सीइओ वर्कसपमा म्यानेजर्स क्लबको भूमिका
सीइओ वर्कसप व्यवस्थापनमा म्यानेजर्स क्लबको भूमिका रहेको छ । वर्कसप कसरी सञ्चालन गर्ने भन्ने बारेमा म्यानेजर्स क्लबले सल्लाह दिएको छ । त्यसैगरी वर्कसपको कन्टेन्ट के राख्ने भन्नेमा हामीले आइडिया दियौं । थिम तयार गर्नेदेखि, कुन विषयलाई फोकस गर्ने लगायतका कुरामा नेफ्स्कुनको टिमसँग हाम्रो छलफल चलेको थियो । बढीभन्दा बढी सहभागिता जुटाउने विषयमा पनि म्यानेजर्स क्लबको भूमिका रहेको छ । यसपटक वर्कसपमा ‘हिरोज अफ साकोस’ नामक सेसन पनि छ । त्यसमा म्यानेजर्स क्लबको संयोजकको नाताले मैले छोटो प्रस्तुतिकरण गर्ने र त्यसपछि केहि सफल सहकारीका व्यवस्थापकहरुले अनुभव साट्ने तयारी गरिएको छ । जसमा साकोसका महिला सीइओको पनि अनुभव आदानप्रदान हुनेछ ।
कार्यक्रम सञ्चालनको प्रक्रियाका लागि पनि हामीले केहि सुझाव दिएका छौं । त्यसैले विगतको भन्दा यसपालिको वर्कसप केहि फरक हुनेछ । विगतमा उद्घाटन पछि संयुक्त सेसन एकदुईवटा हुन्थ्यो र बिचमा २ वटा ग्रुप बनाइन्थ्यो । विषयवस्तु र रिसोर्स पर्सनको आधारमा कुनै ग्रुपमा धेरै सहभागि हुने र कुनै ग्रुपमा सहभागि नै नहुने समस्या थियो । एउटा ग्रुपमा के डिस्कसन भयो भन्ने कुरा अर्को ग्रुपले सुन्न नै पाएनन् । त्यसैले अहिले सबै सेसन प्लेनरी गर्ने सुझाव दिएका छौं । जतिवटा कार्यपत्र प्रस्तुत हुन्छन्, सबै सेसनमा सहभागि हुन पाउने वातावरण अहिले छ ।
सहभागिता बढाउन क्लबको भूमिका
म्यानेजर्स क्लबमा ७ वटै प्रदेशका सीइओ हुनुहुन्छ । प्रदेशगत रुपमा हामीले उहाँहरुलाई जिम्मा दिएका छौं । आफ्नो प्रदेशमा सहभागिता वृद्धि गर्न पहल गर्न हामीले भनेका छौं । अहिले सीइओ वर्कसपमा लागत केहि बढी छ । यसले पनि केहि संस्थाहरु हच्किएका छन् । अर्कोतर्फ गोष्ठीमा सहभागि हुने भन्दा पनि अहिलेको अवस्थामा संस्था कसरी बचाउने भन्ने प्रश्न छ । धेरैजना नयाँ कुरा सिक्ने भन्दापनि संस्था कसरी बचाउने भन्ने ध्याउन्नमा छन् ।
यो गोष्ठीबाट नयाँ इन्पुटहरु आउँछ र संस्था चलाउन सहयोग पुग्छ भनेर हामीले लक्षित साकोसका व्यवस्थापकहरुलाई अनुरोध गरेका छौं । ४०० जनाको टारगेट भएपनि ३०० जनासम्म सहभागी भए गोष्ठी राम्रोसँगै चल्छ भन्ने अपेक्षा छ । अहिलेको गोष्ठीको थिम पनि त्यही अनुसार राखेकाले वर्कसप प्रभावकारी हुन्छ भनेर सहभागि हुन सबैलाई अभिप्रेरित गरेका छौं । प्रविधियुक्त सेवा र सुशासन, दिगो साकोस र छवि निर्माणका लागि जिम्मेवार व्यवस्थापन भन्ने थिम रहेको छ । व्यवस्थापकलाई जिम्मेवार बनाइयो भने संस्था प्रभावकारी रुपमा अगाडि बढ्छ भन्ने हाम्रो विश्वास छ ।
