शनिबार, कार्तिक ८ गते २०८३

मेरो सतही बुझाई र देखाइमा संयुक्त राज्य अमेरिकाको रोजगारी

कार्तिक १५, २०८० बुधबार
मेरो सतही बुझाई र देखाइमा संयुक्त राज्य अमेरिकाको रोजगारी
New York.jpg
 
ज्याेतिलाल बन
 
 
विगत
 
अमेरिकालाई पन्ध्रौं शताब्दीको उत्तरार्धमा कोलम्बसले पत्ता लगाए । त्यसपछि यस देशमा ब्रिटेनलगायतका यूरोपीयनहरु खुरु खुरु आए । मूलवासीहरुमाथि साम, दाम, दण्ड, भेद सवै प्रयोग गरे । कतिलाई मारे, कतिलाई दास बनाए र बाँकीलाई कुना काप्चामा थन्क्याए । ट्रान्सएटलान्टिक दास व्यापारका माध्यमबाट अफ्रिकी श्रमिकहरुलाई ल्याए, दास बनाए, गर्नसम्म चरम अमानवीय अत्याचार गरे, बेस्सरी काममा लदाए र उच्च विकासको पूर्वाधार खडा गरे ।
 
उन्नााइसौं शताब्दीको उत्तरार्धमा दास प्रथा खारेजीको घोषणा त गरे तर अफ्रिकी मूलका जनताहरुमाथि चरम तहको भेदभाव र अत्याचार जारी नै राखे । नाममा अरुकोभन्दा उच्च तहको डेमोक्रेसी लागु गरे । साम, दाम, दण्ड, भेदको आफ्नो फर्मुलालाई विश्वव्यापी बनाए । यसैका आधारमा विश्वको उच्च शक्तिशाली देश कहलिए ।
 
युगलाई उत्तरआधुनिकतातिर पुर्याउन, आर्थिकउदारिकरण र खुलाबजार प्रतिस्पर्धाको आधार तयार गरी विश्वव्यापीकरण गर्न अग्रणी भूमिका निभाए । संसारभरिका मानिसहरुलाई लोभ्याए र आफ्नो देशमा जसरी पनि आइपुग्ने जुक्ति निकाले ।
 
आप्रवासी श्रमिकहरुको श्रम र सीपको अत्यधिक प्रयोग गरी संसारका अरु देशलाई उछिन्ने गरी उच्च विकास गर्दै सामरिक, आर्थिक र कुटनीतिक विधि अपनाएर संसारलाई आफ्नो कब्जामा राख्न एक हदसम्म सफल भए ।
 
वर्तमान
 
यतिबेला सरसरती हेर्दा यो देश संसारभरिको फुलबारी जस्तै लाग्छ । आफूलाई खाँट्टि अमेरिकन ठान्ने यूरोपीय मूलका मानिसहरुभन्दा यहाँ अन्य देशका मानिसहरु पो बढी छन् कि जस्तो भान हुन्छ । यहाँ आप्रवासीहरुको औपचारिक आँकडा मिल्दैन । किनकि लुकुछिपी अवैधानिक किसिमले यो देशमा छिरेका विदेशीहरु निकै धेरै छन् ।
 
सरसरती हेर्दा यहाँ यूरोपीय मूलका गोराहरुपछि अफ्रिकी मूलका कालाहरु को संख्या दोस्रो तहमा देख्न सकिन्छ । त्यसपछि अन्य विदेशी मूलका मानिसहरुमा सवभन्दा बढी ल्याटिन अमेरिकी मूलका मानिसहरु देखिन्छन् । पहिले मेक्सिको लगायतका ल्याटिन अमेरिकी देशहरु स्पेनी उपनिवेश भएकाले यी मानिसहरु स्पेनी भाषा बोल्छन् । त्यसैले यिनिहरुलाई स्प्यानिस वा हिस्प्यानिस पनि भनिदो रहेछ । त्यसैले होला अमेरिकामा अंग्रेजीपछि स्पेनी भाषा दोस्रो सरकारी कामकाजको भाषा बनेको छ । शारीरिक सीप र श्रमसँग सम्बन्धित कामहरु गर्ने धेरैजसो श्रमिकहरु यिनिहरु नै देखिन्छन् । त्यसपछि भारतीय र चिनियामूलका मानिसहरु बढि देखिए । यी बाहेक नेपालीलगायत अन्य विदेशीहरु (बढिजसो एसियन) पनि बाक्लै देखिन्छन् ।
 
विद्युतीय सञ्चारप्रविधिको अत्यधिक विकास भएको यो देशमा यस सम्बन्धी विशिष्ठ प्राविधिज्ञहरु धेरैजसो भारतीय र अन्य विदेशीहरु रहेको जानकारी पाइयो । स्वास्थ्य क्षेत्र, विज्ञान प्रविधि तथा औद्योगिक क्षेत्र, कृषि उत्पादन तथा उद्योग, व्यापार वाणिज्य आदि सवै क्षेत्रमा आप्रवासी श्रमिकहरुकै वाहुल्यता रहेको अनुभव भयो । बाहिरी रुपमा हेर्दा यहाँ लोकतन्त्र, सामाजिकन्याय र मानव अधिकार राम्ररी लागु भएको देख्न सकिन्छ ।
 
