७ गते २०८३

अर्थब्यवस्थाको आजको बिश्व परिदृष्य निक्कै अप्ठ्यारोमा 

पौष २५, २०८० बुधबार
अर्थब्यवस्थाको आजको बिश्व परिदृष्य निक्कै अप्ठ्यारोमा 
 
बितेका बर्षहरुदेखि नै बिश्व अर्थब्यवस्थाले ठूलो चूनौतिको सामना गर्नु परिरहेको परिप्रेक्षमा शुरु भएको २०२४ मा पनि त्यो भन्दा भिन्न परिस्थिति बिकसित हुने अनुमान गर्ने कुनै आधार देखापरेको छैन । यसको अर्थ हो कि बिश्व अर्थतन्त्र यो बर्ष पनि अप्ठ्यारोकै बीचबाट गुज्रिने देखिन्छ । यद्यपि आर्थिक पूर्बानुमान गर्नु सधै नै एउटा जोखिमकै कुरा हुने गर्दछ । आजको बिश्व परिस्थितिमा त यो कुरा अझ बढी प्रासांगिक लाग्दछ । बास्तवमा भबिष्यलाई लिएर प्रायः सधैं नै बिभिन्न किसिमका अनिश्चितताहरु रहिरहेका हुन्छन् । बर्तमानमा त यी अनिश्चितता अझ बढी र बिबिध रहेका छन् । हुन पनि कसैले भन्न सक्तैन कि अर्को साता के हुने हो ? आउने पूरै बर्षको त झन कुनै कुरै गर्नु परेन ।
अब अहिलेको एउटा बिश्व परिदृष्यलाई हेरौं । गाजामा इजरायले प्यालेस्टिनीहरुमाथि  चलाइरहेको नरसंहारकारी युद्धको परणति अब के हुन्छ र यसले कस्तो स्वरुप लिन्छ ? यसले मध्यपूर्बलाई अझ गाज्छ र झन ब्यापकरुपमा फैलिन्छ कि यो युद्धले कुनै स्थायी समाधानको दिशा लिन्छ सम्भावनाहरु अनिश्चित छन् ।
यसरी नै नाटोका कारण उत्पन्न यूक्रेन युद्धको पनि त्यस्तै अनिश्चितता बनिरहेको  । यतिबेला रुसले एकाएक यूक्रेनमाथिको हमलालाई तीब्र पारेको देखिदैछ । शायद यो यूक्रेनद्वारा क्रिमियामा नौसैनिक प्रतिष्ठानमाथि गरिएको बिनाशकारी हमलाको प्रतिक्रिया प्रेरित पनि हुनसक्छ जसमा रुसको एउटा युद्धपोत डुबेको थियो । यसका अतिरिक्त त्यहाँ जमिनको सतह युद्ध पनि कुनै निकास दिन नसकेजस्तो गरी चलेको र गतिहीन अबस्थामा रहेको देखिन्छ । न रुसले न यूक्रेन कुनैले पनि महत्वपूर्ण र निर्णायक गति लिन सकेको देखिन्न ।
यस परिबेशमा चिनीयाँ शक्तिशाली अर्थतन्त्र पनि मन्दीको कालखण्डबाट गुज्रिरहेको देखिन्छ । चीनको आवास र रियल स्टेटका ब्यापक क्षेत्रमा ठूलो आर्थिक गतिहीनताका कारण त्यहाँ संकट उत्पन्न भएको बताइदैछ । के आशंका गरिदैछ भने ठूलो स्तरमा प्रणालीगत रुपमै ती महत्वपूर्ण आवास र बित्त कम्पनीहरु डिफल्टर(दोषी) हुन पुग्ने छन् ।
ताइबानको समस्याले पनि चीनलाई पिरोलिइरहेको छ र चीनले ताइवानको स्थितिलाई पनि गम्भीरुरुपमा लिदै आएको छ । अमेरिकाको चीनप्रतिको एक चीन नीतिको उल्लंघन र ताइबानलाई चीन बिरुद्ध हावा दिने गतिबिधिले स्थितिलाई बिथोलिरहेको छ । त्यसरी नै यूक्रेनलाई कमजोर पार्ने रुसको नबीनतम सफलताबाट उत्साहित भएर चीनले अमेरिकी प्रतिकृयाहरु र सहभागितलाई उल्लेख गर्दैै ताइबानमा दबाब प्रतिकृया बढाउन सक्ने स्थिति देखा पर्दैछ ।
