काठमाडौँ । युगाैं पुराना नेपालका महान कला शिल्पी अरनिकोको निधन भएको दिन पारेर पौष २३ गते विभिन्न कार्यक्रम गरी प्रत्येक वर्ष अरनिको स्मृति दिवस मनाउने गरिन्छ । सन् १३०६ मा ६३ वर्षको उमेरमा कलाकार अरनिकोको चीनमा निधन भएको थियो ।
नेपालबाट चीन गएर नेपाली कला र संस्कृतिलाई विदेशमा प्रचार गर्ने उनको जीवनीकाे गहिरो खोज एवं अनुसन्धान अझै राम्राेसँग हुन सकेको छैन । उनको सन् १२४४ मा पाटनमा जन्म भएको इतिहास छ । उनले चीनमा गएर आफ्नो कलाकौशलकाे माध्यमबाट स्वदेशी वास्तुकलाको विदेशमा प्रचार र प्रबर्धन गरेका थिए ।
ती कला बिशेषअरनिकोको नेतृत्वमा नेपालबाट चीनतर्फ गएका कलाकारको समूहले सन् १२७१ मा चीनको राजधानी बेइजिङको मध्यभागमा करीब आठ वर्षको समयावधिमा प्यागोडा शैलीमा श्वेत चैत्यको निर्माण गरेको इतिहास छ । त्याे प्रसिध्द सम्पदा अहिले पनि महत्वपूर्ण पर्यटकीयस्थलका रुपमा जीवन्त रहेकाे छ ।
हाम्राे देशमा करीब ७०० वर्ष अघि विभिन्न धातुमा रसायनको प्रयोग गर्न सकिने अवस्था बिकसित रहेकाे र देशको प्राविधिक, कूटनीतिक, व्यापारिक अवस्थालाई आङ्कलन गर्न सकिने भएकाेले तत्कालीन समयमा तामा, पित्तल, काँच लगायत धातु बनाउन सक्ने हाम्रा पूर्वजका ज्ञान र शिपलाई अध्ययन अनुसन्धान गर्ने गराउने काम राज्यले यूवारहरू मार्फत गराउनु पर्दछ र, अहिलेको पुस्ताले त्याे ज्ञान पुन हासिल गरेर जीबित तुल्याउनु गर्छ ।

तत्कालीन अबस्थामा अरनिकोकाे कला निर्माणका शैलीबारे जानकार रहेका चीनका सम्राट कुब्लाइ खाँका गुरु पाहसपाले अरनिकोको नेतृत्वमा ८० जना नेपाली कलाकारलाई चीन जाने व्यवस्था गरेको इतिहास रहेकाे पाइन्छ । ज्योतिष विज्ञानसमेत जानेका कलापारखी अरनिकोले नेपाली वास्तुकला र नेपाली कलाकारितालाई तिब्बत, बेइजिङ, उथाइसान, भित्री मङ्गोलिया लगायत स्थानमा स्वदेशी मौलिकताका आकर्षक मन्दिर, चैत्य, गुम्बा तथा मूर्ति निर्माण गरेर प्रख्यात भएका थिए।
बस्तुतः उनी प्यागोडा शैलीको मन्दिरहरु निर्माण गर्ने एक नपुण र दक्ष कलाकार हुन् । उनको वास्तविक नाम बलबाहु भए पनि अरनिको नामले परिचित भएपछि चीनक बादशाहले उनलाई क्वान्ह्यु नाइफ र नासथु उपाधि दिएका थिए । उनी र उनको समूहले वास्तुकलाको माध्यमबाट निर्माण गरेका कला, कृति र सम्पदाले नेपाल र चीन दुई देशबीचको सम्बन्धलाई बलियो बनाउनाका साथै सांस्कृतिक धरोहरका रुपमा संरक्षण गर्न महत्वको भूमिका खेलेकाे देख्न सकिन्छ ।
त्यति बेला सुनको जलप भएका मूर्ति बनाउने, प्राचीन मूर्तिलाई जीर्णोद्धार गर्दा स्वदेशी शैलीको प्रयोग, नेपाली शैलीका बुद्ध मूर्ति, देवदेवी, पौभा चित्रको विकासमा योगदान गरेको उक्त समूहले बौद्धधर्मका विभिन्न कृति तिब्बतमा पु¥याएको विश्वास छ ।
दुइ देश नेपाल र चीनक बीच मैत्रीपूर्ण एवं सांस्कृतिक सम्बन्धको प्रतीक बनेको श्वेत चैत्यलाई चीन सरकारले राष्ट्रिय अमूल्य सांस्कृतिक सम्पत्तिको रुपमा घोषणा गरेको छ । नेपाल ती महान बास्तुकलाबिदप्रति उच्च सम्मान छ ।
नेपालपत्र संवाददाता