भक्तपुर । भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदूर किसान पार्टीका सचिव प्रेम सुवाल भारी मतले विजयी हुनुभएको छ ।
उहाँ भर्खरै सम्पन्न मतगणनामा ४२ हजार सात सय ५९ मतका साथ विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का नवराज गेलालले ११ हजार नौ सय ५८ मत प्राप्त गर्नुभयो । सुवालले गेलाललाई ३० हजार आठ सय एक मतान्तरलेपछि पार्नुभएको हो ।
भक्तपुरकाे याे एक नम्बर क्षेत्रमा राप्रपाका भरतबहादुर खड्काले नौ हजार तीन सय तीन र सत्ता गठबन्धनका तर्फका साझा उम्मेदवारका रुपमा नेकपा (माओवादी केन्द्र)का सुनिल गोठेले पाँच हजार दुई सय ८३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाले बताउनुभयो ।
याे भक्तपुर १ मा २०७४ सालको निर्वाचनमा नेमकिपाका सचिव सुवाल ३३ हजार ७६ मतका साथ विजयी हुनुभएको थियो । उहाँका प्रमुख प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बाबुराजा जोशीले १७ हजार आठ सय १८ र माओवादी केन्द्रका मिलन सुवालले १५ हजार तीन सय ७४ मत प्राप्त गर्नुभएको थियो ।