
लोकनारायण सुबेदी
कृषि उत्पादनका लागि हामी प्रकृतिबाट दुइटा महत्वपूर्ण कुरा निरन्तर लिइराखेका हुन्छौं । ती हुन् – पानी र बोट बिरुवा । तर ती सबैभन्दा बढी लिइरहेका बस्तुहरु आज हामीले प्रकृतिलाई फर्काउनु पर्ने अबस्था उत्पन्न भएको छ । हुन पनि पानीको सबैभन्दा बढी खपत खेतीपातीमा हुने गर्दछ र यो खेतीपातीका बिस्तार र उत्पादन बृद्धिका लागि साल सालैजसो जंगल काट्ने गरिदै आएको छ । अब यी कुराको भरपाई कसरी गर्ने हो भन्ने गम्भीर प्रश्न उठेको छ । बैज्ञानिक बिज्ञहरु भन्दछन् – यसका लागि हामीले आफ्ना खेतबारीमा स–साना कुवा या तलाउ बनाउनु पर्ने आवश्यकता छ ।
प्रकृति हाम्रो जीवन र जगतको जीवनदायिनी शक्ति र यो एउटा ठूलो ब्यबस्था हो जसले गर्दा बिश्वमा भरीपूर्ण उत्पादन हुन्छ र भइरहेको छ । त्यो पनि कुनै रासायनिक मलखाद बिना कीटनाशक, रोगनाशक औषधीको समेत प्रयोग नगरी नै हुन्छ भन्ने बैज्ञाकिहरु ब्ताउन थालेका छन् । तर यस उत्पादन बृद्धिको निम्ति प्रकृतिका नियम र तौर–तरीकालाई राम्रोसँग बुझेको हुनु पर्दछ र त्यस अुनसार चल्न उद्यत हुनु र त्यसो गर्नु पर्दछ भन्ने उनीहरुको प्रष्ट दृष्टिकोण छ । अनन्त लोभ र अहंकारमा डुब्ने गरेका कसैले पनि त्यसरी भएको उत्पादनलाई देख्न पनि सक्तैन, किनभने त्यस्ता मानिस प्रकृतिका सहयोगी या साहायक हुनै सक्तैनन् । त्यस्ता लोभी लालचीहरुलाई प्रकृतिका अमूल्य तत्वहरुको केवल निर्मम दोहन गर्न मात्र आउँदछ, तिनको बेहिसाब खर्च गर्न आउँदछ । त्यसले गर्दा जब प्रकृतिका ती अमूल्य तत्वहरु रित्तिन्छन् र प्रकृतिको सन्तुलन बिग्रन थाल्दछ त्यतिबेला यस्ता लोभी लालचीहरुले त्यसको दोष भने कुनै अरुको टाउकोमा थोपरिदिने गर्दछन् ।
अहिले बिश्वमा जलवायु परिर्बतनको समस्या सुबिधाभोगी आधुनिक मानिसका लागि एउटा ठूलो चूनौति बनेर प्रकट भएको छ । यो समस्या दिन दिनै बढ्दै गएको ठूलो चिन्ताको बिषय भएको छ । तर त्यसस्ता लालचीहरुको कानको रौं पनि हल्लिएको छैन । सरकारहरु पनि बिहरो बनेर यस गम्भीर बिषयमा हल्का पाराले चलेको देखिन्छ । केवल ठूल्ठूला घोषणा भइरहेका छन् । तर यथार्थ धरातलमा सुनसान छाएको देखिन्छ । आज यस बारेमा किसानलाई जगाउने कुनै चासो र चिन्ता रहेको देखिदैन ।
त्यसैले, आज हामीले के गर्नु पर्ने हो ? यो महत्वपूर्ण प्रश्न खडा भइरहेको छ । यहाँ बिश्वभरीका सरकारहरुले के गर्नु पर्छ भन्ने कुरा गरिन थालेको पनि होइन । त्यो कुरा कुनै एउटा मा लेखकको हातको कुरा पनि होइन । तर किसान बर्गको हितचिन्तक भएको नाताले र एक यही पृथ्वीबासी मानिस भएको नाताले पनि मानिसले के गर्न सक्छ र के गर्नु पर्दछ भन्ने कुरा गर्न खोजिएको हो । सबभन्दा पहिला त हामीले