शनिबार, आश्विन १७ गते २०८३

महागुरू फाल्गुणानन्दकाे १३८औं जन्म जयन्ति मनाइदै

कार्तिक २५, २०७९ शुक्रबार
महागुरू फाल्गुणानन्दकाे १३८औं जन्म जयन्ति मनाइदै

काठमाडाैं ।नेपाली किरात धर्मका महान समाज सुधारक  महागुरु फाल्गुनन्द लिङ्देनको १३८औं जन्मजयन्तीकाे अबसरमा उहाँप्रति सादर सम्मान ।

उहाँ नेपाल सरकारबाट २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषित हुनु भएकाे थियाे । महागुरू फाल्गुनन्दको जन्म विसं १९४२ कात्तिक २५ गते आइतबार हालको प्रदेश नम्बर १ को माङ्सेबुङ गाउँपालिका वडा नं २ इभाङस्थित चुम्चिनाम्बामा भएको र देहावसान २००५ साल चैत्रमा पाँचथरकाे इम्बुङ्गमा भएकाे थियाे ।

बिशेषतः किरात धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा जोड दिने फाल्गुनन्दले किरात समुदायमा मासु र मदिरा खान नहुने, छोरीलाई समेत छोरासरह समान शिक्षा र अधिकार दिइनुपर्ने, जन्म, विवाह र मृत्यु संस्कार गर्दा मासुको साटो फलफूल प्रयोग गरिनु पर्ने, बिहे रीतका नाममा सम्पत्ति तथा दाम लिन नहुने, स्वदेशी कपडा प्रयोग गरिनुपर्ने, श्रीजंगा लिपि प्रचलनमा ल्याउनु पर्ने लगायतका बृहत सामाजिक सुधार अभियान चलाएका थिए।

 किरातीहरूलाई अहिंसा र विश्वबान्धुत्वको महान् ज्ञान प्रदान गर्ने महागुरू फाल्गुनन्दले विसं १९८८ साल वैशाख २५ गते दश लिम्बु र १७ थुमका वरिष्ठ व्यक्तिहरूई पाँचथरको लेबे्रकुटी भन्ने स्थानमा भेला गराएर १० बुँदे ‘सत्य हाङ्मा मुचुल्का’मा सहीछाप गर्न लगाएका थिए।

त्याे ‘सत्य हाङ्मा (धर्म) मुचुल्का’लाई फाल्गुनन्दको मूख्य सन्देशका रूपमा लिइने गरिएको छ। त्याे सन्देश नौ हात लामो काँचो कागजमा लेखिएको बताइन्छ ।

त्यसै धर्म मुचुल्कामा मदिरा, बली प्रथालगायतलाई निषेध गर्ने र किरातीहरुलाई अति तडकभडकयुक्त बिहे संस्कारबाट जोगाउने लगायतका सामाजिक सुधारका नयाँ नीतिहरू समावेश रहेकाे बताइन्छ ।

महिलालाई पनि पुरुष समान अधिकार र सम्मान दिनुपर्ने सन्देशको प्रचार गरेर फाल्गुनन्दले लैंगिक समानताको वकालत गरेका थिए।

समाज सुधारक र मुन्धुमका संरक्षणकर्ता फाल्गुनन्दको जन्म अति गरिब परिवारमा आमा हंसमति र बुवा जगनबाज लिम्बुको साहिला सन्तानका रूपमा जन्म भएको थियो। उनी ८ वर्षकै उमेरमा ज्ञानी र ध्यानी भएका थिए।

उहाँकाे न्वारानको नाम नरध्वज लिङ्देन भए पनि उनी बेलायती फौजमा फाल्गुनन्द नामबाट भर्ती भएका थिए।

बेलायती सेनामा केही वर्ष काम गरेर फर्केका फाल्गुनन्दले मारकाट र लडाइँ–झगडा नराम्रा कुरा हुन् भन्ने सोचेर  धार्मिक सुधार अभियानमा लागेका थिए। यस क्रममा चेतना फैलाउँदै उनी भारत र भुटानसम्म पनि पुगेको बताइन्छ।

नेपाल सरकारले विसं २०५० मा महागुरु फाल्गुनन्दका नाममा सम्मान स्वरूप १५ रुपैयाँको हुलाक टिकट प्रकाशन गरेको थियो भने विसं २०७२ मा फाल्गुनन्द जन्मजयन्तीका अवसरमा किरात धर्मावलम्बीहररूका लागि सरकारी सार्वजनिक विदा दिने निर्णय पनि भएको थियो।

प्रदेश नं एक इलामको माङ्सेबुङमा धर्मगुरु आत्मानन्दले स्थापना गरेको माङ्हिम अहिले किरात धार्मिक स्थलका रूपमा प्रसिद्ध छ भने पाँचथरको लेब्रेरकुटी, सिलौटी लगायतका स्थानमा पनि फाल्गुनन्दकै नामबाट धार्मिक पर्यटन बढ्दै गएकाे बताइएकाे छ ।