आइतबार, आश्विन १८ गते २०८३

हजाराै शिक्षकहरू सडकमा उत्रिए, सरकारले सही किसिमले समस्या न सल्टाए स्थिति झन बिग्रने

आश्विन ५, २०८० शुक्रबार
हजाराै शिक्षकहरू सडकमा उत्रिए, सरकारले सही किसिमले समस्या न सल्टाए स्थिति झन बिग्रने

काठमाण्डौ । यतिबेला सामुदायिक शिक्षण संस्थाका शिक्षकहरू सडकमा उत्रिएका छन् । शिक्षकहरूको याे आन्दोलनका कारण पठनपाठन प्रभावित भएको छ । देशभरीका शिक्षकहरू विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै  आन्दोलनका लागि काठमाण्डौमा आएसँगै पठनपाठन प्रभावित भएको हो ।देशभरका २७ हजारभन्दा धेरै सामुदायिक विद्यालयका शिक्षक आन्दोलनमा उत्रिँदा झण्डै ५४ लाख विद्यार्थीको पठनपाठन प्रभावित हुने नै भयाे ।

शिक्षकहरूले  विद्यालय बन्दको घोषणा नै गरेर  आन्दोलन थालेसँगै अब देशभरका सामुदायिक विद्यालयमा पठनपाठन रोकिने भएको छ । सरकारले प्रस्तुत गरेकाे विधेयकमा शिक्षकको सरुवा तथा बढुवाको अधिकार पालिकालाई दिइने प्रावधान छ । यसमा शिक्षकहरूको मूख्य असन्तुष्टि छ । उनीहरूले यो अधिकार जिल्ला शिक्षा कार्यालयलाई दिनुपर्ने माग राखेका छन् । संघर्षकाे शुरूमा  काठमाण्डौको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म हजारौँ शिक्षक आन्दोलनमा उत्रिए । शिक्षकहरुको छाता सङ्गठन नेपाल शिक्षक महासङ्घको नेतृत्व र आह्वानमा  याे आन्दोलन थालिएको छ ।

shiksyabidheyak.jpg

यस सन्दर्भमा नेपाल शिक्षक महासङ्घले माग पूरा नभएसम्म विद्यालय बन्द गर्ने जनाएको छ । शिक्षा मन्त्रालयले गएकाे मङ्गलवार वार्तामा बोलाएको थियो । तर शिक्षक महासङ्घ यो वार्तामा बसेन । आन्दोलनका कारण रोकिएको पढाइ पछि सार्वजनिक बिदामा पढाउने गरी व्यवस्था मिलाएको महासङ्घले जनाएको छ ।

त्यसरी नै काठमाण्डौ महानगरभित्रका सामुदायिक विद्यालयका शिक्षकहरूले आन्दोलनमा जाँदा भएको शैक्षिक क्षतिलाई बिदाका दिन पढाएर पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएकाे छ । महानगरपालिकाले आन्दोलनका नाममा विद्यालय बन्द गरेमा कारबाही गर्ने चेतावनी दिएपछि बसेको महानगरभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको बैठकले अहिले आन्दोलनमा जाने र यसको घाटा बिदाका दिन पढाएर पूरा गर्ने निर्णय गरेको हो ।

देशभ २७ हजार तीन सय ४३ वटा सामुदायिक विद्यालयमा स्थायी, अस्थायी र राहत गरी एक लाख ५७ हजार तीन सय ५४ जना शिक्षक रहेकाे शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले जनाएकाे छ । स्वभावतः शिक्षकहरूको आन्दोलनका कारण सामुदायिक विद्यालयमा ५३ लाख ८२ हजार जना विद्यार्थीको पढाइ प्रभावित भएको छ । सरकारले याे समस्या  सही किसिमले सल्टाएन भने स्थिति झन बिग्रिने देखिएकाे छ ।

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता