शनिबार, आश्विन १७ गते २०८३

एम् सि सि चाहिँदैन

भाद्र ८, २०७८ मंगलबार
एम् सि सि चाहिँदैन

Indranarayan.jpg

इन्द्रनारायण सुबेदी

{शार्दूलविक्रीडित-अभ्यास मेकासाम}
            
==================================

सित्यैँ के उपहार दिन्छ कसले यो देशको नाउँमा
यो चर्चा छ जताततै शहरमा बस्ती कुना गाउँमा
कौडीको भरमा यता मुलुकको बेचेर स्वाधीनता
खोटो एम् सि सि ल्याइयो यदिभने हामी पुगौँला कता।१।

हाम्रो देश झुकेन विश्वभरमा खेपी पराधीनता
भोगेको पनि छैन कायर बनी दासत्व औ हीनता
आफ्ना अग्रजको बहादुरपना राखेर ठाडो शिर
नेपाली प्रतिकारमा अब जुटून् सम्झेर यो मन्दिर।२।

आफ्नो भन्नु रहन्न भित्र वशमा काटिन्छ आफ्नै जरा
खेल्छन् नित्य परेड सैन्य परका पारेर नाङ्गो धरा
त्यस्तो एम् सि सि चाहिँदैन घरको मासेर सग्लो चर
बन्दा नोकर साहुको चरणमा अस्तित्व के हुन्छ र।३।

अग्ला पर्वत शैल फाँट हरिया समृद्ध पाखा बन
खोला ताल ठुला हिमालयहरू नेपालका यी धन
खानी दुर्लभ रत्न एम् सि सि यहाँ गर्ला सधैँ दोहन।
साक्षी राक्दछ लुट्न मात्र कसरी थामिन्छ हाम्रो मन।४।

रोटी खोस्दछ हातको र कनिका फालेर लोभ्याउँछ
आँखा छल्न नयाँ नयाँ किसिमका के योजना ल्याउँछ
बल्छी भित्र लुकाउँदै सतहमा फालिन्छ चारो तर
कस्तो हालत हुन्छ भोलि त्यसमा पर्नेहरूको भर।५।

आफ्नै मौलिकतासँगै विगतका संस्कार औ संस्कृति 
नेपाली इतिहासमा अमर छन्  सद्भावका पद्धति 
निल्छन् भोलि परन्तु देश तिनले बोकेर भारीहरू
बन्छौँ मालिक भक्त नोकर कतै के गर्न सक्छौँ अरू।६।

बन्दीझैँ हुनुपर्छ नागरिकले आफ्नै धरामा जब
माटोले सहदैन नित्य लुटिँदा यो देशको वैभव।
धर्ती यो रणभूमि बन्छ कहिले पर्दैन फैलाउन 
यस्तो घातक योजना जहरझैँ नेपाल मैल्याउन।७।

पासा एम् सि सिको बसी महलमा निर्धक्क खेल्नेहरू
राखी बन्धक देशभित्र जनता डस्ने र पेल्नेहरू
स्वार्थी शासक बन्चरो किन अहो आफ्नै घुँडामा अब
हान्छन्  पागलझैँ बिकी डलरमा मान्दै ठुलो उत्सव।८।

सारा छिद्र अमेरिकी जनहरू नेपालको देख्दछन् 
बिस्तारै गडमा छिरेर शिरमा निर्धक्क्क भै टेक्दछन् 
घोडा बन्नु पर्‍योभने मुलुकमा के हुन्छ हाम्रो गति
सोच्नै पर्छ विवेकसाथ पहिल्यै हुन्छन् हजारौँ क्षति।९।

यो लाचारपना दरिद्र मनको सङ्कीर्ण यो चिन्तन 
हो यो प्रेरित स्वार्थको घर यही खोटो भिखारीपन
थापी हात झुकी झुकी मुलुक यो सुम्पेर सौगातमा
मिल्ने छैन कदापि सम्झ कहिल्यै लड्डु दुबै हातमा।१०।
     
ऊर्जा शक्ति युवा जमात घरको पाखा लगाई सब
गर्छन् एम् सि सि को सधैँ भजन जो सम्झी ठुलो उत्सव
ती पाखण्ड चरित्रको छ घरमा हालीमुहाली जब
बिक्ने छन् सब सम्पदा मुलुकका पारेर नाङ्गो अब।११।

आफ्नो स्वार्थविना दुराशयविना त्यो स्नेह देखाउन
बारम्बार अमेरिका किन सधैँ चाह्यो यता धाउन
हाम्रा शासकको कठोर दिलमा पस्दैन केही चिसो
ती आएपछि जम्दछन् अनि यतै जामेर बन्छन् लिसो।१२।

जग्गा गुन्द्रुकमा कुनै बखतमा साट्थे यहाँ साहुले
भुल्स्याई बनबास भो गरिबको त्यस्तै कुनै दाउले
छिर्छन् भित्र अमेरिकी मुलुकका चण्डाल बाठाहरू
डाक्छन् बाघ शिकार बन्न घरमा छन् मूर्ख पाठाहरू।१३।

घाँटी ङ्याक्छ निचोर्छ भोलि कसले हेक्का नराखेपछि 
जे जे दिन्छ दिमाग भुट्न रसिलो निर्लज्ज चाखेपछि 
थाङ्नाभित्र सुताइदिन्छ सजिलै आन्द्राभुँडी खोल्दछ
त्यै हो एम् सि सि को रहस्य यसको अन्तर्यमा बोल्दछ।१४।

सत्तामाथि चढाउने पनि उही तानेर झार्ने उही 
नेपाली घरबाट बाहिर कतै खेद्ने लघार्ने उही 
गर्दै दोहन भित्रभित्र घरको सर्वस्व पार्ने उही 
पस्छौँ एम् सि सि खोलमा यदिभने हो काल मार्ने उही।१५।

देख्दैछौँ अफगानको उदरमा गोला बजार्ने उही
कैँयौँ देश मिचेर निर्मम बनी झन्डा उतार्ने उही
जो लाग्दैन पछाडि पुच्छर बनी ठानेर त्यो दुश्मन 
खेदो गर्छ अमेरिका छ उसको पाषाण जस्तो मन।१६।

छैनन् भारत चीन मित्र उसका सन्तुष्ट छैनन् किन
थुन्दै मार्ग डटेर रोक्छ तिनको एकाधिकारी हुन
गर्ने गर्छ थिचोमिचो जतिसुकै बाना लगाए पनि
खेलाएर पछार्छ नित्य उसको गाना नगाए पनि।१७।

जो जो बिक्दछ किन्छ पार्छ वशमा राखेर सेकाउँछ
लाई नित्य नकाप लक्ष्य उसको त्यो मात्र देखाउँछ
जो बिक्दैन घुमाउदै नबुझिँदो षड्यन्त्रमा पार्दछ
धम्की लाउँछ जाल बुन्दछ कतै सेखी स्वयं झार्दछ।१८।

धेरै छन् नमुना विभेद उसका काला र गोराहरू
आफ्नै भाइसँगै छ दुश्मन भने के राख्छ बाँकी अरू
जो छन् बेकुफ अन्धभक्त उसका जम्मै डसिन्छन् जब
हाम्रा एम् सि सि वाज फस्न दहमा व्यर्थै कसिन्छन् अब।१

खाएको छ भने मिठो र मसिनो त्यो झट्ट फिर्ता गर
आफैँमा छ अजेय शक्ति बुझ यो आफैँ बनी निर्भर 
पुर्खाको पसिना विरासत ठुलो चोखो छ यो कन्चन
जोगाऔँ दिनुहुन्न यो घर उसै माटो खरानी हुन।२०।

के सुङ्छ्न् र रमाउँछन् दिनदिनै सङ्कीर्ण हाम्रा दल
थाप्छन् आसिक लाज छैन यिनमा देखेर हाँस्छन् खल
यो लाचारपना घृणा र भयको खोलेर घुम्टो पनि
हामी बन्न सकौँ सफा हृदयका स्वाधीनताका धनी।२१।

हाम्रा मित्र छिमेकका र परका छन् देश संसारका
छन् सम्पन्न विपन्न वा जतिसुकै छन् भिन्न आकारका
त्यो अस्तित्व र मानवीय ममता सद्भाव मैत्रीपन
जोडौँ एम् सि सि भित्रको जहरले खुल्दैन हाम्रो मन।२२।

मेरो तागतले खिचेर दुनियाँ संसार एक्ल्याउँछु
जो टेर्दैन म दिन्न उठ्न कहिल्यै तानेर बेग्ल्याउँछु
भन्ने हैकम वृत्ति हुन्न युगको नेतृत्व संवाहक
पासो एम् सि सि को बुनेर कहिल्यै नेपाल उद्धारक।२३।

आयो भारतवर्षभित्र पहिले बेलायती कम्पनी
गाड्यो भित्र जरा उदाहरणको साम्ने छ चेतावनी 
बुझ्नै पर्छ धराप थाप्नु पहिले आस्तित्व आफ्नो अब
आफैँ गर्न सकौँ विकास घरको आफैँ गरौँ गौरव।२४।