बुधबार, भाद्र ३ गते २०८३

विकल्प नौलो कि त खोज्नुपर्दछ


जेठ २६, २०८० शुक्रबार
विकल्प नौलो कि त खोज्नुपर्दछ
विकल्प (वंशस्थ)
=================================
चिरा चिरा छन् मुटुका कुनाहरू
उखेलिँदै छन् कलिला मुनाहरू
छ काख रित्तो घर शून्य जीर्ण छ
मुहार पीडामय झन् विदीर्ण छ।१।
 
बनेर जालन्धर छद्म भेषमा
लुटेर खाने सुरसा स्वदेशमा
कुलीनबाटै लुछिँदैछ आबरु
नसा नसाका धमनी शिराहरू।२।
 
हिमाल तिम्रो शिरको सुहागमा
मुसुक्क हाँस्ने मधुमास बागमा
छ बक्र आँखा छलकारको अब
रजाइँको निन्दित त्यो महोत्सव ।३।
 
अजेय सन्तान थिए तिमीसित
विवेक राख्ने जननी-समर्पित
झुकेन आदर्श र त्यो उचो शिर
बनेर निर्धो निमुखो कतैतिर।४।
 
अभेद्य भूमण्डल यो धरा थियो
समान आत्मीय परम्परा थियो
मिलेर बस्ने सब जातिको घर
थिएन यो खण्डित रुग्ण जर्जर।५।
 
कहाँ छिपिन्छन् गुण ती सशक्तका
कथा पढिन्छन् अझ भानुभक्तका
खुँडा उचाली बलभद्रको शिर
खडा छ टिष्टा अझ काङ्गडातिर।६।
 
थिएन यो देश गुलामको घर
विदेश काँप्थे बनिएर थर्थर
रहेन त्यो साख र चेत चिन्तन
कता हराएर गयो दिनैदिन।७।
 
यसै धराभित्र युवा जमातको
बहन्छ चोखो जब शिल्प हातको
अभाव केही पनि हुन्न आखिर
अठोट सङ्कल्प रहे सबैतिर।८।
 
कुकाठमा ती धमिरा पसेसरि
पसेर नेतृत्व रहे सधैँभरि
हुँदैन सग्लो कहिल्यै कुनै घर
रहन्छ अस्तित्व उखेलिने डर ।९।
 
सधैँ रडाको छ बुढो जमातमा
लिएर नेतृत्व सदैब हातमा
गरी सुरक्षा घरका जहानको
छ चालबाजी उछिनेर खानको।१०
 
युवाहरूमा छ अजेय तागत
छिचोल्न दुर्वृत्ति यहाँ क्रमागत
सदैब दासत्व कि रोज्नुपर्दछ
विकल्प नौलो कि त खोज्नुपर्दछ।११।