मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि. को समग्र वित्तीय अवस्था के छ ?
संस्थाको समग्र वित्तीय अवस्था ठिक छ । आ.ब. २०७९/०८० लाई मध्यनजर गर्दा संस्थाको वासलात बृद्धि, शेयर सदस्य बृद्धि लगायत कोषको अवस्थालाई हेर्दा सन्तोषजनक छ । संस्थाको चारबर्षिय रणनीतिक योजना बमोजिम संस्थाका वित्तीय सूचकांकहरु सन्तोषजन अवस्थामा बृद्धि भएको छ ।
संस्थाले सदस्यहरुलाई बचत तथा ऋणका अलावा के कस्ता सेवा दिँदै आएको छ ?
संस्थाको प्रमुख उद्देश्य बचत तथा ऋण भएकोले प्राथमिकतामा बचत तथा ऋण पर्नेनै भयो । संस्थाले आफ्ना शेयर सदस्यहरुलाई प्रमुख उद्देश्य बमोजिमका सेवाको सँगसँगै बिप्रेषण, बीमा, सदस्य सेवाका कार्यहरु, शिक्षा तालिम तथा सूचना र सामाजिक सेवाहरु प्रवाह गर्दै आएको छ । सदस्य सेवा कार्यक्रम अन्तर्गत शेयर सदस्य परिवारको मृत्युमा राहत, शेयर सदस्यहरुलाई जटिल रोग लागेमा संस्थाको क्षमता अनुसार सहयोग, संस्थामा शेयर सदस्य बनेको दश बर्ष पुरा भएको र उमेर सत्तरी बर्ष पुरा भएका शेयर सदस्यहरुलाई बार्षिक दुईहजार चार सय जेष्ठ शेयर सदस्य सम्मान भत्ता, सुत्केरी महिला शेयर सदस्यहरुलाई सम्झना स्वरुप भत्ताको व्यवस्था, जेष्ठ शेयर सदस्य तिर्थयात्रा, विभिन्न विधामा शेयर सदस्य सम्मान तथा प्रशंसा जस्ता कार्यक्रमहरु संस्थाले गर्दै आएको छ । यसैगरी शिक्षा तालिम तथा सूचना कार्यक्रम अन्तर्गत आधारभूत सहकारी शिक्षा, वित्तीय प्राविधिक कानूनी स्वास्थ्य भावी विपत्ती सम्बन्धी साक्षरता एवं जागरुकता कार्यक्रम, महिला शेयर सदस्य नेतृत्व विकास तालिम, शेयर सदस्यहरुलाई उद्यमशीलता विकास तालिम प्रदान गर्ने गरिएको छ । यसैगरी सामाजिक सेवा अन्तर्गत स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, मन्दिरहरुमा डस्टबिन वितरण, बजार सरसफाई कार्यक्रम, प्रतीक्षालयहरु निर्माण, सार्वजनिक स्थानमा शौचालय निर्माण, आकस्मिक दैवी प्रकोप तथा दुर्घटनामा सहयोग जस्ता कार्यक्रमहरु गर्दै आएको छ ।
धेरै संस्थाहरुलाई तरतला व्यवस्थापनमा समस्या परिरहेको अवस्थामा मिलिजुलीले कसरी व्यवस्थापन गरिरहेको छ ?
पर्ल्स अनुगमन प्रणाली र सहकारी विभागको निर्देशनलाई आत्मसाथ गर्दै संस्थाले तरलता व्यवस्थापन गर्दै आएको छ । संस्थाले शेयर सदस्यहरुबाट संकलन गरेको कुल बचत मध्ये सतसठ्ठी प्रतिशत नियमित बचतको हिस्सा भएकोले तरलता ब्यवस्थापनमा सहजता भएको छ । संस्थाले सदस्य केन्द्रीयता सूचकांकहरुलाई विशेष ध्यान दिएर सानो ऋण लगानीलाई प्राथमिकतामा राखेको छ । यसो हुँदा ऋणको किस्ता आईरहेको अवस्थाले तरलतामा असहजता महसुस गरेको छैन । स्थिर सम्पत्तिमा लगानीको बिषयलाई पनि पल्र्स अनुगमन प्रणालीको निर्देशनलाई मध्यनजर गरेको हुँदा नियमानुसार तरलता ब्यवस्थापन हुँदै आएको छ ।
सहकारीका लागि मासिक बचत मेरुदण्ड हो भनिन्छ ? तपाईंलाई के लाग्छ ? मासिक बचतले तरलता व्यवस्थापनमा केकस्तो सहयोग पुगिराखेको छ ?
