अफगानिस्तानकाे राजधानी काबुलसहित सम्पूर्ण अफगानिस्तानमाथि कब्जा गर्न सफल भएपछि हिजाे तालिबानले आयोजना गरेको पहिलो पत्रकार सम्मेलनमा प्रवक्ता जबिहुल्लाह मुजाहिदले ''२० वर्षको सङ्घर्षपछि देशलाई मुक्त गरेको र विदेशीहरूलाई निकालेको'' घाेषणा गरेका छन्।
मुजाहिदले भने -''यो पूरै देशका लागि गर्वको क्षण हो।'' ''अफगानिस्तान अब द्वन्द्वको रणभूमि नहुने हामी सुनिश्चित गर्न चाहन्छौँ,'' उनले थप स्पष्ट पारे ।
उनले थप के पनि प्रष्ट भनेका छन् भने -''हामीविरुद्ध लडेका सबैलाई हामीले माफी दिएका छौँ। हामी बाह्य वा आन्तरिक शत्रु चाहँदैनौँ।''
याे पहिलाे पत्रकार सम्मेलनमा मुजाहिदले कसैलाई पनि हानि नगर्ने अन्तर्राष्ट्रिय समुदायलाई विश्वास दिलाउन चाहेको बताए।
मुजाहिदले आफूहरू शरिया कानुनका आधारमा महिलाहरूको हक अधिकारप्रति प्रतिबद्ध रहेको उनले जानकारी दिए।
मुजाहिदले थप भने- ''उनीहरूले हामीसँग काँधमा काँध मिलाएर काम गर्नेछन्। हामी अन्तर्राष्ट्रिय समुदायलाई विश्वास दिलाउन चाहन्छौँ कि भेदभाव गरिनेछैन।''
त्यस अवसरमा तालिबानले आफ्नो सांस्कृतिक ढाँचाभित्र रहेर सञ्चारमाध्यमप्रति प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहेको जनाएको छ।
पत्रकार सम्मेलनका क्रममा प्रवक्ता मुजाहिदले भने, ''निजी क्षेत्रका सञ्चारमाध्यमहरू स्वतन्त्र र निष्पक्ष रहिरहन पाउनेछन्।''
सञ्चारकर्मीहरूले गरेको प्रश्नको उत्तर दिँदै तालिबान नेतृत्वले विदेशी संस्थाहरूसँग काम गरेका ठेकेदार र दोभासेहरूसँग बदला नलिइने पनि जनाएको छ।
''कसैप्रति बदलाको भाव देखाइने छैन,'' मुजाहिदले प्नष्ट भने ।
आफ्नो देशमा हुर्किएका युवाहरूले देश नछोडून् भन्ने आफूहरले चाहेको र युवाहरू देशको सम्पत्ति रहेको पनि प्रवक्ता मुजाहिदले उल्लेख गरे ।
त्यस अबसरमा कसले कसका लागि काम गरिरहेका छन् भन्ने कुरा सोध्न कसैको पनि ढोका नढकढकाइने उनले प्रष्ट भनेका थिए।
पत्रकार सम्मेलनमा तालिबान प्रवक्ताले सञ्चारकर्मीहरूको प्रश्नको उत्तर दिँदै सरकार गठन भएपछि कस्तो कानुन ल्याउने भन्ने कुराबारे निर्णय गरिने जानकारी दिएका थिए ।
उनीहरू सरकार गठन गर्नका लागि गम्भीर रूपमा काम गरिरहेको र त्यो सकिए लगत्तै घोषणा हुने मुजाहिदले बताए।
त्यस अवसरमा अलकादालाई आश्रय दिन सक्ने जोखिम बारे सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा उनले ''अफगानिस्तानको भूमि कसैको विरुद्ध प्रयोग नहुने'' बताए। 'अन्तर्राष्ट्रिय समुदायलाई हामी यस बारे विश्वास दिलाउन चाहन्छौँ,''उनले खुलस्त पारे ।