बद्लिदो बिश्वसँगै नेपाल पनि बद्लिदै गएको कुरालाई कसैले अस्वीकार गर्न सक्तैन । नेपालको भूगोल प्रायः उस्तै भए पनि (यद्यपि यो पनि परिवर्तनकै क्रमबाट गुज्रिरहेको हुन्छ नै) यहाँ राजनीतिक प्रयोग र परिवर्तनका एक पछि अर्को श्रृंखलाहरु देखा परे । तर आम नेपाली जन समुदायका बिभिन्न तह र तप्काको अबस्था, आधार र आवश्यकतालाई मध्यनजर गरेर र्हेर्ने र नेपाली समाजको चरित्र, चिन्तन र ब्यवहारलाई बस्तुगत अधारमा गम्भीररुपमा केलाउने हो भने अहिले पनि त्यो परिवर्तनले गुणात्मक फड्को मार्न सकेको र नयाँ बस्तुगत अबस्था सिर्जना गर्न सकेको स्थिति बिकसित भएको छैन ।
राजनीतिक अग्रगमन र प्रतिगमनको लुकामारी या टक्करको रुपमा अहिले पनि नेपाली समाज मात्रात्मक परिवर्तनकै चरणबाट गुज्रिरहेको छ । यस प्रकार नेपाली समाजको चरित्र अहिले पनि संरचनात्मकरुपमा मूलतः पुरातन नै छ । पछिल्लो सबैभन्दा उच्च परिवर्तन भनिएको अर्थात नेपालबाट राजतन्त्रको अन्त्य पछि पनि नेपाली समाजमा उठेका अन्तरबिरोध र उत्पन्न भएका बिभिन्न तह र तप्काका समस्या र मागहरुलाई हेर्ने र बिश्लेषण गर्ने हो भने पनि यो कुरा (मात्रात्मक परिवर्तनको कुरा) एकदमै प्रष्ट हुन्छ ।
मूलतः हाम्रो देश अहिले पनि अर्ध सामन्ती र अर्ध औपनिवेशिक तथा नब औपनिवेशि स्थितिकै परिधिभित्र रुमल्लिएका छ । यो कुरालाई कतिपयले अस्वीकार गर्दछन् र पुरानो नबिकृत शोषणलाई ‘कार्पेट मुनि फोहोर लुकाएर कोठा सफा भएको’ स्वाँङ गरे जस्तै किसिमले ‘अर्ध सामन्ती’ र ‘अर्ध या नब औपनिवेशिक’ भन्नेहरुलाई ’जडसुत्रबादी’को कल्की भिराउने गर्दछन् । यथार्थ बस्तुगत अबस्थालाई हेर्दा अद्यापि नेपाली समाज मात्रात्मक परिवर्तनको चरणबाट गुणात्मक किसिमले अघि बढ्ने आधार र अधिरचना तयार भइसकेको छैन र त्यसो नहुञ्जेल मनोगतरुपमा चाहेर पनि हामी हाम्रो समाज अगाडि बढ्न सक्ने अबस्था बिकसित हुदैन भन्ने कुरा एकदमै प्रष्ट छ । त्यसैले नयाँ नेपाल वा नयाँ शक्तिको उदयको खोजी गर्दा यी महत्वपूर्ण कुराहरुलाई मूलभूतरुपमा हेर्नु र बिश्लेषण गरेर निष्कर्श निकाल्नु पर्ने हुन्छ । केवल सतही र बाह्य प्रभावलाई मात्र हेर्ने र ब्याख्या गर्ने गरियो भने नेपाली समाजको आजको बस्तुगत तथा आधारभूत यथार्थलाई अर्थ्याउन र यसले लिनपर्ने सही दिशा र गतिलाई पहिल्याउन सकिने छैन । यो एकदमै ध्रुबसत्य कुरा नै हो ।
यस आधारमा भन्नपर्दा नेपाली समाज अहिले पनि सामन्ती ब्यवस्थाको भग्नाबशेषकै बीचबाट परिचालित भइरहेको छ ।यद्यपि सत्ताको केन्द्रबाट यतिबेला अनिवार्चित र बंश परम्परागत राजतन्त्र बिस्थापित भएको छ । नेपाली समाज र अर्थ–राजनीतिक अग्रगामी परिबर्तको निमित्त बाधक भएर सत्ताको उपरी ढाँचामा सक्रिय र कृयाशील त्यो राजतन्त्रलाई फाल्नकै लागि पनि नेपाली जनताले २००७ साल २०४६ साल र २०६३ सालमा ठूलो जन आन्दोलनको सृष्टि गर्नु प¥यो । अनेकौ यातना, यन्त्रणा र संघर्षका बिचबाट नेपाली जनताले अगाडि बढ्नु प¥यो । अहिले पनि त्यही