काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक एकता र सद्भावका पक्षमा उभिन धरानबासी जनसमुदायलाई हिजो साँझ एक अपील गरेका छन् । केही दिनयता अशान्त भइरहेको धरानका स्थानीयलाई ै प्रधानमन्त्री प्रचण्डले यस्तो आग्रह गरेका हुन् ।
‘‘सामाजिक एकतामा खलल पुग्ने कार्यहरूबाट टाढा रही एकता र सद्भावको पक्षमा उभिन र समस्या समाधानका निम्ति आ–आफ्नो ठाउँबाट सम्भव पहल लिनुहुन धरानबासी जनसमुदाय लगायत सम्पूर्ण नेपालीमा हार्दिक अपील गर्दछु’’, प्रधानमन्त्री प्रचण्डले भनेका छन्।
नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसाँस्कृतिक विशेषतायुक्त संघीय लोकतान्त्रिक मुलुक भएको कुरा उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘‘विविधतासहितको एकतामा आधारित हाम्रो धर्म, संस्कृति र परम्परा एकअर्काको आस्था, भावना र परम्पराप्रति सहिष्णुतासहित सामाजिक सद्भाव र राष्ट्रिय एकता एवं स्वाधीनताको पक्षमा अनुबन्धित हुँदै आएको छ । विश्वमा नेपाल यस्तो मुलुक हो, जसले विविधताबीचको एकतालाई शब्दमा मात्र नभएर आस्था, विचार र कर्ममा समेत आत्मसात गर्दै अगाडि बढिरहेको छ ।’’
संविधानले सबैलाई धर्म र मर्यादा अवलम्बन गर्ने हक सुनिश्चित गरेको स्पष्ट पाार्दै उनले एक अर्काको धर्ममा खलल पार्ने गरी कुनै काम, व्यवहार गर्न कानुनले निषेध गरेको कुराकोसमेत स्मरण गराएका छन् ।
प्रमले भनेका छन् ‘‘नेपालको संविधानले प्रत्येक व्यक्तिलाई प्रचलित सामाजिक एवं सांस्कृतिक परम्पराको मर्यादा राखी परापूर्वदेखि चलिआएको आफ्नो धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने हक सुनिश्चित गरेको छ’’, प्रधानमन्त्रीले भन्नुभएको छ, ‘‘कसैले कसैको धर्म र भावनाप्रति नकरात्मकता, द्वैष बढाउने तथा एक–अर्काको धर्ममा खलल पार्ने गरी कुनै काम, व्यवहार गर्न कानुनतः निषेध गरिएको छ । यसका साथै हामी जुनसुकै जाति, भाषा, धर्म र सम्प्रदायका मानिसहरू भए पनि सामाजिक सम्बन्ध र सहकार्यबिना हाम्रो व्यक्तिगत जीवन र सामाजिक प्रणालीले पूर्णता प्राप्त गर्न सक्दैन । तसर्थ, हाम्रो एकता, सद्भाव र सहकार्य भावनात्मक सम्बन्धका साथै सामाजिक प्रगति र विकासका निम्ति अपरिहार्यसमेत रहिआएको छ ।’’
केही दिनयता धरानमा भइरहेको गतिविधिले हाम्रो सद्भाव र एकतामा नकारात्मक प्रभाव परेको भन्दै यो विषयमा सरकार गम्भीर रहेको उनले प्रष्ट पारेका छन् । प्रधानमन्त्री प्रचण्डले चुनौतीको सामना संवादबाट गर्न सकिनेसमेत उल्लेख गरेका छन् ।
‘‘केही दिनयता सांस्कृतिक नगरी धरानमा भइरहेका गतिविधि र त्यसले हाम्रो सद्भाव एवं एकतामा पार्नसक्ने नकारात्मक प्रभावबारे नेपाल सरकार गम्भीर छ । हरेक समस्या, बिमति र चुनौतीहरूलाई संवाद, सहमति, र सहकार्यको बलमा नै समाधान दिन सकिन्छ भन्ने तथ्य हरेक चुनौतीपूर्ण परिस्थितिमा हामीले प्रदर्शित गर्दै आएको एकता र सहकार्यले प्रमाणित गरिसकेको छ । तसर्थ, धरानमा विद्यमान विभाजित मनोविज्ञान र क्रियाकलापलाई पनि संवादको माध्यमबाट समाधान गर्न सकिनेतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै त्यस दिशामा आवश्यक पहलका निम्ति स्थानीय राजनीतिक दल, सामाजिक संघसंस्थाहरू, बौद्धिक समुदाय र आदरणीय जनसमुदायमा म हार्दिक अपील गर्दछु’’, उनले भनेका छन्, ‘‘धार्मिक तथा समुदायगत एकता, सहकार्य र सामाजिक सद्भावका माध्यमबाट नै राष्ट्र निर्माणको ऐतिहासिक कार्यभार पूरा गर्न सकिन्छ । एकले अर्काको विचार, आस्था र भावनाको सम्मान गरेर मात्र साँचो अर्थमा राष्ट्रिय एकता हासिल गर्न सकिन्छ । त्यसका लागि संवाद र सहकार्यका माध्यमबाट समस्याको समाधान गर्न र सम्भावित समस्याहरूबाट समाज र नागरिकलाई सुरक्षित राख्न नेपाल सरकारले आवश्यक सतर्कता अपनाइरहेको व्यहोरासमेत म स्पष्ट गर्दछु । विभिन्न वर्ण, लिङ्ग, जातजाति र धर्मको पहिचान भए पनि समग्रमा हामी नेपाली हौँ । नेपालको राष्ट्रिय हित र स्वार्थ नै हामी सबैका लागि सर्वोपरि रहन्छ र रहनुपर्दछ ।
