ईन्द्र नारायण सुबेदी
======================
(भुजङ्गप्रयात)
यहाँ हान्दछन् मुख्य साँढे सिँगौरी।
प्रतीक्षा सयौँको छ थाप्ने जितौरी।
छ देखावटी झुन्डको भिन्न पक्ष
मिलाएर खाने सबैको छ लक्ष।१।
जुधेका जुध्यै देश उत्थान गर्न।
छ बाजी छिटै देश सम्पन्न गर्न।
जुधून् देशले थप्पडी मार्नुपर्छ ।
यिनैले जितून् देशले हार्नुपर्छ।२।
यसै गर्नका निम्ति हो लोकतन्त्र।
गरौँ चाकडी हो यही मूलमन्त्र।
धुपौरे बनौँ देशमा ढाँट्न मिल्छ।
गुलामी गरेमात्र क्यै चाट्न मिल्छ।३।
नसोचौँ कसैको यहाँ दु:ख छैन।
नहाने सिँगौरी यहाँ ढुक्क छैन।
ठुलाले तमासा यहाँ गर्नुपर्छ
र सानाहरू किच्चिँदै मर्नुपर्छ।४।
बनेको ठिकै हो सबै भक्त अन्धा
र पो भित्रभित्रै चलइन्छ धन्दा।
नखोज्नू यहाँ भित्रको सत्य तथ्य।
यिनैको जमोस् देशमा आधिपत्य ।५।
जिते जितको मातमा उर्लिनेछन्
बिरोधी बनी हारमा कुर्लिनेछन्
तमासा दुई चार हप्ता पछाडि
सँगै नारिने गर्दछन् धर्म छाडी।६।
कता मिल्छ को त्यो ठुलो हैन खास
छिनैमा मिले स्वार्थ जोडिन्छ सास
यिनैको छ झन्डा यिनैको छ डन्डा
यिनैको रडाको र पालो वितण्डा।७।
बलात्कारका निम्ति सुम्पेर आमा
भिखारी महामूर्ख भोका सुदामा
लुटाहाहरूको लिई दान भेटी
जमे देशको सान अस्तित्व मेटी।८।
कुनै योजना छैन हो बन्न भाले
यिनै वृद्ध साँढेहरू जुट्न थाले
यिनैको पराधीनतामा रहेर
बितायौँ सयौँ वर्ष बाधा सहेर।९।
अहङ्कारको दर्प यो चिर्नुपर्छ
सबै राष्ट्रघातीहरू गिर्नुपर्छ
भने आज हामी सँगै जुट्नुपर्छ
र सङ्घर्षमा एक भै उठ्नुपर्छ।१०।
=======================