बुधबार, भाद्र ३ गते २०८३

भूकम्प पीडितलाई निष्पक्षरुपमा राहत प्रदान गर : राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपाल


कार्तिक २६, २०८० आइतबार
भूकम्प पीडितलाई निष्पक्षरुपमा राहत प्रदान गर : राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपाल

काठमाडौँ । राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालले एक बक्तब्य जारी गर्दै जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितलाई सहयोग गर्न आह्वान गरेको छ ।मोर्चाका संयोजक सन्तबहादुर नेपालीद्वारा २०८० कात्तिक २२ गते जारी वक्तव्यमार्फत सहयाेगका लागि आह्वान गरिएको हो । त्यस बक्तब्यम भनिएकाे छ : “जाजरकोटलाई केन्द्र विन्दु बनाएर यही २०८० कार्तिक १७ गते गएको भुकम्पले त्यो जिल्ला तथा त्यसका छिमेकी जिल्लाहरूमा समेत मानवीय तथा भौतिक क्षति हुन गएको कुरा प्रति राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । ६.४ मेग्नीच्यूटको भुकम्पबाट १५७ जना मानिसहरूको मृत्यु र करिब तीनसय जना घाइते भएको तथा सयौँ घर ध्वस्त र बस्न लायक नभएको भन्ने समाचार आएको भए पनि क्षति त्यो भन्दा बढी हुन सक्ने आशङ्का गरिएको छ । हाम्रो मोर्चा भूकम्पका कारण मृत्युवरण गर्ने नागरिकहरू प्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दछ र घाइतेहरूको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

त्यसमा थप भनिएकाे छ - भूकम्प प्रभावित क्षेत्रमा राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरू समेतले व्यापक भ्रमण गरेका छन् । भूकम्प पीडितहरूका लागि सरकार तथा सङ्घ संस्थाहरूले राहत तथा सहयोगको घोषणा पनि गरिरहेका छन् । तर त्यो राहत जनता समक्ष पुग्न नसकेको समाचारहरू पनि बाहिर आएका छन् । भूकम्प पीडित जनता खुला आकाश मुनी बस्न बाध्य भएका छन् । उनीहरूलाई खाद्यान्नको पनि अभाव देखिएको छ । सीमित ठाउँमा मात्र राहत पुगेको र धेरै ठाउँहरूमा जनता राहतलाई पर्खिएर बसेको र सरकारले समय मै राहत पुर्‍याउन नसकिरहेको गुनासाहरू आएका छन् ।

कार्तिक १७ को ठूलो भूकम्प र त्यसपछिका ठूलाठूला पराकम्पनले गर्दा कर्णाली प्रदेशका जनता कष्टकर जीवन जीउन बाध्य भएका छन् । हाम्रो मोर्चा यो प्राकृतिक सङ्कटलाई सामना गर्न सरकारले आवश्यक योजना बनाएर जनतालाई तत्काल राहत दिन नसकेकोमा दु:ख प्रकट गर्दछ र सरकारलाई तीव्र रुपमा स्वयंसेवक परिचालन गरी घरबास विहीन जनताको उद्धार तथा पुनर्स्थापनाका लागि सक्रियता देखाउन, निष्पक्ष रुपमा राहत वितरण गर्न, प्राथमिक आवश्यकतामाथि तत्काल ध्यान दिन, स्वास्थ्य उपचार गर्न र दीर्घकालीन रुपमा सुरक्षित बसोबासको व्यवस्था गर्न समेत जोडदार माग गर्दछ ।

वर्तमान सङ्कटको घडीमा हाम्रो मोर्चा आबद्ध सम्पूर्ण घटकहरू, सङ्घसंस्थाहरू, उद्योगपति, व्यापारी, धनी किसान, समाजसेवी सबैसित राहत सङ्कलन गरी पीडितलाई सहयोग गर्न हार्दिक अपिल गर्दछ ।”

बक्तब्यकाे पूर्ण बिवरण यस प्रकार छ :

Morchabhukampa.jpg