आफ्नो बिर्सने बानीलाई सुधार्नु पर्दछ । पटक पटक दोहोरिएर आउने गरेका प्राकृतिक बिपत्तहरुलाई गम्भीर खतराका घण्टी मान्नु पर्दछ र भबिष्यमा यस्ता बिपत्तीहरुको तीब्रता अझ नबढोस्, अधिक नोक्सान नहोस् भन्ने कुरालाई मनमा राखेर लोभी लालची अमानबीय नाफाखोरहरुलाई नियन्त्रण गर्नु पर्दछ । आधारभूतरुपमा आवश्यक र आबश्यक नपर्ने कुरामा ध्यान दिएर अमूल्य प्राकृतिक साधनहरुको अन्धाधुन्ध दोहन गर्ने प्रबृत्तिलाई बन्द गर्नु पर्दछ । हामीले आफ्नो उपभोगको गतिलाई प्रकृतिको पुनर्चक्रको गतिसँग तादाम्यता मिलाए हिड्न र निरन्तर चल्न सिक्नु र सक्नु पर्दछ ।
अर्को कुरा हामीले प्रकृतिको पुनर्चक्रणको गति र प्रकृयामा सहयोग दिन सक्नु र सिक्नु पर्दछ । कुरा के भने हामीले प्रकृतिसँग जति लिइरहेका छौं त्यत्तिनै फिर्ता पठाउने दृढ संकल्प गर्नु पर्दछ । हाम्रो समाजमा पहिलाको जमानामा कुनै नातेदार या छिमेकी कुनै बस्तु दिन आफ्नो घर आउँदा जसको घरमा आएको हो त्यहाँका मानिसहरुले उसलाई पनि रित्तो हात फर्काउँदैनथे, बरु उनले ल्याएको भाँडोमा केही न केही कुरा भरेरै पठाउने चलन थियो । प्रकृतिसँग पनि आज हामीले त्यही असल परम्पराको अनुशरण गर्न सिक्नु र सक्नु पर्दछ । यदि हामीले प्रकृतिसँग सय प्रतिशत तत्व लिएका छौ भने कम्तिमा पनि ७० प्रशितसम्म त त्यो फिर्तै गर्नु पर्दछ । त्यसो गर्न सकेमा मात्र प्राकृति र खेतीबारी तथा खेतीपातीका बिच तादाम्यता स्थापित भएर पर्याबरण सन्तुलन कायम हुन्छ र हामी मानिस र प्रकृति दुबै खुशी हुने स्वस्थकर स्थिति बन्दछ ।
त्यसैले तलाउ या कुवा बनाउँदा जहाँ एकातिर सिँचाईको आवश्यक पानी प्राप्त हुन्छ भने त्यसले गर्दा अर्कोतिर खेतको माटो र हावामा पनि नमीपना या आद्र्रता बढ्न जान्छ । त्यसको परिणाम उत्पादन बढ्ने स्थिति बन्दछ । यसका अतिरिक्त भू–जलस्तर पनि बढ्नजान्छ । बागबानीमा बोट बिरुवाको संख्या पनि बढ्दछ । फलत: तापमान कम हुनजान्छ, बातावरणमा कार्बनको स्तर घट्छ र बर्षामा बृद्धि हुन पुग्दछ । अनि माटोको क्षरण पनि घट्दछ र रोकिन्छ । यसरी जमिन अधिक उर्बर बन्दछ भन्ने बिज्ञहरुको खोजको अनुभव रहेको छ । किसानका मित्र कीट तथा पंक्षीहरुको संख्या पनि बृद्धि हुन्छ र बालीनालीका परागकण निशेचन तथा कीट नियन्त्रण पनि अझ प्रभावकारी तरीकाले हुन जान्छ ।
