काठमाडौं । हनाेइ अदालतद्वारा भियतनाममा ठूलाे भ्रष्टाचार मुद्दामा पूर्वसरकारी अधिकारी, व्यवसायी लगायत ५४ जनालाई जेल सजाय सुनाइएको छ।
कोरोना महामारीका बेला गरिएको उद्धार उडानका क्रममा स्वदेश फर्कन चाहने भियतनामी नागरिक तथा उनीहरुका आफन्तबाट घुस लिएको अभियोगमा दोषी पाइएपछि हनोइ अदालतले उनीहरुलाई जेल सजाय सुनाएको हो। यो भ्रष्टाचार प्रकरण अहिलेसम्मकै ठूलो मानिएको त्यहाँको सरकारी सञ्चारमाध्यम भीटीसीले जनाएको छ।
हनाेइ अदालतले ५४ जना भ्रष्टाचारी मध्येक २५ सरकारी अधिकारीलाई ७४ लाख डलर घुस लिएको अभियोगमा दोषी ठहर गरेको छ। जसमा पूर्वउप-परराष्ट्रमन्त्री टो आन डुङ समेत छन्। उनले उद्धार उडान सञ्चालन गर्ने विमान कम्पनीबाट ९ लाख ८ हजार डलर घुस लिएको पाइएको छ। उनलाई १६ वर्ष जेल सजाय तोकिएको छ। तर, उनले आफूले उडानका लागि विमान कम्पनीहरुलाई सहजीकरणमात्र गरेको भन्दै कुनै गलत काम नगरेको जिकिर अदालतसमक्ष गरेका थिए।
यसरी नै परराष्ट्र तथा स्वास्थ्य मन्त्रालयका ४ उच्च अधिकारीलाई आजीवन जेल सजाय सुनाइएको छ। व्यवसायीहरुलाई सरकारी अधिकारीलाई घुस दिएको आरोप लागेको थियो। कोरोना महामारीका बेला भियतनामले ६० मुलुक तथा क्षेत्रबाट आफ्ना नागरिकलाई ल्याउन ८ सय वटा चार्टर उडान गरेको थियो।
भियतनाम सरकारले भ्रष्टाचारविरुद्धको अभियान शुरु गरेयता सयौं सरकारी अधिकारीमाथि अनुसन्धान गरिरहेको थियो। त्यसक्रममा गत जनवरीमा भ्रष्टाचारको आरोप लागेका राष्ट्रपति गुयेन सुआन फुक र दुई उपप्रधानमन्त्रीले राजीनामा दिएका थिए।
एजेन्सी