शनिबार, आश्विन १७ गते २०८३

बिदेश भ्रमण सकेर दुइ साता पछि प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता


आश्विन १३, २०८० शनिबार
बिदेश भ्रमण सकेर दुइ साता पछि प्रधानमन्त्री  प्रचण्ड स्वदेश फिर्ता

 काठमाण्डाै । संयुक्त राष्ट्र सङ्घको महासभा र चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किए।स्

 स्वदेश फर्कदा  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री प्रचण्डलाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, सांसदहरु, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नेपाल सरकारका उच्च अधिकारी, नेपाली सेनाले स्वागत गरेका थिए।

फर्कनु अघि उनलाई चीनको सिचुवान प्रान्तका उपगभर्नर याङ जिङपिङ, नेपालका लागि चिनियाँ राजदूत, बेइजिङ र सिचुवानका विदेश मामिला कार्यालयका उच्चपदस्थ अधिकारीले छेन्दु विमानस्थलमा बिदाइ गरेका थिए ।

प्रचण्ड आठ दिने चीन भ्रमणका लागि न्युयोर्कबाट सिधै चीन गएका थिए । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० गते अमेरिका गएका हुन् । संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा चलेको महासभाको आम बहस, जलवायु सम्मेलनलगायत विविध सत्रमा नेपाल सरकारका तर्फबाट उनले सम्बोधन गरेका थिए ।

अमेरिकाकाे न्यूयोर्कमा रहँदा प्रधानमन्त्रीले अमेरिकाका राष्ट्रपति जो बाइडेन र अरु देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । चीनमा रहँदा उनले चीनका राष्ट्रपति शी जिनपिङसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गरेका थिए ।

त्यसै गरी  प्रधानमन्त्री प्रचण्डले चीनका प्रधानमन्त्री ली छ्याङसँग नेपाली प्रतिनिधिमण्डलसहित उच्चस्तरीय भेटवार्ता  गरे । भेटवार्तामा दुई देशबीच १३ वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ।