माधव नेपाल नेतृत्वमा दर्ता हुन लागेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी दर्ताका लागि नेकपा एमालेका ५४ केन्द्रीय सदस्यले सनाखत गरेका छन् । नयाँ दल दर्ताका लागि बुधबार निर्वाचन आयोग पुगेर ५४ जनाले सनाखत गरेका आयोग स्रोतले जनाएको छ ।
सरकारले दल विभाजनका लागि २० प्रतिशत केन्द्रीय सदस्य वा संसदीय दलका सदस्य भए पुग्ने गरी अध्यादेश ल्याएपछि माधव नेपाल समूह नेकपा(एमाले)बाट छुटिएर नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका थिए । आयोगले यसअघि नेपाल समुहले माग गरेको नेकपा(एमाले–समाजवादी) नाम भने राख्न नमिल्ने बताएपछि नेकपा(एकीकृत समाजवादी) नाममा दल दर्ता गर्ने प्रक्रिया अघि बढेको हो ।
नेकपा एमालेले दलत्यागको कारबाही गरेका १४ सांसदमध्ये ९ जना सांसदले पनि बुधबार नयाँ पार्टी दर्ताका लागि सनाखत गरेका छन् । उनीहरुको हस्ताक्षरलाई मान्यता दिने वा नदिने आयोगले टुंग्याउनुपर्ने हुन्छ ।
त्यस्तै वरिष्ठ नेता झलनाथ खनालले दिल्लीबाट गरेको सनाखतलाई पनि मान्यता दिने वा नदिनेबारे आयोगले निर्णय गर्नुपर्नेछ ।