साँच्चैनै सहकारी संस्थाको लागि नियमित मासिक बचत मेरुदण्ड हो । यस कुरामा म सहमत छु । मासिक बचत को साथै निश्चित समय सम्म राख्नुपर्ने बिशेषताको साथको दैनिक बचत तथा बाल बचत पनि नियमित बचत सरह नै हुन्छ । दैनिक बचत लाई नियमित बचतको प्रकृतिमा विकास गरेमा दैनिक बचत पनि नियमित बचतको हिस्सा बन्न पुग्दछ । साथै बाल बचत गराउँदा शेयर सदस्यको बालबच्चाको बचत गर्ने बानीको बिकास भई हुने फाईदा त छँदैछ त्यसको साथै शेयर सदस्य बनेपछि फिर्ता गर्ने प्रकृतिको बिकास गर्न सकेको खण्डमा यो बाल बचत पनि नियमित बचत जस्तै हुन्छ । तरलतामा छोटो समयमै तलमाथि आउनु भनेको ऐच्छिक प्रकृतिको बचत बढी स्वीकारेमा आउने हो । यसो हुँदा ऐच्छिक तथा आवधिक बचतको प्रतिशत कम गरी मासिक, दैनिक, बाल बचतलाई प्राथमिकतामा राखेमा तरलताको संकटलाई धेरै कम गर्न सकिन्छ ।
सदस्यलाई जागरुक बनाउन सहकारी शिक्षा लगायतका के कार्यक्रम गर्दै आउनु भएको छ ?
संस्थाको शेयर सदस्यहरुलाई जागरुक बनाउनको लागि आधारभूत सहकारी शिक्षाको साथै वित्तीय, प्रविधि, कानूनी, स्वास्थ्य, भावि विपत्ती सम्बन्धी साक्षरता कार्यक्रम सञ्चालन गर्ने गरेका छौ । ऋण लैजाने शेयर सदस्यहरुका लागि ऋण सदुपयोगिता तथा ब्यवस्थापन तालिमको ब्यवस्था गरेका छौ । प्रत्येक आ.ब. को चैत्र महिनामा संस्थाको नीति कार्यविधिहरुमा सुझाव संकलन गर्नको लागि बिस्तारित मञ्च कार्यक्रम सञ्चालन गर्दछौं । महिला शेयर सदस्यहरुलाई जागरुक बनाउनको लागि महिला नेतृत्व बिकास तालिम आयोजना गर्ने गरेका छौ । यस आ.व. २०८०/०८१ मा विधि सहित खुसी सदस्य भन्ने नाराका साथ सदस्य सँग मिलिजुली कार्यक्रम लिएर टोलटोलमा पुग्ने योजना रहेको छ ।
तपाईको अनुभवमा, सफल संस्था बनाउन के कस्ता नीति, विधि र योजना हुनुपर्ने रहेछ ?
सहकारी संस्था सफल बनाउनको लागि राज्यमा प्रचलित सहकारी ऐन, नियमावली, मापदण्ड बमोजिम संस्थाको विनियम अद्यावधिक हुनुपर्यो र सोही विनियम बमोजिम संस्थाका सबै नीति, कार्यविधि र नियमावलीहरु अद्यावधिक हुनुपर्यो । नीति र विधि बनाएर मात्र भएन अक्षरस कार्यान्वयन हुनुपर्यो । नीति कार्यविधि निर्माणमा सञ्चालकको भूमिका हुनुपर्यो भने कार्यान्वयनमा कर्मचारीहरुको भूमिका हुनुपर्यो । नीति कार्यविधि निर्माणमा कर्मचारीको हस्तक्षेप हुनुभएन भने नीति कार्यविधि कार्यान्वयनमा सञ्चालक समितिको हस्तक्षेप हुनुभएन । सहकारी संस्थाको सञ्चालक र कर्मचारी बिचमा वा भित्र नाताको ब्यक्ति नहुँदा सहकारी संस्था सञ्चालनमा सहजता आउने हुँदा यस कुरालाई पनि ध्यान दिनुपर्यो । त्यसैगरी सहकारी संस्था सफल बनाउनको लागि राज्यमा प्रचलित ऐन कानूनको परिधिभित्र बसेर संस्थाको दिर्घकालिन, मध्यकालिन तथा अल्पकालिन योजनाहरु निर्माण गरी योजनाको मार्गमा संस्थाको विभिन्न कार्यक्रमहरु अगाडि बढाउनु पर्यो ।
संस्थाको लगानीका क्षेत्रहरु के कस्ता रहेका छन्, संस्थाबाट ऋण लिएर कति सदस्यले उद्यम व्यवसाय गर्दै आएका छन् ? सदस्यको आर्थिक रुपान्तरणमा संस्थाले कस्तो भूमिका खेलेको छ ?
