काठमाण्डौ । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गएको अक्टोबर ७ तारिखयता युद्ध शुरु भएदेखि अहिलेसम्म १९,६६७ जना प्यालेस्टिनीहरु मारिएका जनाएको छ । युद्धमा मारिनेको पछिल्लो सङ्ख्या सामाजिक सञ्जालमा खुलाउँदै स्वास्थ्य मन्त्रालयले थप ५२,५८६ व्यक्ति घाइते भएका पनि जनाएको छ।त्यस क्षेत्रमा लडाइँ रोक्न अन्तर्राष्ट्रिय रूपमा तीव्र दबाव परिरहेका बेला मृत्यु हुने र घाइते हुने मानिसको ताजा सङ्ख्या सार्वजनिक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले औंल्याएका छन् ।
गएको अक्टोबर ७ हमासका बन्दुकधारी लडाकुहरुले दक्षिणी इजरेलमा गरेको हमलायता इजरायले त्यो क्षेत्रमा बिध्वंशकारी बम बर्षा गर्न थालेकोे युद्धको अहिलेसम्म १० साता बितिसकेका छ।पछिल्लो समय दक्षिणी गाजास्थित रफाहमा बस्ने सर्वसाधारणले इजरेलको भारी बमबारीका कारण त्यहाँको जीवन कस्तो छ भन्नेबारे पीडादायक कुरा सुनाएका छन्।
प्यालेस्टिनी जिहाद जुरोबले सञ्चारसंस्था एएफपीसँग बोल्दै भनेका छन् – “ठूलो विस्फोटनको आवाज सुन्दा हामी सुतिरहेका थियौँ।”गाजा शहरबाट आन्तरिक रूपमा विस्थापित भएका उनले आफूले चमत्कारले मृत्यु छलेको र लुगा राख्ने ठाउँबाट आफूहरूको उद्धार भएको बताए। उनले सुरक्षाका लागि दक्षिणी क्षेत्र छोडेको भए पनि गाजामा जताततै बमबारी भएका कारण कतै पनि सुरक्षित ठाउँ नरहेको बताए।
गाजा सहरबाट विस्थापित भएका अर्का व्यक्ति मोहम्मद जुरोबले हमलापछि इँटाहरू आफूमाथि खसेपछि ब्युँझिएको बताए। “मेरो शरीरमा जताततै चोटहरू छन्, मेरो खुट्टा यस्ता चोटहरूले भरिएका छन् ।’’हमलामा ज्यान गुमाउनेमा काका, काकाका सन्तानलगायत रहेको उनले बताए। “मैले यहाँ आफ्नो परिवारका नौजना गुमाए,” उनले पीडा पोखे ।

सुरक्षा परिषद्मा दोश्रो पटक छलफल हुने
यसै बीच गाजामा युद्धविराम गर्नेबारे संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा मतदान हुनुअघि जिनिभामा सहायता निकायहरूले बालबालिकासहित सर्वसाधारणले भोगिरहेको पीडाप्रति एक पटक फेरि आफ्नो आक्रोश र निराशा व्यक्त गरेका छन् । राष्ट्रसङ्घको सुरक्षा परिषद्मा गाजामा युद्धविरामबारे दोस्रो पटक मतदानको तयारी भइरहेको छ। यसअघि भएको मतदानमा अमेरिकाले भिटो प्रयोग गरेको थियो।
विश्व स्वास्थ्य सङ्गठनकी मार्गरेट ह्यारिसले आक्रोश पोख्दै भनिन्, “विश्वले यस्तो काम हुन दिइरहेको छ भन्ने नै विश्वास गर्नै नसकिने कुरा हो, यो अनुचित हो।’’ विश्व स्वास्थ्य सङ्गठनले गाजामा मुस्किलले एक तिहाइ अस्पतालहरू अझै सञ्चालनमा रहेको र तिनीहरूले एकदमै कम सेवा दिन सकिरहेको बताएको छ।ह्यारिसले गाजामा रहेका आफ्ना सहकर्मीहरूसँग त्यहाँ आफूले देखेको भयावह अवस्था व्याख्या गर्न शब्द नै नभएको बताइन्।