बैतडी । बैतडीमा प्रहरी बोकेको से. १ ज. ८५४ नम्बरको जिप सोमबार बिहान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका-४ निङ्लाडी खोला भन्ने स्थानमा जिप दुर्घटनामा परेको हो ।
याे दुर्घटनामा ६ जनाकाे मृत्यु भएकाे पुष्टि बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले गरेका छन्। मृत्यु हुनेमा प्रहरी तालिम केन्द्र दीपायलमा कार्यरत प्रहरी सहायक हवल्दार अर्जुन कठायत, सोही स्थानमा कार्यरत प्रहरी जवान लोकबहादुर बाठामगर, बिर्खबहादुर विष्ट रहेका छन् । यस्तै जिल्ला प्रहरी कार्यालयमा कार्यरत अर्का प्रहरी जवान रमेश साउदको पनि दुर्घटनामा परी मृत्यु भएको प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।
दुर्घटनामा परेर घाइते हुनेमा गोपालबहादुर पाल, आसा धामी, भानु बिष्ट, अर्जुन कठायत, टेकेन्द्रसिंह ऐर र लोकबहादुर कठायत रहनुभएको छ ।
साे दुर्घटनामा परेकाे जीप सडकबाट करिब तीन सय मिटर तल खसेको जनाइएको छ । रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालक अनिदो भएका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएकाे छ । जीपमा चालकसहित १२ जना सवार थिए ।