संस्थाको लगानिको प्रमुख क्षेत्र ब्यापार र कृषि रहेको छ । संस्थाबाट ऋण लिने अधिकांस शेयर सदस्यहरुले ब्यापार ब्यवसाय गर्नु भएको छ भने केहीले कृषिमा लगानी गर्नु भएको छ । शेयर सदस्यहरुको आर्थिक रुपान्तरणमा संस्थाले आफ्नो भूमिका लाई ज्वलन्त बनाउनको लागि निरन्तर प्रयास गरिरहेको छ । संस्थाको शेयर सदस्यहरु उद्यमी बन्नु पर्दछ भनेर बेलाबेलामा उद्यमशीलता विकास तालिमको आयोजना गर्दै आएको छ । शेयर सदस्यहरुले ऋण लगे पछि सहि सदुपयोग गर्नु पर्दछ, उद्देश्य अनुरुप प्रयोग गर्नुपर्दछ भन्ने मान्यता राखी ऋण सदुपयोगिता तथा व्यवस्थापन तालिमको आयोजना गरी उहाँहरुलाई वित्तीय साक्षरता समेतमा जागरुक बनाउने कार्य गर्दै आएको छ ।
अहिलेको वित्तीय संकटले सहकारी संस्थाहरुलाई बढी समस्या पार्यो, यसको पछाडि के कस्ता कारण हुनसक्छन् ?
वित्तीय संस्था तुलनात्मक रुपमा अधिक सुशासनमा सञ्चालन हुनुपर्ने संस्था हो । यस प्रकारको संस्थाले विश्व परिवेशमा भएका विभिन्न मुल्य मान्यताहरु मनन् गरी पालना गर्नु पर्ने हुन्छ । सहकारी संस्थाको कुरा गर्दा सहकारीको सिद्धान्त मुल्य मान्यतालाई आत्मसाथ गर्दै राज्यमा प्रचलित सहकारी ऐन, नियमावली, निर्देशन, संस्थाको विनियम, कार्यविधिहरु, पल्र्स अनुगमन प्रणालीको मार्गदर्शनको आधारमा सञ्चालन हुनुपर्दछ । सहकारी संस्थाहरु सञ्चालनको लागि स्वनियमन पनि एक महत्वपुर्ण अंग हो । सहकारी संस्थाहरु संघहरुमा आवद्ध भई स्तरीकरण कार्यक्रममा सहभागि भएको भए सफल रुपमा सञ्चालन गर्न थप सहजता हुने थियो । सायद उल्लेखित कुराहरुको कहि कतै अभाव भएकोले वित्तीय संकटले सहकारी संस्थाहरुमध्येमा कहि बढी असर पारेको हुनुपर्दछ ।
सहकारीलाई सहकारी जस्तै गरेर सञ्चालन गर्न नसक्दा यो समस्या आएको हो ?
सहकारी संस्थालाई सदस्यहरुको संस्था हो भन्ने महसुस गराएर सञ्चालन गरी शेयर सदस्यहरु बाट संकलित बचतलाई शेयर सदस्यहरुमाझमा राज्यमा प्रचलित ऐन, नियमावली, मापदण्ड, निर्देशन, संस्थाको विनियम र ऋण कार्यविधि बमोजिम सहकारी विभागले अवलम्बन गर्न निर्देशन गरेको सदस्य केन्द्रीयता सूचकांकहरुलाई आधार मानी ऋण लगानी गर्दै सहकारीको सिद्धान्त मुल्य मान्यता बमोजिम सञ्चालन गरेको भए यस्तो समस्या नआउन सक्थ्यो ।
मुलुक संघीयतामा गएपछि सहकारी पनि ३ तहको सरकारमा बाँडिएको छ । त्यसले गर्दा सहकारी अभियानमा झन् समस्या बढ्यो भनिन्छ, तपाईंलाई के लाग्छ ?