Girtdoarthatantra.webp
माथि उल्लेख गरिएकामध्ये कुनै पनि यस्ता अप्रत्याशित घटनाहरुले यस्ता शक्तिहरुलाई तारो बनाउन सक्तछन् जसले बिश्व अर्थब्यवस्थाको बिद्यमान एक किसिमको सन्तुलन र बिकासको गतिलाई बिगार्न या अवरुद्ध पार्न सक्तछन् । यस्ता कुराहरु ती देशका र अन्यत्रका पनि केन्द्रिय बैंकहरु तथा नीति निर्मातारुका लागि पनि निकै गम्भीर चिन्ताका बिषय हुन् पुग्दछन् भन्ने बश्व अर्थ बिज्ञहरु औल्याउने गर्दछन् ।
यस्तो स्थितिमा मध्यपूर्बमा फैलिन सक्ने ब्यापक युद्धको पहिलो शिकार त्यहाँको तेल बजार हुन पुग्दछ र त्यो अपूर्बरुमा उथल पुथल बन्न सक्तछ । यदि कुनै पनि प्रमुख तेल उत्पादक देश इजरायल–हमास युद्धमा शामेल हुन पुग्दछन् भने त्यसको तेल उत्पादन र आपूर्तिमा गहिरो प्रभाव पर्दछ नै । यसरी तेल उत्पादन र आपूर्तिमा उत्पन्न हुने ब्यवधानले मूल्य बृद्धि हुने र 
त्यसले समग्र मूल्य स्तर नै नकारात्मकरुपले प्रभावित बन्न पुग्न सक्तछ । 
यस प्रकारको स्थितिमा कयौं अर्थमा मुद्रास्फितिमा ताजा उछाल आएर आर्थिक सम्भावनाका लागि ठूलो झट्का लाग्ने स्थिति उत्पन्न हुन्छ । झण्डै एक दशकसम्म स्थिर र कम मूल्य पछि बिशेष गरेर संयुक्त राज्य अमेरिकामा मुद्रास्फिति बढिरहेको थियो । कतिपय अर्थशास्त्रीले त्यो मुद्रास्फितिलाई अतितको चिन्ता बताएका थिए र कम मुद्रास्फितिको युग शुरु हुन गएको मानेका थिए ।
अमेरिकी मुद्रास्फिति बढिरहेको थियो र अमेरिकी फेडरल सिजर्भले परिभाषित मुद्रास्फितिका प्रबृत्तिहरुको सामुमा बढ्दो दर चक्र शुरु गरिदिएका थिए । अमेरिकामा मुद्रास्फिति  ६ प्रतिशतभन्दा बढी हुन पुगेको थियो । अझ केही समयका लागि त त्यो ८ प्रतिशतसम्म पनि पुग्न गएको थियो । तर युद्ध समाप्ति पछिदेखि मुद्रास्फितिको यस्तो स्तर कहिल्यै देखिएको थिएन । फेिर बढ्दो चक्र र केही अन्य कारकहरुकासाथ मुद्रास्फिति कम हुन थाल्यो । यतिसम्म कि फेडरल रिजर्भले बढ्दो चक्रलाई उल्टाउने र थोरै राहत दिने बारेमा कुराकानी नै शुरु गरिदियो । यतिबेला मुद्रास्फितिमा कुनै पनि फेरबदलको अर्थ हुन्छ कि फेडरल रिजर्भले ब्याजदरमा बृद्धिका साथै मुद्रास्फितिको लडाई पुनः शुरु गर्न सक्तछ ।
बितेको केही समय यतादेखि अर्थशास्त्रीहरुका बीच के चर्चा चलिरहको थियो भने के बढ्दो मुद्रास्फिति र फेडको मुद्रास्फिति बिरोधी प्याकेजसँगै अमेरिका मन्दीबाट बच्न सक्तछ । वास्तबमा यो मन्दी शब्द अब अर्थशास्त्रीहरुका बीच सबैभन्दा बढी उपयोग गरिने शब्द बन्न गएको छ । के मुद्रास्फितिका बिरुद्धको लडाई पछि अमेरिका मन्दीबाट बच्न सक्ला ?