राजतन्त्रको ध्वंशाबशेषको बीचमा नेपाली समाज लड्खडाइरहेको छ । यसले राष्ट्रिय आत्मनिर्भरताका साथ सम्मानपूर्ण अन्तरनिर्भरताको सार्थक मूलबाटो पक्रिने आधार र आधेय अझै प्रष्टरुपमा बनिसकेको छैन । त्यसका प्रारुपहरु बन्ने बनाउने सामान्य र न्यून क्रमकै बीचबाट नेपाली समाज गुज्रिरहेको छ । हामीले अहिले बनाएको संविधानमा नेपाली जनताको संर्घषले ल्याएका परिवर्तनको जुन उपलब्धीहरुलाई संस्थागत गरिएको या गर्न खोजिएको छ र त्यसलाई नयाँ नेपालको संज्ञा दिन खोजिएको छ त्यसले पनि हामी सामाजिक परिवर्तनको कुन चरणमा रहेछौ र छौ भन्ने कुराको यथेष्ट पुष्टी गर्न मद्दत गर्दछ ।
निश्चय नै बिश्वमा बिज्ञान र प्रबिधिको अभूतर्पूव बिकासले(जुन पूँजीवादी बिकासकै एउटा अपरिहार्य निरन्तरता पनि हो) खाशगरी सूचना प्रविधको उच्चतम बिकासले आजको बिश्वलाई निक्कै साँघुरो बनाइदिएको छ । सूचनाको आदान–प्रदानलाई बास्तवा अभूतर्पूवरुपमा परिवर्तन गरिदिएको छ । सारा संसारमा एकक्लिकमा सूचना प्रवाह गर्ने र हुन सक्ने आश्चर्यलाग्दो स्थिति सिर्जना गरिदिएको छ । यसले हिजोको सामाजिक संरचना र सम्वन्धलाई पनि निकै ठूलो धक्का दिएको छ र परिवर्तनको तीब्रतालाई बढाउने बाटो बनाइदिएको छ । यति हुँदाहुदै पनि नेपाली समाजको चरित्र आधारभूतरुपमा अहिले पनि पुरानै छ । राष्ट्रिय स्वाधीनता, जनतन्त्र, जनजीबिका सम्बन्धि हाम्रा राष्ट्रिय आन्दोलनका मागहरुले पनि बर्तमान स्थिति र जानुपर्ने बाटोका बारेमा धेरै महत्वपूर्ण बिषयहरुमाथि प्रकाश पार्दछन् ।
अहिले पनि बिस्थापित त्यही राजतन्त्रको ध्वंशाबशेषको बीचमा नेपाली समाज लड्खडाइरहेको छ । यसले राष्ट्रिय आत्मनिर्भरताको मूलबाटो पक्रिने आधार र आधेय अझै प्रष्टरुपमा बनिसकेको छैन । त्यसका प्रारुपहरु बन्ने बनाउने सामान्य र न्यून क्रमकै बीचबाट नेपाली समाज गुज्रिरहेको छ । कषि र किसानका याबत आधारभूत समस्याहरु, जातिय, क्षेत्रीय, लैंगीक समस्याहरुले पनि हामी कुन चरणबाट गुज्रिरहेका रहेछौं भन्ने कुरा उजागर गर्दछ ।
जनसंख्याको बृद्धि, श्रोतसाधनको समयोचित परिचालन र दीगो बिकासको अभावमा हाम्रो ठूलो ऊर्जाशील यूवा जनशक्ति रोजगारीको निमित्त बिदेशिन बाध्य छ । त्यो यूवा जनशत्तिले पठाएको रेमिट्यान्स(बिप्रेषणले) नै मुलुकको बजेट धानिएको कुरा राज्य सञ्चालकहरुले नै सगर्ब स्वीकार गरिरहेकै कुरा हो । पिछडिएको हाम्रो अर्थतन्त्रकै कारणले योजनाबद्ध बिकासको ६७ बर्ष सयम पारगरीसक्दा पनि आज हामी बिश्वका १० वटा निर्धनतम् देशको श्रेणीमा दरिएका छौ र त्यसबाट बिकासशील चरणमा कसरी पुग्ने भन्ने सतही र किताबी बिचार बिमर्श चलाइरहेका छौ । हाम्रो बिकासको मूल मुद्दा के हो भन्ने कुरा नै अहिले पनि स्पष्ट छैन ।