जुन संस्थामा प्रविधि भित्रिएको छैन, संस्था धर्मराउने अवस्थामा पुगेको छ भने त्यसको जिम्मेवार मुख्य रुपमा व्यवस्थापक हो भन्ने हिसाबले थिम तय भएकाले गोष्ठीमा सहभागी भएपछि संस्थालाई प्रविधिमैत्री बनाई सुशासनमा अगाडि बढाई दिगो बनाउन सक्छौं भन्ने आत्मबल बढाउँछ । सञ्चालक समिति तथा उपसमितको कार्यकाल ४ वर्षको हुन्छ । उहाँहरु भन्दापनि संस्थालाई सुशासनयुक्त र दिगो रुपमा अगाडि बढाउने भनेको व्यवस्थापकले नै हो । व्यवस्थापक स्थायी हुन्छन् । सबै कुरामा व्यवस्थापक सक्षम भए सहकारी संस्था समस्यामा पर्दैन । क्वालिटी एस्योरेन्स अन्तर्गत एक्सेस र प्रोवेशन ब्राण्डमा प्रवेश गरेका संस्थामा अहिले पनि समस्या छैन । त्यसको मतलब ती संस्थाले सुशासन कायम गरेका छन् । जिम्मेवार व्यवस्थापक भएका छन् । प्रविधिहरु सबै भित्राएका छन् । नयाँ अनुभव शेयरिङ भएको छ । संस्थाहरुबीच हरेक ३ महिनामा कार्यक्रम र आइडिया शेयरिङ हुन्छ । यसले गर्दा संस्था सुरक्षित भएका छन् । संस्था प्रविधियुक्त र सुशासनयुक्त कसरी बनाउने भनेर व्यवस्थापकलाई जिम्मेवार बनाउनु नै वर्कशपको उद्देश्य हो । नेफ्स्कुनको सहयोगी अंग म्यानेजर क्लब भएको नाताले हामीले सपोर्ट गरिराखेका छौं ।
वर्कसपबाट उपलब्धी
यस्ता गोष्ठीमा सहभागिता जनाउँदा सहभागिले धेरै लाभ लिन सक्छन् । यसलाई कसरी लिने भन्ने कुरा हो । अरु केहि बुझिएन भने पनि साकोसका व्यवस्थापकहरुसँग चिनजान र भेटघाट हुन्छ । यो नै ठूलो उपलब्धी हो । त्यसैगरी सहकारीका विद्यमान समस्यालाई समाधान गर्ने विषयका सेसन रहेका छन् । गोष्ठीबाट केहि न केहि उपलब्धी पक्कै पनि हुन्छ । कतिपय साथीहरुले लागत बढी भयो भनेर प्रश्न उठाउनुभएको छ । कतिपयले तारे होटलमा नगरेको भए हुन्थ्यो भन्नुभएको छ । सानोतिनो होटलमा चारपाँचसय जना बसेर गोष्ठी गर्न सम्भव नहुने रहेछ । अर्कोतर्फ विदेशी प्रशिक्षकहरु पनि भएकाले कार्यक्रमको गरिमालाई कायम गर्नुपर्ने हुन्छ । रिसोर्स पर्सनहरु विदेशी समेत भएकाले स्टाण्डर्ड मेन्टेन गर्नैपर्यो । उहाँहरुबाट कस्तो ठाउँमा कार्यक्रम गरे भन्ने पनि आउन सक्छ छ । जसले गर्दा शुल्क केहि महँगो भएको छ । तापनि गोष्ठी उपलब्धिमूलक हुनेछ । एक दिनको कार्यक्रम भए उपलब्धीमुलक हुँदैन कि भन्ने हुन्थ्यो । दुईदिने भएकाले प्रभावकारी नै हुन्छ ।
