बुधबार, भाद्र ३ गते २०८३

अभियानले बिराएको बाटो : एकातिर सहकारी आर्दश, फरक व्यवहारकाे पाटाे

पौष ५, २०८० बिहीबार
अभियानले बिराएको बाटो : एकातिर सहकारी आर्दश, फरक व्यवहारकाे पाटाे

 

मानिस चेतनशील मात्र नभई विकाशसील प्राणी हो । उसले निरन्तर विकास र सम्वृद्धिको सपना नदेख्ने हो भने जुनसुकै राज्यका सबै क्षेत्र सुख्खा मरुभूमि जस्तो हुन्छ। जहाँ नयाँ सृजनाको परिकल्पना पनि हुँदैन । सबै खालका जीव जीवात्माहरुको जीवनको सुनिश्चितता रहँदैन् र त्यहाँ निश्चित प्रजातिका प्राणी र वनस्पतिको मात्र जीवन रहन सक्दछ । जसले गर्दा त्यस्तो ठाउँमा कुनै परिवर्तन हुन सक्दैन । त्यसैले मानिसले आर्थिक, सामाजिक, साँस्कृतिक र वातावरणीय क्षेत्रमा आफुलाई अध्ययन, अवलोकन, अनुसरण र अनुभवका लागि चासो राख्ने, चिन्ता गर्ने र अभ्यास गर्ने गराउने कामलाई निरन्तरता दिई रहेको हुन्छ ।

मानिसको त्यही परिवर्तनको चासो र चिन्ता भित्र रोबर्ट ओवेन (१७७१—१८५८) ले सहकारीको सपना देखे । पछि जर्मनी नागरिक Friedrich Wilhelm Raiffeisen (१८१८—१८८८) भने सहकारीको Cooperative Pioneer बने । कुनै एक जना व्यक्तिले देखेको सपनाले विश्वलाई एकै सुत्रमा बाँध्न सक्छ र नागरिकहरुको वित्तीय स्वतन्त्रताको उपचारको अचूक औषधीको रुपमा फैलन सक्नु सामान्य कुरा कदापि हुन सक्दैन ।

त्यही एकताको सुत्रमा बाँध्दै नेपालमा व्यप्त गरिबी, अशिक्षा, बेरोजगारी र आर्थिक असमानताको भूमरीबाट आम नेपालीलाई बाहिर ल्याउन वि.स. २०१३ सालमा नेपालमा पनि सहकारीको बिजारोपण भयो । अहिले देशमा हजारौ सहकारी संस्थाहरु स्थापन भई सक्रिय छन् भने आज हाम्रो सहकारी अभियानले ६७ वर्ष पूरा गर्दैछ ।

हामीले सहकारी अभियान भनेको धेरै सुन्यौं, धेरै चर्चा परिचर्चा पनि गर्‍यौं । सामाजिक र आर्थिक न्यायका लागि सामाजिक पूँजी निर्माण गर्नु पर्दछ र त्यही पूँजीको परिचालन गरी समाजमा रहेको आर्थिक असमानतालाई न्यूनीकरण गर्दै लैजानु पर्दछ भन्ने कुरामा बहस चलायौं । सहकारी अभियानमा लाग्नका लागि नागरिकहरुलाई उत्साहित गर्‍यौं, संगठित पनि गर्‍यौं । फलस्वरुप: लाखौलाख मानिसहरुलाई सहकारी अभियानमा जोड्यौं । लाखौलाई स्वरोजगार बनायौं । हजारौ रोजगारी सृजना गर्‍यौं । हजारौ नेतृत्व विकास गर्‍यौं ।  समग्रमा भन्दा धेरै न्यून आयस्तरका मानिसहरुको जीवनस्तर परिवर्तन पनि गर्‍यौं । राज्यको अर्थतन्त्रको तीन खम्बा मध्येको एक खम्बाको रुपमा सहकारी अभियानलाई उभ्याउन पनि सफल भयौं ।

