काठमाडौं। नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई सरकारले प्रधानसेनापतिमा नियुक्त गर्न सिफारिस गरेको छ ।
सिंहदरबारमा हिजाे बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई महारथी दर्जामा पदोन्नति गरी प्रधानसेनापतिमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन्।
अर्काे एक निर्णयानुसार सरकारले यही भदौ ७ गते पर्ने गाइजात्रा पर्वमा यसअघि काठमाडौँ उपत्यकाका लागि मात्र सार्वजनिक बिदा दिँदै आएकामा त्यस अवसरमा मुलुकभरका नेवार समुदायका लागिसमेत सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
त्यसैगरी बैठकले यही भदौ १४ गते कृष्णजन्माष्टमी पर्वमा सार्वजनिक बिदा दिने समेत निर्णय गरेको कार्कीले बताएका छन् ।