बुधबार, भाद्र ३ गते २०८३

‘‘यसपटककाे वर्कसपमा सहभागिबीचकाे अन्तर्क्रियामा जाेड दिइएकाे छ’’

फाल्गुण १७, २०७९ बुधबार
‘‘यसपटककाे वर्कसपमा  सहभागिबीचकाे अन्तर्क्रियामा जाेड दिइएकाे छ’’

सीइओ वर्कसपमा म्यानेजर्स क्लबको भूमिका 

सीइओ वर्कसप व्यवस्थापनमा म्यानेजर्स क्लबको भूमिका रहेको छ । वर्कसप कसरी सञ्चालन गर्ने भन्ने बारेमा म्यानेजर्स क्लबले सल्लाह दिएको छ । त्यसैगरी वर्कसपको कन्टेन्ट के राख्ने भन्नेमा हामीले आइडिया दियौं । थिम तयार गर्नेदेखि, कुन विषयलाई फोकस गर्ने लगायतका कुरामा नेफ्स्कुनको टिमसँग हाम्रो छलफल चलेको थियो । बढीभन्दा बढी सहभागिता जुटाउने विषयमा पनि म्यानेजर्स क्लबको भूमिका रहेको छ । यसपटक वर्कसपमा ‘हिरोज अफ साकोस’ नामक सेसन पनि छ । त्यसमा म्यानेजर्स क्लबको संयोजकको नाताले मैले छोटो प्रस्तुतिकरण गर्ने र त्यसपछि केहि सफल सहकारीका व्यवस्थापकहरुले अनुभव साट्ने तयारी गरिएको छ । जसमा साकोसका महिला सीइओको पनि अनुभव आदानप्रदान हुनेछ ।

कार्यक्रम सञ्चालनको प्रक्रियाका लागि पनि हामीले केहि सुझाव दिएका छौं । त्यसैले विगतको भन्दा यसपालिको वर्कसप केहि फरक हुनेछ । विगतमा उद्घाटन पछि संयुक्त सेसन एकदुईवटा हुन्थ्यो र बिचमा २ वटा ग्रुप बनाइन्थ्यो । विषयवस्तु र रिसोर्स पर्सनको आधारमा कुनै ग्रुपमा धेरै सहभागि हुने र कुनै ग्रुपमा सहभागि नै नहुने समस्या थियो । एउटा ग्रुपमा के डिस्कसन भयो भन्ने कुरा अर्को ग्रुपले सुन्न नै पाएनन् । त्यसैले अहिले सबै सेसन प्लेनरी गर्ने सुझाव दिएका छौं । जतिवटा कार्यपत्र प्रस्तुत हुन्छन्, सबै सेसनमा सहभागि हुन पाउने वातावरण अहिले छ । 

सहभागिता बढाउन क्लबको भूमिका

म्यानेजर्स क्लबमा ७ वटै प्रदेशका सीइओ हुनुहुन्छ । प्रदेशगत रुपमा हामीले उहाँहरुलाई जिम्मा दिएका छौं । आफ्नो प्रदेशमा सहभागिता वृद्धि गर्न पहल गर्न हामीले भनेका छौं । अहिले सीइओ वर्कसपमा लागत केहि बढी छ । यसले पनि केहि संस्थाहरु हच्किएका छन् । अर्कोतर्फ गोष्ठीमा सहभागि हुने भन्दा पनि अहिलेको अवस्थामा संस्था कसरी बचाउने भन्ने प्रश्न छ । धेरैजना नयाँ कुरा सिक्ने भन्दापनि संस्था कसरी बचाउने भन्ने ध्याउन्नमा छन् । 