तर, आज हाम्रो सहकारी अभियानमा केही गलत आचरण र व्यवहार भएका मानिसहरुको प्रभावले अभियान नै सर्वत्र निन्दा र शंकाको घेरामा परेको छ । कतै हामीले अभियानको वास्ताविक अर्थ नबुझेको कारण यस्तो भई रहेको त छैन ? यो प्रश्नको उत्तर खोजी गर्नु पर्ने बेला आएको देखिन्छ । वास्तवमा अभियान भन्नाले कुनै राजनीतिक वा सामाजिक परिवर्तन हासिल गर्नका लागि निश्चित अवधिमा गरिने कार्यको योजनाबद्ध ढाँचा (A campaign is a planned set of activities that people carry out over a period of time in order to achieve something such as social or political change) भन्ने बुझिन्छ तर अहिले हामी सहकारीमार्फत् कस्तो अभियान सञ्चालन गर्दैछौं भन्ने कुरा हामीलाई नै थाहा छैन कि भन्ने अनुभूति बढ्दै गएको छ।

हामीले के का लागि सहकारी सञ्चालन गरेका छौं ? यस प्रश्नको उत्तरमा अहिले विविधता छ । मैले सहकारीको व्यवस्थापनमा संलग्न भई सेवा गर्दा प्राप्त गरेका केही अनुतरित प्रश्नहरु आज पनि मेरो मानसपटलमा कुदिरहेका छन् । सायद तपाईलाई पनि यी प्रश्नले केही जिज्ञासा पैदा गराउँला । एकजना २२—२५ वर्षको भाइसंग परिचय भयो, मैले ६ वर्ष अर्काको अण्डरमा बसेर काम गरे जीवनमा केही प्रगति भएन त्यसैले अहिले आफैंले एउटा सहकारी किनेर आफैं अध्यक्ष भएर मज्जाले चलाई रहेको छु, अहिले आनन्द छ । अहिले त्यो सहकारी संस्थाले सदस्यको बचत फिर्ता गर्न सकेको छैन । अर्को एउटा सहकारी संस्थालाई स्तरीकरण कार्यक्रममा सहभागी हुनुपर्‍यो, संस्थालाई संघले सघाउँछ भनेर प्रस्ताव गरेँ । संस्थाका अध्यक्षले भन्नु भयो—हामी सबै सञ्चालकहरु सरकारी सेवाबाट निवृत्त कर्मचारी हौं । निवृत जीवनमा के गर्ने भन्दा यसो साथी भाईसंग भेटघाट गर्ने चियाखाने मेसो हुन्छ भनेर यो सहकारी संस्था खोलेको हौं, संस्था ठूलो बनाउँला, अभियान चलाउँला, नेता बनौंला भनेर यो संस्था खोलेको होइन । त्यही भएर यस्ता कार्यक्रममा हामीलाई बस्नु छैन । अहिले त्यो संस्था पनि संकटमा छ ।

अर्को एउटा ठूलै संस्थालाई स्तरीकरण कार्यक्रमका लागि सल्लाह गर्नु पर्‍यो भनेर धाएर व्यवस्थापकलाई भेट्न गएँ । रिसेप्सनबाट आज उहाँ व्यस्त हुनु हुन्छ भेट्न मिल्दैन भन्ने जवाफ पाएँ । अहिले त्यो संस्था बन्द छ । एक दिन काठमाडौंमा अर्को एक जना अभियन्तासँग भेट भयो । कुरा हुँदै जाँदा उहाँले भन्नु भयो–ससुराबुबा शिक्षकबाट निवृत्त हुनु भयो उहाँको लागि एउटा सहकारी किनेर चलाई दिएको छु । अहिले त्यो सहकारी संस्था पनि समस्यामा परेको सुन्छु । अर्को सहकारीका अध्यक्षसँग परिचय भयो सहकारीको संघमा काम गर्छु भन्दा उहाँले सुनाउँदै हुनुहुन्थ्यो धेरै राम्रो क्षेत्रमा हुनुहुँदो रहेछ खुशी लाग्यो, आफु त शिक्षा क्षेत्रमा लागेर बर्बाद गरिएछ, बरु अहिले छोराले सहकारी किनेर चलाउँदै छ उसको भने राम्रो प्रगति छ । अहिले त्यो सहकारी पनि बन्द भएको छ, छोरा फरार हुनुहुन्छ, बाबु डिप्रेसनमा ।