कृषि अर्थतन्त्रमा मूलतः आधारित हाम्रो अर्थतन्त्र परनिर्भर छ । कृषि क्षेत्रले देशको राष्ट्रिय श्रमको ६५ प्रतिशत खपत गर्दछ र राष्ट्रिय आमदानीमा मात्र ३० प्रतिशत जति मात्र योगदान गर्दछ केही पुरानो तथ्यांक छ । यही स्थितिलाई बिश्लेषण गर्दै ज्ञाताहरु राष्ट्रीय आम्दानीको ६७ प्रतिशत भाग ५ प्रतिशत मुठ्ठीभरको भागमा जन्छ र बाकी ९५ प्रतिशत जनताले ३३ प्रतिशत आमदानीमा भर पर्नु परिरहेको औल्याइरहेका छन् । यसले नै हाम्रो अबस्थाको असली तस्वीर के हो भन्ने दर्शाउँदछ । प्रष्ट छ, जबसम्म बैज्ञानिक क्रान्तिकारी भूमिसुधार गरेर प्रति इकाई जमिनबाट अधिकतम् उत्पादन लिने किसिमले जमिनमा उन्नत तरीकाले खेतीपाती गर्ने र उत्पादन बढाऊने समुचित ब्यवस्था गरिन्न, किसानको क्रय शक्तिलाई अभिबृद्धि गर्ने र त्यसले निरन्तरता पाउने समुचित प्रवन्ध हुदैन तबसम्म देशमा राष्ट्रिय औद्योगिकरण गरिने र रोजगारी सिर्जना हुने आधारभूत परिवेशको बिल्कुलै पनि निर्माण हुदैन । यसको लागि जुन बिद्यूत ऊर्जाको अधिकतम आवश्यकता हुन्छ र त्यसको आपूर्ति गर्ने ठोस आधार तयार गरिनु सर्बोपरी आवश्यकता छ । बिद्यूत ऊर्जा बिना आजको हाम्रो कृषि, उद्योग, बन्द–ब्यापार,पर्यटन, स्वास्थ्य, शिक्षा, खोज अनुसन्धान, बन, बातावरण, सामाजिक क्षेत्र आदि कुनै क्षेत्रको पनि समुचित, दीगो र निरन्तर बिकासको परिकल्पनासम्म गर्न सकिदैन । हाम्रो बिकासको सन्दर्भमा सुलभ र सस्तो, टिकाउ र भरपर्दो ऊर्जा यस सम्बन्धमा जल श्रोत नै हो र बिकासलाई प्रकृति–मैत्री, बातावरण–मैत्री र जन–मैत्री बनाउने मूल आधार पनि यही नै हो ।
अनि अहिलेसम्मको हाम्रो भयावह ब्यापार घाटा,भयंकर प्रतिकूल भुक्तान सन्तुलन र थपिदो ऋणमाथि ऋणको भार तथा ऋण तिर्न पनि ऋण नै लिनु पर्ने अबस्था जुन छ त्यसले हाम्रो डरलाग्दो परनिर्भरतालाई बढाएको मात्रै छैन, देशमा दलाल पूँजीवादी प्रबृत्ति र पद्धतिले पराश्रति पूँजीवादलाई बढ्दो प्रश्रय र मलजल दिएको छ । सर्बत्र दलाली, भू–माफिया, जल–माफिया, सर्बत्र कमिशनखोरी जे जे चलिरहेको छ र अजंगका जुन अपूर्ब भ्रष्टाचारहरु भइरहेका छन् ती सबैले यही दलाल पूँजीबादी चरित्रलाई मूर्तरुपमा अभिब्यक्त गर्दछन् ।यसरी हामी हाम्रा हरेक बिकास परियोजनाहरुमा एक किसिमको ‘भतुवा पूँजीवाद’को बिचलनकारी प्रबृत्तिको नराम्ररी शिकार भइरहेका छौ । संसदबादी शक्तिहरुले यसै स्थितिलाई नेपालमा पूँजीवादको बिकास भइसकेको र अब ‘समाजवादी’ क्रान्तिको बाटो लाग्ने हो भनेर जनतालाई मनको लड्डु घिउसित खुवाउने बौद्धिक बिलास पनि गर्न थालेका र उनीहरुलाई अल्मल्याउने थप उपक्रम चलाएका छन् । यो बास्तवमा जनतालाई निरन्तर अल्मल्याउने र यथास्थितिमा कुर्सी पुगेर मोजमस्ती गर्ने प्रपञ्चकै प्रतिकृति बाहेक अरु केही होइन र हुन पनि सक्तैन ।