तेश्रो कुरा के भने हामीले आबश्यकता पूर्तिका बैकल्पिक श्रोतहरुको पनि खोज तलाश गर्नुपर्ने हुन्छ । जसले गर्दा प्रकृतिलाई नोक्सान पुर्याउने काम बन्द हुन पुगोस् । उदाहरणका लागि आज बिद्यूत हाम्रा लागि त्यत्तिकै महत्वपूर्ण भइसकेको छ जत्तिको हावापानी ।बिद्यूत बिनाको जीवनको गतिशीलताको आज कल्पना नै गर्न नसकिने स्थिति बन्दै गएको छ। धेरै जसो देशमा कोइला जलाएर समेत बिद्यूत निकालिन्छ । यो कोइला जलाउने कुरा जलवायु परिबर्तन समस्याको बिश्वमा सबैभन्दा ठूलो कारण बनेको । यसको दोश्रो ठूलो कारण हो–जीबाष्म अर्थात जैबिक इन्धनहरु –पेट्रोल, डिजेल, खाना पकाउने ग्यास दहन हो । यदि हामीले यो बिजुली र इन्धन अन्य कुनै श्रोतबाट प्राप्त गर्न सक्यौ भने – जस्तो कि हामीकहा प्रसश्त जल बिद्यूतको बृहत सम्भावना रहेको र आंशिकरुपमा प्रचलनमा पनि छ, यसरी प्रकृतिालाई प्रदुषित हुनबाट धेरैहदसम्म बचाउन सकिन्छ । किसानहरुलाई उनीहरु घर तथा खेतबारीमा सौर्य ऊर्जाको प्रयोग गर्न सक्ने बनाएर पनि यो समस्यालाई कम गर्ने बैकल्पिक उपाय खडा गर्न सकिन्छ । गोबर ग्यास र अन्य बायोग्यास पनि प्रकृति मैत्री र बिद्यूत खपतलाई कम गर्ने बिकल्प बन्न सक्छन् ।
चौथो कुरा प्राकृतिक जैबिक मलको उपयोगको कुरा पनि छ । रासायनिक मलखाद तथा कीट एबं रोग नाशक औषधीहरु उत्पादन र परिबहनमा अत्यन्तै ठूलो मात्रामा ऊर्जाको खपत हुन्छ । यी रासायनिक उर्बरक र किटनाशकहरुले माटो, पानी र हावालाई पनि नराम्रोसँग प्रदुषित तुल्याउँदछन् । जैबिक इन्धनको पनि उपयोग हुन्छ । त्यसैले तिनको स्थानमा प्राकृतिक उर्बरक अर्थात मलखादको उपयोग गर्नु अत्यन्तै बाञ्छनीय हुन्छ । एकल बालनाली खेती प्रथाबाट माटोमा पोषक तत्वको कमी हुने गर्दछ भने जैबिक बिबिधता पनि खतरामा पर्न जान्छ । यसकारण हामीले बहुबाली उत्पादन प्रथा अबलम्बन गर्नु पर्दछ । यसबाट खेतीपातीको जोखिम पनि कम हुनेछ र प्राकृतिक सन्तुलन पनि कायम रहने छ ।
बैज्ञानिकहरुका अनुभवका आधारमा आएका यी सुझावहरुलाई कार्यान्वयन गर्न इमानदारीपूर्बक र दृढ निश्चय र संकल्पका साथ काम गर्नु पर्ने आजको राष्ट्रिय आवाश्यकता बन्न गएको छ । यसमा सरकार, सरोकारवाला सबै निकाय र मूख्य गरेर किसानहरुको सक्रिय सहभागीता हुने बातावरण सिर्जना गरिनु पर्दछ । तर यो भने जस्तो सजिलो कुरा भने छैन । किनभने भूमाफिया, नाफाखोर बिचौलिया जस्ता कतिपय राज्य संरक्षित लालची समूहहरुले यसमा बिघ्नबाधा पुर्याउँदछन् र पुर्याइरहेका छन् । त्यसैले किसान र प्रकृतिलाई अबिछिन्नरुपमा जोडनु पर्ने र प्रकृतिको स्वभाबिक सन्तुलनलाई कायम राख्नु पर्ने जुन आवश्यकता छ त्यसका लागि यस्ता लालची नाफाखोर तत्वहरुको बिगबिगीलाई निर्मम किसिमले तोड्नु पर्ने हुन्छ ।तबमात्र बिग्रदो पर्याबरणलाई रोक्न र सही स्तरमा कायम राख्न तथा खेतीपातीलाई पनि दीगो किसिमले सामुहीक, सहकारी र पारिबारिक खेतीपातीका हिसाबले सञ्चालन गर्न सकिन्छ । परिणामत: जलवायु परिबर्तनको समस्या पनि सही र दीगो किसिमले हल भएर जान्छ । यस बारेमा गम्भीररुपमा सोचौं ।