काठमाण्डौ । पुराना राजनीतिज्ञ तथा बामपन्थी नेता केशरमणि पोखरेलको आज २०७९ मंसीर २४ गते शनिवार बिहान ५:३० बजे हृदयघातका कारणल निधन भएको उहाँकाे परिबार श्राेतले खबर जनाएकाे छ । काठमाण्डौको कपनमा बस्दै आउनु भएका पोखरेलकोे १९९५ सालमा गुल्मीमा जन्म भएको थियो । पोखरेल २०१२ मा कम्युनिष्ट पार्टीको सदस्यता लिई पार्टीमा सक्रिय हुदै गएर केन्द्रिय समितिमा प्रवेश गरेका थिए । नेपाल कम्युनिष्ट पार्टीको २०२५ मा कमरेड पुष्पलालको सक्रियता र पहलकदमीमा सम्पन्न ऐतिहासिक तेस्रो राष्ट्रिय सम्मेलन लगत्तै पोलिटब्युरो सदस्य भएका थिए । पार्टीको लुम्बिनी अञ्चलको इञ्चार्ज रहेको बखत उनको संयोजकत्व र नेतृत्वमा लुम्बिनामा किसान आन्दोलन चलेको थियो । अर्घाखाँचीमा घटेको हर्रेबर्रे घटनाको प्रमुख कमाण्डर पनि पोखरेलै थिए । त्यस घटनापछि उनकासाथै बेदुराम भुलास, देबराज भार, प्रभाकृष्ण पौडेल लगायतलाई पञ्चायत प्रशासन करीब १२ बर्षको जेल सजाए दिएर थुनेको थियो । पञ्चायती जेलबाट छुटेपछि उनी तत्कालीन मनमोहन समूहमा कार्यरत रहेका थिए र कमरेड पुष्पललाको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीसँग २०४३ सालमा सारनाथमा सम्पन्न छैटौ सम्मेलनपछि उनी पुनः नेपाल कम्युनिष्ट पार्टीमै समाबिश्ष्ठ भएका थिए ।
पोखरले पञ्चायत ब्यवस्था बिरुद्धको संयुक्त जनआन्दोलनका २०४६ को आन्दोलनका समय संयुक्त बाममोर्चामा केन्द्रीय सदस्य रहेका थिए भने नेकपा माले र मार्क्सबादी एकतापछि बनेको तत्कालीन एमालेमा पोलिटब्युरो सदस्य समेत रहेका थिए । राजनीतिमा आएको उतारचढावसंगै केहि समय कांग्रेसमा गएका उनी पुन फर्केर नेकपा एमालेको केन्द्रीय सल्लाहाकार भएका थिए र पछिल्लो समय उनी नेकपा एकीकृत समाजबादीको समेत सल्लाहाकार बनाईएको थियो ।
आज उनलाई अन्तिम श्रद्धान्जली दिन पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल लगायतका केहि नेताहरु, पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भटराई, उपमहासचिव मुकुन्द आचार्य, सचिवहरु निलकण्ठ तिवारी र भरत गौतम तथा अन्य सामाजिक अभियन्ता एवं आफन्तहरु आर्यघाट पुगेको समाचार छ । दिबंगत पोखरेलका परिबारका सदस्यहरुमा श्रीमती बिमला पोखरेल, छोराहरु महेशमणि पोखरेल र बिनोदमणि पोखरेल रहेका छन् भने कान्छा छोरा प्रकाशमणिको केही समय पहिला निधन भइसकेको छ ।
पोखरेलको निधनमा पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भटराईले एक बक्तब्य दिदै समाजका सक्रिय सल्लाहाकार पोखरेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसंतप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । समाजले उहाँको सम्मानमा औपचारीक श्रद्धाञ्जली सभाकाे आयोजना गर्ने पनि बताइएको छ । नेपालपत्र न्यूजडटकम दिवंगत नेताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।