कोरोना फेरि बढ्दै र फैलिदैछ । जुन तेश्रो लहरको सन्देह थियो त्यो सत्य साबित हुन थालेको छ । यो धेरैजसो सरकारी र अलि कम गैर सरकारी लापरबाहीको कारणले नै सर्बत्र फैलन थालेको हो भन्ने कुरा पनि प्रायः स्थापित नै भइसकेको या भइरहेको छ । खोप लाएर निकैहदसम्म सुरक्षाको प्रत्याभूति हुन पनि नपाएको हाम्रो देशमा यो तेश्रो लहर नियन्त्रणभन्दा बाहिर गयो भने यसको जिम्मेवारी कसले लिने गम्भीर प्रश्न खडा हुन्छ । राज्यले जनताको स्वास्थ्यको सुरक्षा गर्नु पहिलो सर्बोपरी जिम्मेवारी भएकोले अरु सबै कुरा छोडेर राज्यको सम्पूर्ण शक्ति यसको नियन्त्रण लगाउनु र खोप कार्यक्रमलाई ब्यापकरुपमा अघि बढाउनुको कुनै बिकल्प छैन । यसका कुनै पनि प्रकारको ढिलासुस्ती क्षम्य छैन र हुँदैन नै । किनभने यो जनताको जीवन मरणको प्रश्न हो र हुनै पर्दछ ।
लक डाउनमा सरकारले रोकथामका के के उपाय गरेको छ र यो सन्त्रासमय कोरोनाको बिस्तारलाई रोक्न प्रभावकारी कदम के के उठायो र अब पनि उठाउने छ कुनै कुरा प्रष्ट छैन । लापरबाही गर्ने सर्ब साधारणलाई नियन्त्रणमा लिने, सजाय गर्ने र चेतावनी दिएर छोड्ने, अनि बरोबर बाहिर ननिस्कन, निस्कनै परे मास्क लगाएर मात्र निस्कने र घरभित्र पस्दा राम्ररी साबुन पानीले हात मिचिमिचि धोएर मात्र भित्र पस्ने भन्ने कुरा गरेर मात्र सरकारको जिम्मेवार पटक्कै पूरा हुँदैन । वास्तवमा यो त नागरिकका तर्फबाट पालना गरिने कुरा मात्र भयो ।यसका लागि सचेतना फैलाइरहनु सही र उपयोगी छ । तर सरकारले जुनसुकै साधनहरुबाट बाहिरबाट आउने मानिसहरु देशमा आउने मानिसहरुबाट नै यो फैलिएर समुदायमा पुग्ने कुरालाई नियन्त्रण गर्न के के कदम कसरी तदारुखताकासाथ चाल्छ त्यसमा यो कोरोना फैलिने क्रम सघन या कम हुने कुरा निर्भर गर्दछ । त्यसैले सरकारले सीमा नाका लगायत सतह माग र हवाई मार्गका सबै प्रचलित प्रबेश बिन्दूहरुमा र सम्भावित अन्य ठाउहरुमा पनि उच्च सतर्कता र नियन्त्रणका उपायहरु चौबिसै घण्टा प्रभावकारीरुपमा अबलम्बन गर्नु अति आबश्यकता छ । यो रोग लागेपछि या फैलिए पछि अलाप बिलाप गर्नुभन्दा लाग्नु र फैलिन नदिने उपायहरु गर्नु अत्याबश्यक र अत्यन्तै उपयोगी कुरा हुन्छ हाम्रो जस्तो देशका लागि । बिगतमा लापरबाही गरिएका कारणले आज सुदूर पहाडका अनकण्टार जिल्लाहरुदेखि लिएर तराई सम्मका गाउ, शहर सर्बत्र यो कोरोना भाइरस फैलिएको कुरा प्रष्ट भइसकेको र भइरहेको छ ।
यस्तो स्थितिमा कुनै प्रकारको पनि ढिला सुस्ती र लापरबाही हुनु, गरिनु कदापि सैह्य हुँदैन र हुनु पनि हुँदैन । त्यस्तो लापरहीका कारणले ठूलो मूल्य चुकाउनु पर्ने स्थिति सिर्जना हुनसक्छ । निश्चय पनि कोरोनाका कारणले गर्दा गर्नु परेको लकडाउनले ठूलो नोक्सानी भइरहेको छ । त्यसमा पनि खाशगरी दैनिक मजदुरी गरेर मात्रै दैनिकरुपमा हातमुख जोर्नु पर्ने परिबार आज अत्यन्तै ठूलो संकटमा परेका छन् । उनीहरु रोग र भोक दुबै कुराले मर्नुपर्ने दारुण स्थिति बिद्यमान छ । यस कुरामा पनि सरकारको ध्यान कोरोनको उपचार गर्नुपरे जत्तिकै सम्पूर्णरुपमा ध्यान दिइनु उत्तिकै आवश्यक छ । जनताको भोकलाई पनि रोगकै एउटा अंशकोरुपमा लिएर उनीहरुका लागि आबशयक खाद्य सामाग्री उपलब्ध गराउनु सरकारको अनिबार्य दायित्व हो । यसमा पनि कुनै लापरबाहीले रोग फैलिने बढ्ने र ज्यानै जाने दुुष्परिणाम आउन सक्छ ।
त्यसैले देशका जनताका कठिनाईहरु त्यसमा पनि खाशगरी अधिकांश बिपन्न बर्गका जनताका कठिनाई र समस्यालाई केन्द्रबिन्दूमा राखेर एकातिर कोरोना माहामारी रोगबाट बचाउन र अर्कोतिर सर्बसाधारण जनतालाई भोकबाट बचाउन सरकारले सम्पूर्ण जिम्मेवारी लिनुको अरु कुनै बिकल्प पनि छैन । भोको जनताको रोग प्रतिरोधी क्षमता पनि कमजोर हुन्छ भन्ने कुरामा यतिबेलै ध्यान दिनुपर्ने हुन्छ । अनि मात्र राज्यको दायित्व न्यूनतमरुपमा नै भए पनि पूरा भएको मानिने छ ।
बर्तमानको यो महासंकटको बेला अरु औषधी उपचार र खाशगरी कोरोना भ्याक्सिनलाई लिएर कुनै प्रकारको पनि भ्रष्टाचारी, कमिशनखोरी र रोगलाई पनि नाफा कमाउने र दोहन गर्ने बस्तुमा परिणत गर्ने जस्तो दुष्कर्म कसैले नगरोस् भन्ने कुरामा सरकारका सबै अंगप्रत्यंगहरुले तीक्ष्ण आँखा लगाउदै चौबिसै घण्टा सजग रहनु पर्दछ र त्यसो गर्ने जो सुकै भए पनि कडा कारबाही गरिनु पर्दछ । यसमा नागरिसक तहको पनि आवश्यक सहयोग लिइनु अझ बढी उपयोगी हुन्छ । अनि नागरिकले पनि आफ्नो तहबाट कुनै अनियमितता र लापरबाही नहोस् भन्ने कुरामा सचेत खबरदारी गरिरहनु पनि उत्तिकै आवश्यक छ । कोरोना प्रकोप रोक्ने सबै उपाहरुको अबलम्बन गरियोस् । अन्यथा यो गलपासो बन्नेछ ।