यो गोष्ठीबाट नयाँ इन्पुटहरु आउँछ र संस्था चलाउन सहयोग पुग्छ भनेर हामीले लक्षित साकोसका व्यवस्थापकहरुलाई अनुरोध गरेका छौं । ४०० जनाको टारगेट भएपनि ३०० जनासम्म सहभागी भए गोष्ठी राम्रोसँगै चल्छ भन्ने अपेक्षा छ । अहिलेको गोष्ठीको थिम पनि त्यही अनुसार राखेकाले वर्कसप प्रभावकारी हुन्छ भनेर सहभागि हुन सबैलाई अभिप्रेरित गरेका छौं । प्रविधियुक्त सेवा र सुशासन, दिगो साकोस र छवि निर्माणका लागि जिम्मेवार  व्यवस्थापन भन्ने थिम रहेको छ । व्यवस्थापकलाई जिम्मेवार बनाइयो भने संस्था प्रभावकारी रुपमा अगाडि बढ्छ भन्ने हाम्रो विश्वास छ । 
जुन संस्थामा प्रविधि भित्रिएको छैन, संस्था धर्मराउने अवस्थामा पुगेको छ भने त्यसको जिम्मेवार मुख्य रुपमा व्यवस्थापक हो भन्ने हिसाबले थिम तय भएकाले गोष्ठीमा सहभागी भएपछि संस्थालाई प्रविधिमैत्री बनाई सुशासनमा अगाडि बढाई दिगो बनाउन सक्छौं भन्ने आत्मबल बढाउँछ । सञ्चालक समिति तथा उपसमितको कार्यकाल ४ वर्षको हुन्छ । उहाँहरु भन्दापनि संस्थालाई सुशासनयुक्त र दिगो रुपमा अगाडि बढाउने भनेको व्यवस्थापकले नै हो । व्यवस्थापक स्थायी हुन्छन् । सबै कुरामा व्यवस्थापक सक्षम भए सहकारी संस्था समस्यामा पर्दैन । क्वालिटी एस्योरेन्स अन्तर्गत एक्सेस र प्रोवेशन ब्राण्डमा प्रवेश गरेका संस्थामा अहिले पनि समस्या छैन । त्यसको मतलब ती संस्थाले सुशासन कायम गरेका छन् । जिम्मेवार व्यवस्थापक भएका छन् । प्रविधिहरु सबै भित्राएका छन् । नयाँ अनुभव शेयरिङ भएको छ । संस्थाहरुबीच हरेक ३ महिनामा कार्यक्रम र आइडिया शेयरिङ हुन्छ । यसले गर्दा संस्था सुरक्षित भएका छन् । संस्था प्रविधियुक्त र सुशासनयुक्त कसरी बनाउने भनेर व्यवस्थापकलाई जिम्मेवार बनाउनु नै वर्कशपको उद्देश्य हो । नेफ्स्कुनको सहयोगी अंग म्यानेजर क्लब भएको नाताले हामीले सपोर्ट गरिराखेका छौं ।

वर्कसपबाट उपलब्धी

यस्ता गोष्ठीमा सहभागिता जनाउँदा सहभागिले धेरै लाभ लिन सक्छन् । यसलाई कसरी लिने भन्ने कुरा हो । अरु केहि बुझिएन भने पनि साकोसका व्यवस्थापकहरुसँग चिनजान र भेटघाट हुन्छ । यो नै ठूलो उपलब्धी हो । त्यसैगरी सहकारीका विद्यमान समस्यालाई समाधान गर्ने विषयका सेसन रहेका छन् । गोष्ठीबाट केहि न केहि उपलब्धी पक्कै पनि हुन्छ । कतिपय साथीहरुले लागत बढी भयो भनेर प्रश्न उठाउनुभएको छ । कतिपयले तारे होटलमा नगरेको भए हुन्थ्यो भन्नुभएको छ । सानोतिनो होटलमा चारपाँचसय जना बसेर गोष्ठी गर्न सम्भव नहुने रहेछ । अर्कोतर्फ विदेशी प्रशिक्षकहरु पनि भएकाले कार्यक्रमको गरिमालाई कायम गर्नुपर्ने हुन्छ । रिसोर्स पर्सनहरु विदेशी समेत भएकाले स्टाण्डर्ड मेन्टेन गर्नैपर्यो । उहाँहरुबाट कस्तो ठाउँमा कार्यक्रम गरे भन्ने पनि आउन सक्छ छ । जसले गर्दा शुल्क केहि महँगो भएको छ । तापनि गोष्ठी उपलब्धिमूलक हुनेछ । एक दिनको कार्यक्रम भए उपलब्धीमुलक हुँदैन कि भन्ने हुन्थ्यो । दुईदिने भएकाले प्रभावकारी नै हुन्छ । 