अर्को एकजना साथीले एकदिन सुनाउँदै थिए तँ संगै सहकारीमा लागेको फलाना फलाना साथीहरुको यत्रो प्रगति भई सक्यो तेरो खै त प्रगति ? अहिले उसले नाम लिएका ति साथीहरु गुमनाम छन् । अर्को एउटा संस्थाको एकजना अभियान्ताले मुक्त कण्ठले प्रशंशा गर्नु भयो—यो सहकारी पूर्ण समुदायमा आधारित र सदस्य केन्द्रित छ, खै उहाँले के बुझेर भन्नु भयो थाहा छैन उहाँले त्यसो भनको ३ महिना जति पछि त्यो संस्था पनि समस्यामा गयो । अर्को एउटा सहकारीमा एक जना सहकारी अभियान्ताले सहकारी संस्था सुसंस्कृत भएको, व्यापक रुपमा पूँजी संकलन गरेर ठूलो कारोबार सञ्चालन गरेको, ठूलो भवन बनाएर कार्यालय स्थापना गरेको लगायतका कुराहरु हेरेर एक आगन्तुक पुस्तिकामा कृतज्ञता व्यक्त गर्नु भएको रहेछ, अहिले त्यो संस्था पनि बन्द भएको छ ।

यी केही प्रतिनिधि घटनाहरु हुन । सम्झदैं जाँदा यस्ता अनगिन्ती अनुत्तरित प्रश्नहरु मानसपटलमा तँछाडमँछाड गरेर मडारिइरहन्छन् र मनमा अर्को प्रश्न उब्जन्छ के हामीले सहकारी यस्तै कामका लागि सञ्चालन गरेका हौं ? यसको उत्तर कसले दिने ? रुपैयाको, पैसाको परिचालनलाई यसरी सामान्यीकरण गर्नु नै हामी सहकारी अभियानबाट च्यूत हुँदै गएको प्रमाण होइन र ?

सहकारी अभियान वित्तीय पहुँचको बाहिर रहेको मानिसहरुलाई आर्थिक कृयाकलापमा जोड्ने र समान आयश्रोत भएका मानिसहरुको उन्नयनको पवित्र थलो हो । यो नीजि व्यवसाय होइन । राजनीतिक, साँस्कृतिक, लैङ्गिक, जातिय, धार्मिक वा अन्य कुनै पनि किसिमको विभेदको प्रभाव सहकारी अभियानमा पर्नु हुदैन यो नै सहकारीको आर्दश हो । सहकारीका सिद्धान्तहरुको पालना र कार्यान्वयन गर्नु हाम्रो प्रमुख उत्तरदायित्व हो ।  के हामीले हाम्रो सहकारी आर्दशलाई जोगाएका छौं त ? एक पटक समीक्षा गरौैं ।

हो, सहकारीमार्फत् प्रत्येक सदस्यको आर्थिक तथा सामाजिक जीवन रुपान्तरण गर्ने नै हो । यसमा कसैको विमति छैन तर सहकारीमा लागेका केही मानिसहरुको तडकभडक एवम् सम्भ्रान्त जीवनशैली, सुशासनको पालना नगर्ने तर अरुलाई सुशासनको पाठ पढाउने, अरुलाई निर्देशन दिनमा आफ्नो उँचता देख्ने र त्यसैमा रमाउने, जताबाट पनि आफु र आफ्ना केन्द्रित व्यक्तिहरुको लाभको सपना देख्ने, हैकमवादी परम्परालाई जोगाएर राख्ने प्रवृत्ति कदापि सहकारी आर्दश र सहकारी सँस्कृति हुन सक्दैनन् । यसको संरक्षण गर्नु पनि हुँदैन ।