त्यसैले, वास्तवमा आज नयाँ बैकल्पिक शक्ति यो अबस्थालाई चिर्ने बस्तुगत राष्ट्रिय बैकल्फिक कार्यक्रमका आधारमा मात्र निर्माण हुन सक्तछ । कसैको लहडी स्वैर कल्पनाका आधारमा यस्तो शक्ति बन्ने र समाज फेरिन कुनै कुरै होइन र हुन कीमार्थ सक्तैन । जनताको पछौटेपना, गरीबी, अभाव, अशिक्षा, असुरक्षा र अनिश्चित भबिष्यलाई भँजाएर आफ्नो दुनो सोझयाउने र ‘मालदार’ राजनीतिक ‘उद्योग–ब्यवसाय चलाउने’ सीमित तप्काको संकीर्ण स्वार्थ पूरा गर्ने हो भने कुरा बेग्लै हो ! यसर्थ नेपाली समाजको अग्रगामी आर्थिक–सामाजिक रुपान्तरणको मूलबाटो लाग्ने हो भने नेपाली जनता र राष्ट्रको ब्यापक हितमा नेपाली श्रोत साधनको भ्रष्टाचाररहीत किसिमले किफायती ढंगले अधिकतम् परिचानल गर्नुका साथै बाह्य सहयोगलाई पनि नेपाली जनता र राष्ट्रको ब्याकप हितमा मात्र प्रयोग गर्ने आधार तयार गरिनु अत्यावश्यक छ । यसो नगरीकन जतिसुकै राम्रा कुरा फलाके जस्तो गरे पनि त्यसले कुनै तात्विक फरक ल्याउन कदापि सक्तैन । अहिलेसम्मको स्थिति र अनुभवले प्रष्ट पारेको कुरा यही नै हो ।
सारमा भन्ने हो भने बढ्दो बाह्य हस्तक्षेप र आन्तरिक गडबढी र सकारात्मक गतिहीनताले झनपछि झन् बिग्रदो र भयावहबन्दो स्थितिले नेपाल र नेपाली जनताको अस्तित्वमाथि नै गम्भीर प्रश्न चिन्ह खडा हुने अस्वीकार्य र अमान्य स्थिति खडा हुँदै र बढ्दै गएको । अनि यसबाट बेखबर भएर या त्यस सम्वन्धमा बुझ पचाएर कुर्सीको खेल खेल्दै जनतालाई समृद्धि र समुन्नतिको सपना देखाउनु फेरि पनि जनता र देशलाई धोका दिनु मात्रै ठहरिन पुग्दछ । बिगत र बर्तमानका यी तीता अनुभबबाट सही शिक्षा लिएर बैकल्पिक, राजनीति, अर्थतन्त्र, सामाजिक तथा साँस्कृतिक संरचनाको प्रष्ट र ठोस मार्गचित्रकासाथ देश र जनताप्रति इमानदार तथा प्रतिबद्धताकासाथ अग्रसर र भ्रष्टाचारमुक्त भएर अघि बढ्न सकेमा मात्र नयाँ शक्तिको निर्माण भएर जान्छ ।
यसर्थ नेपाली समाजको अग्रगामी आर्थिक–सामाजिक रुपान्तरणको बाटो लाग्ने हो भने नेपाली जनता र राष्ट्रको ब्यापक हितमा नेपाली श्रोत साधनको भ्रष्टाचाररहीत र किफायी ढंगले अधिकतम् परिचानल गर्नुका साथै बाह्य सहयोगलाई पनि नेपाली जनता र राष्ट्रको ब्यापक हितमा मात्र प्रयोग गर्ने आधार तयार गरिनु अत्यावश्यक छ ।
बिभिन्न पार्टीका या स्वतन्त्र मानिसलाई कतैबाट टिपेर एकठाउ पोको पार्दै आयाराम गयाराम सँस्कृतिलाई मलजल दिदैमा कुनै नयाँ शक्ति निर्माण हुदैन । त्यो केवल एउटा आडम्बरपूर्ण प्रपञ्च भने अबश्य नै ठहरिन्छ । देश र जनताका समस्याबाट बिमुख या सतहीरुपमा तिनलाई स्वीकार गरे पनि तिनको सही समाधानको बाटो पहिल्याउन नसकेसम्म यथार्थतः जनताको शक्ति निर्माण हुने कुनै आधार बन्दैन । आजसम्मको अनुभवले प्रष्ट पारेको र पारिरहेको यथार्थ यही हो । त्यसमा पनि आज बिश्वब्यापी रुपमा फैलिएको कोराना महामारीपछि त्यसले बिश्वलाई नै जुन नाजुक स्थितिमा खडा गरिदिएको छ त्यसबाट पार पाउने हो भने जनहितकारी, प्रकृति–मैत्री र भ्रष्टाचाररहीत अनि तलैबाट जनतलाई उठाउने, जगाउने र अगाडि बढाउने बिकास अबको एक मात्र मूलबाटो हो । यसका निमित्त अग्रगामी, उन्नत र जनमुखी दृष्टिकोण, बिचार नीति कार्यक्रम र तदनुरुपकमा मूर्त र ब्यवहारिक कदमहरुको ज्वलन्त आबश्यकता छ । बन्न लागेको राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपाल यस दिशातर्फको ठोस प्रस्थान बिन्दू हुन सक्तछ । a