के देखिएको छ भने मुद्रास्फिति बिरोधी उदेश्यका लागि मौद्रिक कडाईको चक्र पछि पन्ध्रदेखि अठार महिनाको अन्तरालमा मन्दी आउने गर्दछ । यस्तो स्थितमा फेडरल रिजर्भले चक्रलाई कडाई गर्न शुरु पनि गरिदिएको थियो जसबाट अब मध्यम खालको मुद्रास्फिति देखिदै छ । तर के मन्दी पुनः आउने हो ? प्रश्न  खडा छ ।
हुन पनि अमेरिकामा मन्दीले निश्चितरुपले बिश्व अर्थब्यवस्थाका सम्भावनाहरुलाई समाप्त पारिदिने र एक अर्कासँग जोडिएको संसारमा जो कोही पनि प्रभावित हुने स्थिति छ । संयोगबश अहिले केही समय यता अमेरिका मन्दीबाट जोगिएको  र श्रमिक बेरोजगारी पनि निकै तल्लो स्तरमा नै रहेको थियो । त्यसैले अहिले अर्थशास्त्रीहरुले के परिभाषित गर्न खोजिरहेका छन् भने अमेरिकाले मन्दीबाट आफुलाई कसरी बचायो र पुनः ब्याजका दरहरु बढाइए ।
त्यसैले यतिबेला के स्पष्टीकरण दिन थालिएको छ भने अमेरिका अन्ततः मन्दीको स्थितिबाट बच्न सक्तछ । अमेरिका सुरक्षित अवतरण(सेफ ल्याण्डिङ्ग) हासिल गर्न सक्तछ जुन कुरा युद्धपछि भएको छैन । यसो भएमा उसको नीति निर्माण तथा आर्थिक ब्यवस्थापनमा चमत्कार हुनेछ ।
  एकथरी अर्थबिदहरु बिश्व अर्थ ब्यवस्थाका लागि दोश्रो खतरा चीनबाट उत्पन्न हुन सक्ने उल्लेख गर्दैछन् । चीनको अर्थब्यवस्था पनि मन्द हुँदै गइरहेको ती अर्थबिज्ञहरु उल्लेख बताउँदछन् । उनीहरु भन्दैछन्–चीनको ८ प्रतिशत र त्यसभन्दा बढीका ती दिनहरुलाई बिर्सिदेऊ । अब चीनको अर्थ ब्यवस्था  ६ प्रतिशतभन्दा पनि कम बढ्ने उनीहरुको अनुमान छ 
यसभन्दा पनि अझ नराम्रो कुरा उनीहरु के भन्दैछन् भने चीन अहिलेसम्म यस्तो आर्थिक मोडेलमा फलिफुलिरहेको र बिकसित भएको हो जुन लगातार बढ्दो लगानीको कारण बन्यो । जति बेला चीनको अर्थब्यवस्थामा गिरावट आयो अधिकारीहरुले ठूलो स्तरमा लगानी जारी गर्दिए जसबाट स्टिलदेखि लिएर घरेलु सामानसम्म हर चीजको नयाँ माग पैदा हुन गयो ।
ती अर्थबिदहरुको भनाइ छ यो मोडेलले अब आफ्नो अन्त्य देखिसकेको छ । क्षमता निर्माणमा लगानि बढाउन अब सम्भव छैन । किनभने बर्षभरीमा पहिला नै बढी क्षमता बनाइ सकिएको छ । नयाँ क्षेत्रमा नयाँ शहर खडा भएका तर खालि रहेका छन् । सम्पूर्ण आबास क्षेत्र(हाउजिङ्ग कोलोनी)हरु सुनसान हुन पुगेका छन् र प्रायःजसो प्रबद्र्धनकर्ता कम्पनीहरु गहिरो ऋणमा डुब्न पुगेका छन् र त्यो ऋण तिर्न अब उनीहरु सक्षम छैनन् भनिदैछ।