परेको बेलामा एकले अर्कोलाई सहयोग गर्ने, एकले अर्कोलाई आदरपूर्वक व्यवहार गर्ने, पद र भूमिका जे भए पनि सबैलाई जिम्मेवार देख्ने र सोही अनुसारको व्यवहार प्रर्दशन गर्ने, पदमा रहँदा पनि नरहँदा पनि सदैव अभियानको हित चिताउने, सके सहयोग गर्ने नसके असहयोग नगर्ने, खुशी र सुखी हुने तर सामान्य जीवनशैली अपनाउने, वित्तीय सुशासनलाई आफ्नो जीवनको आर्दश मान्ने, सबैको हितको विषयमा चिन्तन गर्ने, संस्था भित्र आफुलाई अलग्गै सेवा सुविधाका विषयमा नसोच्ने, अभियानले गरेको असल अभ्यासहरुको अनुशरणलाई आफ्नो सबै भन्दा ठूलो कर्तव्य मान्ने र सहकारी अभियान आफ्नो लागि नभई सहकारीमा आवद्ध सदस्यहरुको जीवन परिवर्तनका लागि हो भन्ने कुरामा विश्वास गर्नु नै सहकारी अभियन्ताको सहकारी व्यवहार हो । सहकारी अभियानमा को उँचो ? को निचो ? सबैलाई समान बनाउने महान अभियानको रुपमा विश्वव्यापी सञ्जालीकृत हुँदा के हामीले सहकारी व्यवहार निर्वाह गरेका छौं त ?

हामीले सहकारीमार्फत् धेरै काम गरेको छौं, तर हाम्रा सहकारीका आदर्श र व्यवहारका कारण आज हामीमा प्रश्न उब्जिएको छ । हामी माथि उब्जिएको प्रश्नले सहकारी अभियानमा चोट पुगेको छ । हामीले निर्मम समीक्षा गर्ने बेला आएको छ । हामीले सुधारिनु पर्ने बेला आएको छ । फेरी एकपटक आफ्नो लागि मात्र होइन अर्काको लागि पनि बाँच्ने संकल्प लिनु पर्ने बेला आएको छ । धुमलिएको सहकारीको छविलाई संग्लो बनाउनका लागि एकाकार हुने बेला आएको छ । आम सदस्यहरुमा गुम्दै गएको विश्वासमा क्षति हुन नदिन जागरण गराउने बेला आएको छ । अभियानमा गलत गर्ने प्रवृत्तिहरुको विरुद्धमा निर्मम निर्णय लिई असल नियतले सञ्चालन गर्ने सहकारीहरुको संरक्षणमा आफ्नो बलियो उपस्थिति प्रर्दशन गर्ने बेला आएको छ । आर्थिक परिचालनमा भएको सामान्यीकरणलाई सदस्यको आर्थिक सशक्तिकरण तर्फ डोर्याउने बेला आएको छ । सहकारी जस्तो सुकै बेलामा पनि सबल र सक्षम हुन्छन भन्ने व्यवहारको प्रर्दशन गर्ने बेला आएको छ ।

यसका लागि धेरै केही गर्नु पर्दैन । खाली हामी अभियानमा साझा धारणा बनाऊ, जिम्मेवारी र भूमिकाको उपयुक्त बाँडफाँड गरौं । अर्काको अस्तित्व सहर्ष स्वीकार गर्दै एक अर्कालाई परिपूरकको रुपमा ग्रहण गरौं । अभियानका साझा एजेन्डा र अभियानका साझा उद्देश्यहरु बनाउँ र त्यसैका लागि काम गरौं । आफ्नो जीवन चलाउन र जीवन सुर्धान होइन्, आम सदस्यहरुको जीवन परिर्वतन गर्न काम गछौं भन्ने संकल्प उठाऔं । अब फेरी पनि सहकारी आर्दश र व्यवहारलाई नभूलौं ।