काठमाडौं । देशकाे विदेशी मुद्रा आर्जनको प्रमुख श्राेत वैदेशिक रोजगारी भए पनि वैदेशिक रोजगारीकै क्रममा निधन भएका करिब १३ हजार नेपालीको कथा भने स्वयममा दुःखलाग्दो छ।यसलाई वैदेशिक रोजगारीको अँध्यारो पाटोका रूपमा लिने गरिएको छ। वैदेशिक रोजगारीमा गएकामध्ये करिब १३ हजार नेपालीले ज्यान गुमाइसकेका छन्।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अनुसार आर्थिक वर्ष २०६५ को कात्तिकदेखि चालु आव २०८०–८१ को मंसिर २६ गतेसम्म १२ हजार ७ सय ३० जना कामदारको वैदेशिक रोजगारको क्रममा मृत्यु भएको छ भने वैदेशिक रोजगारीमा गएका युवाको दैनिक औसत तीन जनाको शव आउने गरेको छ।
ती मृतक कामदारका परिवारलाई बोर्डको कल्याणकारी कोषबाट ४ अर्ब ९३ करोड ६६ लाख ६९ हजार रूपैयाँ प्रदान गरिएको छ। सो अवधिमा २ हजार ८ सय ६९ जना बिरामी र अंगभंग भई नेपाल फर्किएका छन्।
लामो समयदेखि विदेशमा मृत्यु र अंगभंग भएका नेपालीको संख्यामा बढ्दै गएको छ। बिदेसिएका कामदारको मृत्यु भए बोर्डले ७ लाख रूपैयाँ दिने गरेको छ।सरकारले मृतक वा अंगभंग हुनेहरूको सहायताका लागि कल्याणकारी कोष स्थापना गरेको छ।
वैदेशिक रोजगारमा जाने कामदारको मृत्यु, छात्रवृत्ति, अंगभंग बिरामीको अवस्था हेरेर बोर्डले कल्याणकारी कोषबाट आर्थिक सहायता प्रदान गर्ने गरेको छ। यसबीच वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषले हालसम्म ५ अर्ब ५१ करोड २९ लाख ६० हजार ३ सय १७ रूपैयाँ सहायता शीर्षकमा खर्च गरेको छ।
अहिलेसम्म बिरामी तथा अंगभंग भएका कामदारलाई ६५ करोड १३ लाख ६५ हजार ३ सय १७ रूपैयाँ बोर्डले कल्याणकारी कोषबाट खर्च गरेको छ।संकलित सोही रकमबाट वैदेशिक रोजगार बोर्डले मृतक, गम्भीर बिरामी र अंगभंग भएकाहरूका लागि सहायता उपलब्ध गराउँदै आएको छ।
वैदेशिक रोजगारीमा गएका युवाहरू मृत्यु वा अगंभंग भएको अवस्थामा उद्धार गर्ने प्रयोजनका लागि संकलित रकम खर्च गरिने बोर्डले जनाएको छ।सरकारले स्वदेशमा नै प्रत्येक व्यक्तिको दक्षता क्षमता र सिपका आधारमा सवै लाई कामको ग्यारेण्टी गरेमा नेपालीहरुले अनाहकमा ज्यान गुमाउनु नपर्ने वताउछन मृतकका आफन्तहरु।
नेपालपत्र संवाददाता