शनिबार, कार्तिक ८ गते २०८३

आज सोभियत संघ स्थापनाको १०१ वार्षिकी

पौष १४, २०८० शनिबार
आज सोभियत संघ स्थापनाको १०१ वार्षिकी
Rambindu.jpg
रामबिन्दू श्रेष्ठ
३० डिसेम्बर , सोभियत संघ स्थापना भएको १०१ वर्ष पुग्यो। सोभियत संघ को गठन मानव सभ्यता कै यौटा नवीन घटना थियो र त्यो नयाँ सामाजिक मूल्य र मान्यता स्थापना गर्ने सम्भवत प्रथम व्यवस्थित शुरुआत थियो । विश्वमा पहिलो पटक जाती, राष्ट्र र राष्ट्रियताहरुले वास्तविक स्वतन्त्रताको अभ्यास यसै दिन देखि शुरु गरेका थिए।
डिसेम्बर 29, 1922 मा, रूसी समाजवादी संघीय सोभियत गणतन्त्र, युक्रेनी समाजवादी सोभियत गणतन्त्र, बेलोरुसियन समाजवादी सोभियत गणतन्त्र र ट्रान्सककेशियन समाजवादी संघीय सोभियत गणतन्त्रहरुले "सोभियत संघ" गठन गरी यौटै संघमा समाहित हुने संझौतामा हस्ताक्षर गरेका थिए ।
डिसेम्बर 30, 1922 मा, प्रथम सोभियतहरूको अखिल - युनियन कांग्रेसले सोभियत समाजवादी गणतन्त्रहरूको संघको गठनलाई अनुमोदन गर्‍यो।
त्यसको लगत्तै, उज्बेकिस्तान र तुर्कमेनिस्तान सन् १९२५ मा, ताजिकिस्तान १९२९ मा, कजाखस्तान र किर्गिजिस्तान सन् १९३६ मा र माल्डाभिया सन १९४०मा सोभियत संघमा सामेल भए।
राष्ट्र राष्ट्र बीच भाइचारावाद पैदा गराएर विभिन्न देशहरूलाई यौटै संघमा समाहित गर्नै ; विविध भूगोल का जनताहरूमा भातृत्व र मानवीयता सञ्चार गर्ने त्यो शक्ति नै सोभियत शक्ति थियो ।
सोभियत दर्शनले पन्ध्र राष्ट्रका नागरिकहरूलाई यौटै मार्गमा हिंडायो जातपात र राष्ट्रियता भन्दा उच्च सोभियत मान्छेलाई जन्मायो ।
यो सोभियत सभ्यताको विकास थियो।
ussr.jpg
........
सोभियत संघ अब छैन, त्यो अब संसारका मानिसहरूको संझनामा मात्र रह्यो ।
विश्वमै भाइचारावादको अनुपम नमुना बनेर खडा भएको पन्ध्रवटा गणराज्यहरूको संघ– सोभियत संघ फुट्यो ।
त्यो मुलुक जहाँ हामीले उच्चशिक्षा प्राप्त गर्यौ; त्यो सोभियत राष्ट्र, जसलार्ई राष्ट्रिय गानमा ‘स्वतन्त्र राष्ट्रहरूको अटुट अविनाशी संघ’ भनेर गाइन्थ्यो, त्यो विशाल देश जसले पृथ्वीको छ भागको एक भाग ओगट्थ्यो, अब विश्वको मानचित्रमा त्यहीरुपमा रहेन । नयाँ सोभियत मान्छे र नयाँ विश्व सभ्यताको निर्माण गर्ने उद्देश्यले स्थापित सोभियतहरूको देश केबल इतिहासमा सीमित भयो । .. अब सोभियत जीवनको त्यो युग समयभन्दा धेरै पछाडि छुट्यो ।
........त्यो कम्सामोलहरूले साइबेरियाको बैकालदेखि आमूरमम्मको रेलमार्ग निर्माणमा भाग लिएको; ती निकोलाई आस्त्रोभ्स्कीहरूले मानव जीवनको मूल्य मान्यताको लागि संघर्षको भट्टीमा होमिएर अग्निदीक्षा प्राप्त गरेको; गोर्की, शोलोखोभ, मायाकोभ्स्कीहरूले सामाजिक यथार्थवादको नयाँ साहित्य रचेको; मातृभूमिको रक्षार्थ साढे दुई करोड वीर–वीरङ्गनाहरूले त्याग र बलिदानको अनुपम नमुना प्रस्तुत गरेर महान् देशभक्ति युद्धमा जीवन अर्पेको; युद्धबाट क्षत विक्षत मुलुकलार्ई फेरि शून्यबाट उठाएर अन्तरिक्षको उचाइमा पुर्याएको.......त्यो देश अब वर्तमानबाट धेरै टाढा पुगिसक्यो ।
सोभियत संघ बाँकी विश्वभन्दा बेग्लै संसार थियो । त्यो दुनिँया अब रहेन । अस्सीपछिका पिँढीहरूमा त त्यो स्मरणमा पनि हुने छैन । विलुप्त प्रायः भैसकेको सोभियत जीवनबारे कसैले यस्तो लेखेको पनि पाएँ ।
अर्को २५–३० वर्ष बित्नेछ र ः
‘... सोभियत कालमा साधारण मानिसहरूले
सित्तैमा अर्पामेन्ट प्राप्त गर्दथे,
औषधोपचार पूर्ण निःशुल्क हुन्थ्यो,
निःशुल्क शिक्षाको व्यवस्था थियो .......’
भन्ने कुराहरू शानदार दन्त्यकथाको रुपमा लिइनेछ ।
सोभियत संघ स्थापनाको शतवार्षिकी प्रति समर्पित हालै विमोचित "मेरा सोभियत सम्झनाहरू " त्यो मुलुक जहाँ म जस्तै एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका लाखौँ विद्यार्थीहरूले अध्ययन गर्यौँ, त्यसप्रतिको सानो कृतज्ञता हो ।
 
साभार : रामबिन्दू श्रेष्ठजीकाे मुहारपुस्तिका
 
 
Comment