अहिलेको अवस्थाको बारेमा पनि सीइओहरुको अनुभव बढीभन्दा बढी आदानप्रदान गर्ने भनेका छौं । अन्तर्राष्ट्रिय स्तरमा कसरी साकोसहरुलाई दिगो बनाइएको छ? अन्य देशमा कस्तो ऐन छ? सहकारीका समस्यामा छाता संघले मात्रै लबिङ गर्छ भनेर बस्नुभएन । हामीले यो पाटोमा सुधार आवश्यक छ भनेर फिडब्याक दिनुप¥यो । त्यसका लागि केहि कन्टेन्टहरु ल्याउनुपर्छ । गोष्ठीको अन्त्यमा घोषणापत्र जारी हुन्छ । त्यसबाट केहि मार्गप्रशस्त हुन्छ । व्यवस्थापकहरुले सिकेपछि सञ्चालकहरुलाई पढाउन बुझाउन सजिलो हुन्छ । करिब डेढ घण्टाको सेसनमा ४५ मिनटको प्रस्तुतिकरण र ४५ मिनटको अन्तक्र्रिया गर्ने भनेका छौं । छलफलबाट धेरै कुरा आउँछ । विद्यमान समस्याको बारेमा रिसोर्स पर्सन र आधिकारिक व्यक्तिहरुबाट समाधानको उपाय सुझाइनेछ । विगतमा प्रस्तुतकर्ताले एकोहोरो कार्यपत्र प्रस्तुत गर्ने मात्र हुन्थ्यो । यसपटक सहभागीबीच प्रशस्तै छलफलको कार्यक्रम तय भएको छ । सहभागीहरुले आफ्ना प्रश्न राख्न नसक्ने र समाधान आउनेगरी रिसोर्स पर्सनले जवाफ दिनुहुनेछ । यो वर्कसपले वेआउट गर्छ । 

विगतका वर्कसपको अनुभव

सहकारी अभियान कसरी अगाडि बढेको छ र कुन पाटोमा फोकस गर्ने भनेर होमवर्क गरे नै नेफ्स्कुनले कार्यक्रम बनाउँछ । सहकारी संस्थामा देखिएको समस्यालाई निराकरण गर्ने उद्देश्यले यस्ता कार्यक्रम गर्ने हो । कार्यक्रमको लागि कार्यक्रम भन्दापनि संस्थाहरुसँग छलफल र अध्ययन गरेर तय गर्ने हो । त्यसलाई उपलब्धीमूलक बनाउने कुरामा सहभागी र संस्थामा भर पर्छ । कतिपय सहभागी रमाइलोको लागि गोष्ठीमा आउँछन् । कतिपयले सिक्ने, चिनजान गर्ने गर्छन् । त्यसैगरी जुन संस्थाले अनुभव सुनाउँछन्, त्यो संस्था अवलोकन गर्ने बातावरण पनि बन्छ । केहि न केहि त उपलब्धी पक्कै हुन्छ ।

सहकारी संस्थाले धेरै खर्च गर्नुहुँदैन भन्ने सोच छ । मानव संशासनमा गरेको लगानी उपलब्धीमूलक हुन्छ । संस्थामा समस्या आयो भनेन चुप लागेर बसेर समाधान हुँदैन । हामीले संस्थामा पनि सञ्चालक समिति, कर्मचारी र सदस्यमाझ छलफल र अन्तर्क्रिया  गरिराखेका छौं । त्यसो भए यो पनि किन गर्ने भन्ने कुरा आउँछ । म्यानेजरको क्षमता अभिवृद्धि गर्ने र संस्थालाई कसरी सुरक्षित र दिगो बनाउने भन्ने गाइडलाइन दिने हो । सदस्यको बचतलाई सुरक्षित बनाउने क्षमता पक्कै बढ्छ । साकोसको अभियानमा मानव संशाधनलाई क्षमतावान बनाउन सकिएको छैन । बैंकका कर्मचारीको क्षमता कति माथि छ ? हामी पनि बचतऋण नै गर्छौं । बैंकिङ कारोबार नै गर्ने भएकाले क्षमता अभिवृद्धि भएन भने संस्था जोखिममा पर्छ । अवस्था र समय ठिक नहोला तर व्यवस्थापककको क्षमता अभिवृद्धि गर्ने काम रोकिनु हुँदैन । यो निरन्तर चल्नुपर्छ । संस्था आफैंले आयोजना गरे भएपनि क्षमता अभिवृद्धि गर्नैपर्छ । नेपालभरका सीइओहरु सहभागि हुने भएकाले गोष्ठीले राम्रो सन्देश दिन्छ । साकोस अभियानलाई यसरी लैजानुपर्ने रहेछ भनेर मार्गप्रशस्त गर्छ । 

 

(क्लब संयाेजक लामासँगकाे कुराकानीकाे सारसंक्षेप)