मुलुक सङ्घीयतामा गएपछि सहकारी संस्थाहरुलाई नियमन गर्न तीन तहमा जिम्मा लगाईएको छ तर जिम्मेवारी अनुसार आवश्यक भौतिक पुर्वाधार, प्रविधिको साथै दक्ष एवं पर्याप्त जनशक्तिको अभाव देखिनुको साथै फरक फरक क्षेत्रबाट सरुवा गरी ल्याउने परम्परा छ । यसो हुँदा सहकारी संस्थाहरु स्वनियमनमा चले नचलेको नियमन गर्ने कार्य फितलो भएको छ । सबै तहमा प्रभावकारी नियमन तथा ब्यवस्थापन कमजोर हुँदा सहकारीहरुको सहि तथ्यांक पनि नभएको जस्तो महसुस भएको छ । जहाँ तथ्यांक कमजोर हुन्छ त्यसपछि बन्ने योजनाहरु पनि कमजोर हुने नै भयो । यस्तो अवस्था हुँदा स्वनियमनमा नचल्ने सहकारी संस्थाहरुमा समस्या बढ्ने कुरामा दुईमत छैन ।
शहर केन्द्रित सहकारीमा समस्या आइरहेका बेला, दोलखादेखि काठमाण्डौं किन आउनुभयो ?
संस्थाको कुल शेयर सदस्य तथा बालबचतकर्ता गरी ०८० असार मसान्त सम्ममा जम्मा चौतिस हजार तिन सय चौतीस जना हुनुहुन्छ । यसमध्ये छ हजारको हाराहारीमा संस्थाका शेयर सदस्य तथा बालबचतकर्ता अस्थायी रुपमा वा कोही कोही बसाई सरेर स्थायी रुपमा काठमाण्डौ बसोबासस गर्नुहुँदोरहेछ । उहाँहरुको माग भनेको यस बिषम परिस्थितिमा पनि दोलखाकै जसरी सेवा दिनेगरी काठमाण्डौमा सेवाकेन्द्र चाहियो भन्ने रह्यो । यसै मागलाई सम्बोधन गर्न सहकारी एकीकरणको माध्यमबाट काठमाण्डौमा सेवाकेन्द्र सञ्चालन भएको हो । यो सेवाकेन्द्र सञ्चालनमा आएपछि उहाँहरुले प्रभावकारी सेवा लिन पाउँदा खुसी हुनुभएको छ । यो खुसीपनले विधि सहित खुसी सदस्य भन्ने संस्थाको नारा सफल भएको महसुस भएको छ ।
यस्तै अवस्था विद्यमान रहे सहकारीको भविष्य अन्यौलतर्फ उन्मुख हुने देखिन्छ नि ? अबको बाटो के हुनुपर्छ ?
जब समस्या आउँछ त्यस अवस्थामा समस्या एक्लै आएको हुदैन साथसाथै समाधान पनि आएको हुन्छ । समस्या आउनु भनेको सुधार गर्ने मौका हो । समस्या आउँदैमा अन्योलमा पर्ने होइन । समाधानको खोजीमा लागिहाल्नु पर्दछ । त्यसपछि अन्यौलबाट मुक्ति पाईन्छ । सहकारीको अन्तर्राष्ट्रिय इतिहास हेर्दा भविष्य अन्यौल नै हुने भन्ने आधारहरु छैन । हामीले अबको दिनमा पूर्ण रुपमा सहकारीको सिद्धान्त, मुल्यमान्यतालाई हृदयमा राखेर मनन् गर्दै राज्यमा प्रचलित सहकारी ऐन, नियमावली, मापदण्ड, नियमनकारी निकायको निर्देशन परिपत्र, पल्र्स अनुगमन प्रणाली, संस्थाको विनियम, विभिन्न कार्यविधिहरुलाई आधार मानि संस्था सञ्चालन गर्नुपर्दछ । सहकारी संस्थालाई संस्थाका शेयर सदस्यहरुले आफ्नो संस्था भन्ने वातावरण सृजना हुनुपर्दछ । सहकारी संस्थालाई साँच्चै नै समुदायमा आधारित बनाएर सञ्चालन गर्नुपर्दछ । अबका दिनमा सहकारी संस्थाहरुले संस्थाको सम्पत्ति दायित्व व्यवस्थापनमा विशेष ध्यान दिई सदस्य हितोन्मुख हुनुपर्दछ ।