अमेरिकामा काम गर्ने कामदारहरुको पारिश्रमिक दर निकै असमान छ । यहाँ काम र ठाउँ अनुसार कामदारहरुले न्यूनतम वार्षिक अमेरिकी डलर २५००० (प्रति घंटा सरदर १२) देखि उच्चतम वार्षिक १००,०००० (दश लाख) सम्म पाउन सकेको जानकारी पाइयो । तथापी न्यून ज्याला पाउनेहरुले पनि यहाँको आधारभूत आवश्यकता अनुरुप सहजतापूर्व जीवनयापन गर्न सकेको मात्र न भै कमाइको केही हिस्सा बचत गर्न समेत सकेको पाइन्छ । यहाँको स्थानीय र संघीय सरकारले न्यून पारिश्रमिक पाउने श्रमिकहरुलाई कतिपय अतिरिक्त सुविधा पनि दिने रहेछ् । यहाँ नागरिकता वा ग्रीन कार्ड पाएका कामदारहरुलाई अधिकांश स्वास्थ्यसेवा र माध्यमिक तह (कक्षा १२ सम्म) को शिक्षा निःशुल्क उपलब्ध गराउने व्यवस्था रहेछ । ग्रीन कार्ड पाएकाहरुले राजनीतिक बाहेक अरु सवै अधिकार उपभोग गर्न पाउने रहेछन् ।
 
अर्थतन्त्रको विकासमा आप्रवासी कामदारहरुको योगदान
 
यस देशको अर्थतन्त्रलाई उकास्ने मुख्य आर्थिकश्रोत आयकर नै रहेको भनिन्छ । उद्योगपति र व्यापारी व्यसायीहरुले कति प्रतिशत तिर्छन्, मैले जानकारी लिन सकेकोे छैन । काम गर्ने कामदारहरुले भने सरकारलाई आफ्नो आमदानीको आधारमा थोरै पाउनेले थोरै र धेरै पाउनेले धेरै गरी फेडरल सरकारमा १० देखि ३७ प्रतिशत र प्रदेश सरकारमा (प्रदेशअनुसार दरहरु केही फरक) १ देखि १२.५ प्रतिशतसम्म आयकर तिर्ने गरेको जानकारी भयो । यस्तो कर (ट्याक्स) नै यो देशको मुख्य आयश्रोत रहेको छ भनिन्छ । आयकर तिर्ने कामदारहरुमा अधिकांश आप्रवासी कामदारहरु नै रहेका छन् ।
 
परोक्ष बाध्यकारी श्रम
 
अव अमेरिकाले १६ औं देखि १९ औं शताब्दीमा जस्तो बलजफ्ति कामदार (दास) ल्याउनु पर्दैन । आफ्नै देशमा सीप र शिक्षा लिएका दक्ष कामदारहरु अनेकौं उपाए लगाएर अमेरिका आउछन् । अमेरिकाले उनीहरुलाई सन्तुष्ट र खुसी पारेर काममा लगाउछ । राम्रो व्यवहार गर्छ र उचित सुविधा दिन्छ । विधानतः कसैलाई पनि अनिवार्य बाध्यता छैन तर परिबन्ध यस्तो मिलाइएको हुन्छ कि अमेरिका आउने कामदारहरु यस्तो परिबन्धको जंजालबाट जेलिन पुग्छन् । आवासका लागि घर चाहियो, अलिकति बैना तिरेर ३० वर्षे किस्ता तिर्ने गरी सहजतापूर्वक आफूले रोजेजस्तो घर पाइन्छ । यसरी पाउदा घर पाउनेहरु खुसी त हुन्छन् तर उनीहरु यसमा मजैले बाधिन्छन् । अमेरिकामा काम गर्नेका लागि गाडी अनिवार्य आवश्यकता बनेको छ, गाडी नलिई काममा जान सक्ने उपाएनै हुदैन । यो सहजता पूर्वक किस्तामा पाइन्छ । यसले पनि अर्को बन्धन बाँधि दिन्छ । यहाँ कामदार बनेकाहरुलाई सहजतापूर्वक निब्र्याजी क्रेडिट कार्ड दिइन्छ, यसरी क्रेडिट कार्ड पाउदा सजिलो त निकै हुन्छ । तर यो पाएपछि पाउनेले अनावश्यक खर्च पनि गर्न पछि हट्दैन, क्रेडिट बढ्दै जान्छ, यसले अर्को बन्धन थप्छ । फर्निचर,कम्प्यूटर, टिभी, मोवाइल फोन आदिसमेत किस्तामा पाइन्छ । यसरी पाउदा निकै सुविधा पाएजस्तो हुन्छ । तर, यसको दीर्घकालीन असरलाई हेर्ने हो भने एकातिर यसले उपभोक्तालाई परल मूल्यभन्दा दोब्बर तेब्बरसम्म तिर्न बाध्य बनाउछ । अर्कोतिर नजानिदो किसिमले बाध्यकारी श्रमिक बनाउछ, जसलाई दासत्वको अत्याधुनिक रुप अर्थात उत्तरआधुनिक दासत्वमा परिभाषित गर्न सकिन्छ ।