काठमाण्डौ । यतिबेला धरानमा सामाजिक आस्था र भावनामा ठेस पुर्याउने गतिविधि हुन नदिन सबै पक्षले पहल गरेका छन् ।त्यहाँा विभिन्न राजनीतिक दल, सामाजिक सङ्घसंस्था र नागरिक अगुवाहरुले धार्मिक र सामाजिक सद्भाव कायम राख्नको लागि पहल गरेका हुन् । स्थानीय प्रशासनले पनि सम्भावित घटनालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा बनाएको छ भने धर्ना, जुलुस, भेला गर्न नपाउने गरी धरानमा निषेधाज्ञा लगाएको छ।
यस सन्दर्भमा धरानमा कृयाशील १३ वटा राजनीतिक दलले साझा विज्ञप्ति निकालेर सामाजिक सद्भाव बिथोल्ने कुनै पनि कार्यक्रम नगर्न सबैसँग अनुरोध गरेका छन् । उनीहरुले सामाजिक सञ्जालबाट पनि सामाजिक सद्भाव खलबलिने कुनै सामग्री शेयर नगर्न समेत आग्रह गरेका छन् ।
संयुक्त विज्ञप्तिमा दलहरूले सबै जाति, धर्म, समुदायले एक आपसको धर्म, संस्कार, संस्कृति र परम्परालाई सम्मान गर्दै सामाजिक द्वैष तथा आस्थामा ठेस पुर्याउन गतिविधि नगर्न अनुरोध गरेका छन् ।
यसैगरी। धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले सामाजिक र धार्मिक सद्भाव राख्न सबैसँग अपिल गरेका छन् । पछिल्लो केही दिनदेखि धरानमा सामाजिक अन्तरसम्बन्ध खलबल हुने खालका गतिविधि भइरहेको भन्दै उनले विरोध, प्रतिशोध र नकारात्मकतालाई त्यागेर शान्त बन्न आग्रह गरेकाे हो । सबैजना संयमित र संवेदनशील भएर सबै समुदाय र हरेक नागरिकको भावना प्रतिविम्बित हुनेगरी आपसी सद्भाव, भाइचारा र एकता कायम गर्न मेयर राईले धरानवासीलाई अपिल गरेका छन् ।
यसै बीच जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानगरपालिका क्षेत्रभित्र धर्ना, जुलुस, सभा, भेलालगायतका गतिविधि गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले धरान उपमहानगरपालिकाको सबै क्षेत्रमा लागू हुने गरी गएराति १२ बजेदेखि आज राति १२ बजेसम्मको लागि निषेधाज्ञाको आदेश दिएको हो । निषेधाज्ञासहित धरान प्रवेशमा कडाइ गरिएको प्रशासनले जनाएको छ ।
यस बारे स्पष्ट पार्दै जिल्ला प्रशासन कार्यालय सुनसरीको आदेशमा धरानमा फैलिएको डेङ्गी सङ्क्रमण नियन्त्रणमा नआउञ्जेल स्वास्थ्य आपत्काल अवस्था क्षेत्र घोषणा गर्न गृह मन्त्रालयमा यसअघि नै सिफारिस गरेको र धरानमा आज धार्मिक–साम्प्रदायिक सङ्कटको अवस्था समेत देखिएकाले शान्ति सुरक्षालाई ख्याल गरेर निषेधाज्ञा जारी गरेको जनाएकाे छ । प्रहरीले धरान प्रवेश गर्ने नाकाहरूमासमेत कडाइ गरेको छ ।