आइतबार, आश्विन १८ गते २०८३

कृष्णनगरको विद्यालयमा छैन खाने पानी, जनप्रतिनिधिको‌ लागि जारकाे व्यवस्था

भाद्र १२, २०८० मंगलबार
कृष्णनगरको विद्यालयमा छैन खाने पानी, जनप्रतिनिधिको‌ लागि जारकाे व्यवस्था

शहबाज खान/ कपिलवस्तुको कृष्णनगर नगरपालिकाको वडा नम्बर २ कृष्णनगरमा अवस्थित महेन्द्र माध्यमिक विद्यालयमा खानेपानी, सरसफाई, भौतिक संरचना लगायत अन्य व्यवस्थापनमा चरम लापरवाही देखिएको छ । नगरपालिकाले विद्यालय व्यवस्थापनको पक्षमा खासै चासो नदिएको अभिभावक र विद्यार्थीहरुकाे गुनासाे छ। विद्यालयमा खानेपानी ट्याङ्की निर्माण भए पनि शुद्ध खानेपानी पिउन नपाएको विद्यार्थीले गुनासो गरेका छन् ।

विद्यालयमा नल्का समेत नहुँदा पानी पिउनको लागि समस्या भएको उनीहरुले दुखेसो पोखेका छन् । विद्यालयमा खानेपानी नभएर विद्यालय भन्दा बाहिर जोखिमपूर्ण अवस्थामा सडक पार गरि स्थानीयको नल्कामा पानीका लागि जानुपर्ने बाध्यता रहेको छ । महेन्द्र माविमा अध्ययनरत विद्यार्थीहरुले यसरी दिनहुँ विद्यालय भन्दा बाहिर गएर पानी पिउने गरिरहेका छन् । यस्तै पानीको निकास नहुँदा विद्यालयको प्राङ्गणमा पानीसमेत जमेको छ । त्यसले गर्दा विद्यार्थी तथा शिक्षकहरुलाई पठनपाठनमा अप्ठ्रयाराे परिरहेकाे छ । जमेको पानी भित्रबाटै विद्यार्थी र शिक्षक आवतजावत गरि रहेका छन् । तर जमेको पानीको निकास, खानेपानीको व्यवस्थापनका लागि नगरपालिकाले कुनै पहल नगरेको विद्यालयका प्रधानाध्यापक मोतिम खाँले बताए ।

panipiuna.jpg

महेन्द्र माध्यमिक विद्यालयले खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी कार्यविधि द्रोसो संस्करण २०७५ लाई समेत बेवास्ता गरेको देखिन्छ । नेपालको संविधानमा मौलिक हकको धारा ३५ को उपधारा (४) ले प्रत्येक नागरिकलाई स्वच्छ, खानेपानी तथा सरसफाईमा पहुँचको हक सुनिश्चित गरेको छ । तर विद्यालय क्षेत्रको विकास योजनाले गुणस्तरीय शिक्षाका लागि विद्यालयमा स्वच्छ, खानेपानी व्यवस्थापन सरसफाई सुविधा र स्वच्छ वातावरणको आवश्यकतालाई बेवास्ता गरिएको छ । सरकारले उक्त कार्यक्रम लागु गरे पनि महेन्द्र माध्यमिक विद्यालयमा खानेपानीको ठुलो समस्या देखिएको भन्दै जनगुनासाहरु बढ्दै गएको छ ।

प्रधानाध्यापक मोतिम खाँका अनुसार विद्यालयको राम्रो व्यवस्थापन तथा शुद्ध खानेपानी सरसफाई तथा भौतिक संरचना व्यवस्थापनको लागि पटक–पटक नगरपालिकामा लिखित माग गर्दा पनि नगरले चासो देखाएको छैन । दुई वर्षदेखि व्यवस्थापन समिति समेत नहुँदा विद्यालयको विकासका लागि निकै समस्या भएको छ ।

नगर शिक्षा शाखा प्रमुख बलराम पन्थीले मुख्यमन्त्री विद्यालय सुधार योजना अन्तर्गत खानेपानी तथा सरसफाईको व्यवस्थापनका लागि बजेट माग गरिएको बताए । उनले बजेट उपलब्ध नभएको कारणले खानेपानी तथा सरसफाई व्यवस्थापनका लागि समस्या भएको जनाए । विद्यालयको प्राङ्गणमा सँधै वर्षातको समयमा जमिने पानीको समस्या समाधानको लागि यस आर्थिक वर्षमा ९ लाख रुपैयाँ माग गरेको शिक्षा शाखा प्रमुख पन्थीले बताए । विद्यालयको नाममा रहेको जग्गाबाट भएको निजी आर्थिक स्रोतको बारेमा पुर्व प्रधानाध्यापक र व्यवस्थापन समितिले स्पष्ट जानकारी नदिएको र यहाँको महालेखा परिक्षण फितलो भएका कारणले स्पष्ट हुन नसकेको शिक्षा शाखा प्रमुख पन्थीको भनाई छ ।