संखुवासभाको मादी नगरपालिका १ स्थित खोलागाउँमा एकै परिवारका ६ जनाको ज्यान लिनेगरी विभत्स हत्याकाण्ड पछि स्थानीयवासीमा सन्त्रास छाएको छ । प्रहरीले जाँचबुझको क्रम जारी राखेको छ । घरमा सँगै सुतेका ७ जनामध्ये ६ जना मृत फेला परेका र ८९ वर्षीय बौद्धमान कार्कीमात्रै जीवित भेटिएको प्रहरीले जनाएको छ । मृत फेला परेका सबै शव फरक फरक स्थानमा भेटिएको प्रदेश १ प्रहरी कार्यालय रानीले जनाएको छ ।
सोमबार बिहान छिमेकीले सबैलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । अज्ञात समूहको धारिलो हतियार प्रहारबाट स्थानीय ५८ वर्षिय तेजबहादुर कार्की, ८० वर्षीया आमा पार्वता कार्की, ५६ वर्षीया श्रीमती मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएका हुन् ।
तेजबहादुरको शव घरको आँगनमा फेला परेको छ भने श्रीमती मनमाया र बुहारी रन्जनाको घरनजिकै खोल्सीमा भेटिएको छ । तेजबहादुरका नातिनातिना दीपक र गोमाको शव घरदेखि माथि मकै बारीमा भेटिएको वडाध्यक्ष खेमनाथ कट्वालले जानकारी दिए । उनकाअनुसार मृतकको टाउको ढाड लगायतका शरीरका केही अंगमा चोट रहेको छ । तेज बहादुरका दुई भाई, छोरा भने वैदेशिक रोजगारीमा छन् । रन्जनाका श्रीमान रमेश पनि वैदेशिक रोजगारीमै छन् ।
धारिलो हतियार प्रहारबाट हत्या भएको भन्ने खबर प्राप्त भएको र घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट डिएसपी कमाण्डमा टोली खटाइ सकिएको प्रदेश १ प्रहरी कार्याल रानीका प्रमुख अरुण बिसीले जानकारी दिएक छन् ।