ती अर्थबिद्हरु भन्छन्– चिन्ता बढाउने कुरा के छ भने शी जिनपिङ्गको नेतृत्वमा चिनीयाँ कम्युनिष्ट पार्टी कर्पोरेट समेत हरेक कुरामाथि पार्टीको आधिकार सुनिश्चित गरिरहेको छ । उद्यमीहरुलाई धम्की समेत दिइने गरेको छ र कतिपय चिनीयाँ कम्पनीहका मूख्य कार्यकारीहरु बेपत्ता पनि भइरहेका छन् । त्यस्ता आधिकारिक कदमहरुले चीनमा उद्यमशीलताको भावनाको घाँटी निमोठिएको उनीहरु दोष देखाउँदैछन् र भन्दैछन् कि ती कदमले चिनी प्रौद्योगिकीलाई सबैभन्दा नराम्रो किसिमले प्रभावित तुल्याएको छ, जहाँ कतिपय प्रमुख प्रबर्तकहरुको छट्नी गरिएको छ र तिनको पहललाई रोकिएको छ ।
समग्रमा अर्थबिदहरु के भन्दैछन् भने अहिले हामी जे देखिरहेका छौ त्यो  दुबै आर्थिक महाशक्तिहरु केही गम्भीर सरचनात्मक समस्याहरुको सामना गरिरहेका छन् जसको समाधान सजिलैसँग हुनेवाला छैन । त्यसको संयुक्त आर्थिक प्रभावले बिश्व अर्थब्यवस्थामा र २०२४ अनि त्यसपछिको बिकासका सम्भावनाहरुका लागि समेत ठूलो अर्थ राख्दछ ।
यीमध्ये कुनै पनि  अप्रत्याशित घटनाले बित्तीय बजारमा प्रतिकृया उत्पन्न गर्न सक्तछन् र त्यसको परिणामस्वरुप ठूलो स्तरमा धनको प्रबाह हुन सक्त । अमेरिकामा अनिश्चितताको परिणामस्वरुप उदाउँदा र बिकासशील अर्थब्यवस्थाहरुबाट धनको निकासी अर्थात पूँजी पलायन हुनेछ । त्यस प्रकारको पूँजी उडानको बिदेशी मुद्राबजारको माध्यमले बिकासशील देशहरुको अर्थब्यबस्थामा कयौ गुणा धेरै प्रभाव पर्न सक्तछ र अन्तिम परिणाम आर्थिक मन्दी नै हुनेछ ।
आशा गरौं कि यस किसिमको डर फैलाउनु केवल चंगा उडाउनु जस्तै होस् र यस्ता कुरा कहिल्यै प्रकट र प्रभावकारी नहुन् । तर आत्मसन्तुष्टी हुनुभन्दा राम्रो के हो भने चूनौति र खतराका बारेमा राम्रो जानकारी प्राप्त होस् र स्थिति बेलैमा सम्हालिने उपायको खोजी होस् । बिगतका कुरा हेर्ने हो भने आखिर बिलम्बका कारण कोभिड महामारीको समस्या झन कठिन र जटील हुन पुगेको थियो । त्यसैले गम्भीर र गहनरुपमा सोचेर उदाउँदा बिकासशील अर्थब्यवस्थाहरुलाई दुइ आर्थिक दिग्गजहरुका अर्थब्यवस्थाका खराबी र स्खलनको प्रभावबाट के कसरी जोगाउन र अघि बढाउन सकिन्छ त्यतातिर ध्यान केन्द्रित गर्नु फलदायी हुनसक्ला !