यतिबेला बिश्व राजनीतिको शीर्ष बिषय युक्रेन र रुस बीचको युद्ध नै बनेको छ । गत बर्षका फेब्रुअरी २४ का दिन यो युद्ध आरम्भ भएको थियो । त्यसयता बिश्व घटनाो शीर्ष चर्चाको केन्द्र स्थानमा यो रहँदै आएको छ । त्यसमा पनि अमेरिकाका राष्ट्रपति जो बाइडेनको यूक्रेन यात्राले यो युद्ध तत्कालै समाप्त हुने कुरा झनै पर धकेलिएको र यो अझै लम्बिने स्थिति बलियो बनेको देखापरिरहेको छ । यस अघि युद्धकै बीच युद्ध शुरु भए पछि गएको बर्ष डिसेम्बरमा यूक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले गोप्यरुपमा अमेरिकाको यात्रा गरेका थिए र अमेरिकी राष्ट्रपति जो बाइडेनसँग बार्ता र अमेरिकी संसदमा सम्वोधन समेत गरेको कुरा बिश्वले देखेको थियो । त्यसले गर्दा यो युद्ध नाटो देश र रुसका बीचको युद्ध बन्न पुगेको निष्कर्श बिश्लेषकहरु निकालेका मात्र थिएनन् यसले लामो समय लिने संकेतकोरुपमा पनि हेरेका थिए । एक बर्ष पछि त्यसको थप पुष्टी भएको छ ।
बाइडेको एकाएक यूक्रेन भ्रमणले रुसी राष्ट्रपति पुटीनमाथि निकै नकारात्मक असर परेको र युद्ध अझ चर्किने र बिश्वको स्थिति अझ खल्बलिने देखिएको छ । हुन पनि पुटिनले जो बाइडेको युक्रेन भ्रमण पछि राष्ट्रको नाममा गरेको सम्बोधनमा यूक्रेनमा रुसले कब्जा गरेको क्षेत्रबाट सेना हटाउन पर्ने अन्तर्राष्ट्रिय दबाबलाई खारेज गरिदिएका छन र परमाणु हतियार नियन्त्रण गर्ने अमेरिकासँगको १९९१ भाएको परमाणु सन्धि पनि निलम्बित गरिएको घोषणा गरेका छन् ।यसबाट बिश्वमा परमाणु हतियारको होडको खतरा पनि अझ बढ्न गएको छ । यसका अतिरिक्त यो युद्धको एक बर्ष पछि अब यसको सैनिक तथा आर्थिक प्रभाब बिश्वका बिभिन्न देशहरुमा महसुश गरिन थालेको प्रतीत हुन्छ । अब बिश्वमा उर्जा सुरक्षा र खाद्य सुरक्षाको संकट अझ चर्किन प्रष्टै देखिएको छ ।
यतिबेला घरेलु उपयोगमा आउने गरेको ऊर्जाको जुन मूल्य बढेको छ त्यसले गर्दा यूरोपेली देशहरुले ठूलो कठिनाईको सामना गर्नु परिरहेको छ । अर्कातिर यूक्रेनको खाद्य आपूर्ति श्रृंखला रोकिन जाँदा अफ्रिका समेतका बिश्वका बिभिन्न देशहरुमा ठूलो खाद्य संकट उत्पन्न भएको छ ।
यस स्थितिमा रुसका राष्ट्रपति पुटीनले आफ्नो सेनालाई परमाणु हतियारले सुसज्जित पार्ने कुरा गरेर बिश्वलाई नै भयावह तुल्याइदिएका छन् । यस बीच यो युद्ध रोक्न, समस्याको शान्तिपूर्ण समाधान खोज्न र स्थायी शान्तिकाक लागि गरिएका र गर्ने भनिएका प्राय सबै प्रयासहरु असफल नै साबित भएका छन् । यद्यपि त्यस्ता बार्ताहरुको उपादेयता र आवश्यकता रहिरहन्छ र त्यस्ता प्रयासरु जरी राखिराख्नु जरुरी छ । तर बर्तमान बिश्व माहोलमा तत्कालै शान्तिप्रतिको आशाबादीता मात्र हुन जान्छ । तथापि यदि अमेरिका लगायत उसका पश्चिमा मित्र देश र रुसले यदि कूटनीति र सम्बादको माध्यमले समस्या समाधान गर्न चाहे भने जुनसुकै बेला पनि र अझ बढी धनजनको क्षति हुन नपाउँदै युद्ध बिराम हुन पनि सक्छ । तर के यस्तो पहल र युद्ध बिराम होला ? सम्भावना टाढै छ ।