सूर्य जब अस्ताउँदछ, चन्द्रमा पनि जब लुकिसकेको हुन्छ तिनकै सहारामा प्रकाशित र शीतल प्रकाश पाउने पृथ्वीमा गहन अन्धकार छाउँन थाल्छ । अनि यस पृथ्वीका बासिन्दा मानिसले एउटा दीप बत्ती बालेर के सावित गर्न खोज्दछ भने उसको जीजीबिषा यत्तिको प्रवल छ कि उसले तमाम बिषम परिस्थितिसँग जुध्ने हौसला राख्दछ । अध्याँरो जतिसुकै निष्पट्ट किन नहोस् उसले रिमरिम मधुरो उज्यालोमा नै भए पनि आशा र अपेक्षाको दीयो बालेको छ । मानिसको यही दृढ इच्छाशक्तिको अप्रतिम प्रतीक हो दीपावली पर्व अर्थात तिहार ।
त्यसो त हरेक आमाबश्यकाे रात अँध्याराे अर्थात् कालरात्री नै हुन्छ र मानिसले शुक्ल पक्ष प्रारम्भ हुने चन्द्रमा उदयको दिन(जुन क्रमश बढेर पूर्ण हुन्छ र पूर्णिमा बन्छ)को खोजी गरिरहेको हुन्छ । तर दीपावली अर्थात् कार्तिक अमाबश्यका दिन यत्तिको उज्यालो फैलाइन्छ कि शायद सूर्य र चन्द्रमा पनि त्यो देखेर आश्चर्यमा पर्दा होलान् ! कुरा प्रतीकात्मक छ । तर सत्यभन्दा धेरै भिन्न छैन । दीपावली वास्तवमा तिमिर अन्धकारमाथि प्रकाशको बिजयको पर्व हो भनेमा अत्युक्ति हुँदैन ।
यद्यपि दीपावलीलाई लिएर बिभिन्न किसिमका पौराणिक कथाहरु जोडिएर आएका छन् र तिनका आफ्ना आफ्नै सुविधा, स्वार्थ तथा आनन्द अनुरुप बेग्लाबेग्लै अर्थ लगाइदै पनि आएको छ । तर पुराणको कुरालाई पञ्छाएर यथार्थ जीवनको तहमा उत्रिदा कथा कस्तो हुनसक्छ भने कयौं महिनाको अथक परिश्रम पछि जब किसानको बालीनाली भित्रिने बेला हुन्छ या भित्रिसकेको हुन्छ त्यति बेला केही समय पुनर्ताजगी र खुशीयाली या हर्षोल्लासका लागि पनि किसानले निकाल्ने गर्दछन् । त्यो खुशीको उज्यालोका लागि अन्धकार बाधक बन्दछ र त्यत्ति बेला दीपदानीहरु लहरै बालेर अन्धकारको बाधा हटाउने प्रयत्न गरिन्छ । अर्थात् किसानले अन्धकारको बिरुद्ध लड्ने सीप दर्शाउँदछन् । तर आजभोली कस्तो हुन थालेको छ भने समयको परिवर्तनसँगसँगै दीपावली पर्व, त्यसको उदेश्य, त्यसको सार्थकता पनि बच्न सकेको छैन अर्थात् लोप हुँदै गइरहेको छ । खेती किसानी जस्ता शब्दहरु किसानहरु जस्तै मूख्य धाराबाटबाट बाहिर निस्किसकेको छ र अनाकर्ष र किनारामा परिसकेको छ ।

त्यसैले दीपावली आजभोली दीपदानीहरुको होइन बिजुलीका बल्वहरुको पर्व हुन थालेको या भइसकेको छ । त्यसले गर्दा जोसँग बिजुली छ १४ घण्टा बिद्यूत आपूर्ति हुन्छ र बिद्यूत काटिएको बेलामा पनि डिजेलको सहयोगले जेनेरेटरबाट बिद्यूतीय प्रकाश निकाल्ने क्षमता हुन्छ आज दीपावली तिनकै हुँदै गएको या भएको छ ।बाकी जन साधारणका लागि भने त्यो रमिता हेर्ने बिषय बस्तु मात्र बन्छ या बन्दै गएको छ । वास्तवमा आधुनिक दीप पर्वमा केवल बिजलीका बल्बहरुको मात्र होइन बजारको पनि महत्वपूर्ण भूमिका हुन्छ र त्यसले नै प्रभावकारी भूमिका खेलिरहेको छ । पहिला पहिला साधारण किसानले आफुसँग बाँकी बचेको थोरैतिनो अन्नपात बेच्ने गर्दथे र जेजति आय हुन्थ्यो त्यसबाट थोरै खुशी मनाउने गर्दथे । तर अब त न अन्नपात नै त्यत्ति हुन्छ न बिक्री गरेर आय कमाउने कुरा नै त्यस्तो धेरै छ । त्यसैले दीपावली र लक्ष्मी पूजामा अब एक किसिमले ब्यापारीहरुको एकाधिकार बन्न गएको छ । आज त जो जति ठूलो 'लक्ष्मीपति' छ उसको लक्ष्मीपूजा त्यत्ति नै शानदार, उसका लेनदेनका उपहारहरु पनि त्यत्तिनै गहकिला र त्यत्तिकै तिनको किनबेच पनि चल्ने गरेको देखिन्छ । बाँकी बहुसंख्यक जनता त तिनै थोरै सम्पन्नहरुको शानमान हेर्ने गर्दछन् र दीपावली - धनकी देबी लक्ष्मी - को पर्व मनाउने गर्दछन् । आज यो किसानको साधारण जीजीबिषाको पर्व दीपावली धर्मान्धता, राजनीति, ब्यापार, बजार आदिको चक्रब्यूहमा परेर घुमिरहेको प्रतीत हुन्छ । यस चक्रब्यूहको घेराले गर्दा आम जन सधारणको जीवनमा अँध्यारो गाढा हुँदै गएको छ ।
त्यसैले, आजका नेपाली जन साधारणले केवल दीपावलीका दिन साझमा बत्ती बालेर अन्धकार हटाउने र आफ्नो जीजीबिषा दर्शाउने मात्रै होइन, यो जुन चक्रब्यूह छ त्यसको भेदन गरेर सुन्दर, समृद्ध र सुनिश्चित भबिष्यकाे जीवनका लागि राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक सबै क्षेत्रका अँध्यारा पक्षलाई सदाका निम्ति हटाएर अघि बढ्ने हौसला देखाउनु सक्नु पर्दछ । यसरी यसले के सावित गरिनु पर्दछ भने समाजका चाड पर्वहरु सबैका लागि खुशी, आनन्दका र उत्साहका निमित्त हुन् । त्यसैले सबै किसिमका बिघ्न बाधा र अप्ठयाराहरुलाई पञ्छाउँदै यस पटकको दीपावलीले यही यथार्थलाई घर घरमा पुर्याओस् र सबैतिर उज्यालो पार्ने बाटो खोल्ने आत्मचिन्तन गरोस् सम्पूर्ण नेपाली दिदी बहिनी र दाजुभाइहरुमा तिहारकाे यही शुभकामना !