मुलुकभर रहेका दुग्ध सहकारी संस्थाले दैनिक रुपमा १० लाख लिटर दुध उत्पादन गर्दै आएका छन् । केन्द्रिय दुग्ध सहकारी संघका अनुसार देशभर १८ सय ७२ दुग्ध सहकारी मार्फत दैनिक १० लाख लिटर दुध उत्पादन हुँदै आएको छ । संघका अनुसार ती सहकारी संस्था मार्फत ६ लाख परिवार किसान दुग्ध उत्पादन व्यवसायमा जोडिएका छन् । दुध विक्रि गरी दैनिक रुपमा ५ करोड रुपैया सहकारी मार्फत संकलन हुदैँ आएको छ ।
दुध विक्रि गरी शहरको पुँजी गाँउमा पुन्याउँदै आएको र सहकारीले गरिव तथा विपन्न वर्गलाई आयआर्जनमा टेवा दिने काम गरेको संघका अध्यक्ष अम्मर बहादुर कुँवरले बताए । वैदेशिक रोजगारमा गएका युवाहरुलाई समेत सहकारीमा आवद्ध गरी दुध उत्पादनमा लगाएको र मुलुकलाई दुधमा आत्मनिर्भर बनाउने सकिने उनले बताए । दुधमा मुलुक आत्मनिर्भर भई विदेशमा समेत निर्यात गर्न सक्ने सम्भावना रहेको भए पनि सरकारले दुग्ध उत्पादन पेशालाई धराशायी बनाउने गरी राष्ट्रिय दुग्ध विकास वोर्डको सिफारिसमा वाह्य मुलुकबाट एक लाख २० हजार दुध आयातका लागि कृषि तथा पशुपंन्छी विकास मन्त्रालयमा सिफारिस भएकोप्रति संघले आपति जनाएको छ । नेपालमा दैनिक ३ लाख धुलो दुध बनाउन सकिने क्षमताको उद्योगहरु रहेको संघले जनाएको छ । तर उद्योग र दुग्ध विकास संस्थानले किसानको दुधको भुक्तानी समयमा नगर्ने, दुर दराजको दुध नल्याउने र आनाकानी गर्ने एव दुधको अभाव भयो भन्ने तथ्यहिन र भ्रामक समचार छर्न उद्यत उधोगीहरुलाई प्राथमिकता दिनु गलत भएको संघले जनाएको छ ।
वोर्डले किसानको अभिभावकत्व निर्वाह गर्नु पर्नेमा विपरित कार्य गरेकोप्रति संघको ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । वोर्डको तथ्याङ्क अनुसार ४० प्रतिशत औपचारिक र ६० प्रतिशत अनौपचारिक क्षेत्रबाट विक्रि वितरण भएको दुधलाई व्यवस्थित गर्दै युवाहरुको समेत आकर्षण रहेको यो क्षेत्रलाई वाह्य मुलुकबाट कच्चा दुध तथा दुग्धजन्य आयात गरे दुग्ध किसानहरु पलायन हुनुपर्ने अवस्था सृजना हुने संघको भनाई छ । गत बैशाख ५ गते संघले वोर्डलाई कच्चा दुध तथा दुग्ध पदार्थ आयात रोक्न पत्र समेत पेश गरेको जनाएको छ । फ्लस सिर्जनमा दुधलाई उद्योगीहरुले पाउडर बनाई भण्डारण गरिरहेको विषयलाई वेवास्ता गर्दै दुध आयातको सिफारिस गर्नु गलत भएको संघको धारणा छ । विदेशबाट दुध आयात गर्नु भन्दा पनि दुधमा आत्मनिर्भर हुने बाटो खोज्न संघले सरकारसँग माग गरेको छ । नेपालमा उत्पादन भएको छुर्पि विदेशमा समेत निर्यात हुँदै आएको तथ्याङ्कले देखाउँछ ।