अहिलेको अवस्थाको बारेमा पनि सीइओहरुको अनुभव बढीभन्दा बढी आदानप्रदान गर्ने भनेका छौं । अन्तर्राष्ट्रिय स्तरमा कसरी साकोसहरुलाई दिगो बनाइएको छ? अन्य देशमा कस्तो ऐन छ? सहकारीका समस्यामा छाता संघले मात्रै लबिङ गर्छ भनेर बस्नुभएन । हामीले यो पाटोमा सुधार आवश्यक छ भनेर फिडब्याक दिनुप¥यो । त्यसका लागि केहि कन्टेन्टहरु ल्याउनुपर्छ । गोष्ठीको अन्त्यमा घोषणापत्र जारी हुन्छ । त्यसबाट केहि मार्गप्रशस्त हुन्छ । व्यवस्थापकहरुले सिकेपछि सञ्चालकहरुलाई पढाउन बुझाउन सजिलो हुन्छ । करिब डेढ घण्टाको सेसनमा ४५ मिनटको प्रस्तुतिकरण र ४५ मिनटको अन्तक्र्रिया गर्ने भनेका छौं । छलफलबाट धेरै कुरा आउँछ । विद्यमान समस्याको बारेमा रिसोर्स पर्सन र आधिकारिक व्यक्तिहरुबाट समाधानको उपाय सुझाइनेछ । विगतमा प्रस्तुतकर्ताले एकोहोरो कार्यपत्र प्रस्तुत गर्ने मात्र हुन्थ्यो । यसपटक सहभागीबीच प्रशस्तै छलफलको कार्यक्रम तय भएको छ । सहभागीहरुले आफ्ना प्रश्न राख्न नसक्ने र समाधान आउनेगरी रिसोर्स पर्सनले जवाफ दिनुहुनेछ । यो वर्कसपले वेआउट गर्छ ।
विगतका वर्कसपको अनुभव
सहकारी अभियान कसरी अगाडि बढेको छ र कुन पाटोमा फोकस गर्ने भनेर होमवर्क गरे नै नेफ्स्कुनले कार्यक्रम बनाउँछ । सहकारी संस्थामा देखिएको समस्यालाई निराकरण गर्ने उद्देश्यले यस्ता कार्यक्रम गर्ने हो । कार्यक्रमको लागि कार्यक्रम भन्दापनि संस्थाहरुसँग छलफल र अध्ययन गरेर तय गर्ने हो । त्यसलाई उपलब्धीमूलक बनाउने कुरामा सहभागी र संस्थामा भर पर्छ । कतिपय सहभागी रमाइलोको लागि गोष्ठीमा आउँछन् । कतिपयले सिक्ने, चिनजान गर्ने गर्छन् । त्यसैगरी जुन संस्थाले अनुभव सुनाउँछन्, त्यो संस्था अवलोकन गर्ने बातावरण पनि बन्छ । केहि न केहि त उपलब्धी पक्कै हुन्छ ।
सहकारी संस्थाले धेरै खर्च गर्नुहुँदैन भन्ने सोच छ । मानव संशासनमा गरेको लगानी उपलब्धीमूलक हुन्छ । संस्थामा समस्या आयो भनेन चुप लागेर बसेर समाधान हुँदैन । हामीले संस्थामा पनि सञ्चालक समिति, कर्मचारी र सदस्यमाझ छलफल र अन्तर्क्रिया गरिराखेका छौं । त्यसो भए यो पनि किन गर्ने भन्ने कुरा आउँछ । म्यानेजरको क्षमता अभिवृद्धि गर्ने र संस्थालाई कसरी सुरक्षित र दिगो बनाउने भन्ने गाइडलाइन दिने हो । सदस्यको बचतलाई सुरक्षित बनाउने क्षमता पक्कै बढ्छ । साकोसको अभियानमा मानव संशाधनलाई क्षमतावान बनाउन सकिएको छैन । बैंकका कर्मचारीको क्षमता कति माथि छ ? हामी पनि बचतऋण नै गर्छौं । बैंकिङ कारोबार नै गर्ने भएकाले क्षमता अभिवृद्धि भएन भने संस्था जोखिममा पर्छ । अवस्था र समय ठिक नहोला तर व्यवस्थापककको क्षमता अभिवृद्धि गर्ने काम रोकिनु हुँदैन । यो निरन्तर चल्नुपर्छ । संस्था आफैंले आयोजना गरे भएपनि क्षमता अभिवृद्धि गर्नैपर्छ । नेपालभरका सीइओहरु सहभागि हुने भएकाले गोष्ठीले राम्रो सन्देश दिन्छ । साकोस अभियानलाई यसरी लैजानुपर्ने रहेछ भनेर मार्गप्रशस्त गर्छ ।
(क्लब संयाेजक लामासँगकाे कुराकानीकाे सारसंक्षेप)